‘अब घर सम्हाल्ने पालो मेरो’


प्रकाशित मिति :2018-01-10 13:18:53

–खेमा बस्नेत–

काठमाडौं । सुशिला महर्जन र विकास महर्जनको विवाह भएको २६ वर्ष भयो । विवाह हुँदा सुशिला १५ वर्षकी थिइन् भने विकास १९ वर्षका । विवाहपछि विकास रोजगारी गर्न थाले भने सुशिलाले घर सम्हाल्न थालिन् ।

सुशिलाको दिनचर्या नै घर, छोराछोरी, श्रीमान र सासुससुराको हेरचाह, स्याहारसुसार र सेवा गनु थियो । चार वर्ष अगाडिसम्म सुशिला गृहिणी मात्रै थिइन् । किर्तीपुरमा जन्मेकी उनै गृहिणी सुशिला अहिले सिंगो विश्व सरसफाई अभियानमा जुटेकी छन् ।

२०७० असोजदेखि घर परिवार र सारा गृहस्थी छोडेर यो अभियानमा जुटेकी ४१ बर्षीया सुशिला भन्छिन् ‘अबको बाँकी जीवन सरसफाई अभियानमै लगाउनेछु ।’

विश्व सफाइ अभियानमा लागेका सुशिला महर्जन र राजमान मानवले २०६७ माघ ९ गतेबाट किर्तीपुरको ४० रोपनी जग्गामा फैलिएको ४० वर्ष पुरानो डम्पिङ्ग साइटको फोहोर फालेर विश्व सफाई अभियान सुरु गरेका हुन् । जुन आजसम्म पनि निरन्तर छ ।

२०६७ सालमा किर्तिपुर महोत्सव हुने भएपछि त्यहाँका ५५ सय महिलाले ४० वर्ष पुरानो डम्पीङ साइटसरसफाईमा उनको सक्रियता देखेर छिमेकीले निकै प्रशंसा गरे । यहीं प्रशंसाले नै उनलाई सरसफाई गर्ने उत्साह थप्यो । उनलाई एक्कासी यस्तो लाग्यो, ‘सिंगो संसार सफा भए कति रमाईलो देखिन्थ्यो होला ।’ यसरी आफैभित्र आएको देश र विश्व नै सफा गर्ने विचारपछि उनी यसरी सरसफाई गर्ने अभियानमा लागेको बताउँछिन् ।

त्यसैले अहिले उनको पहिचान पनि सेतो हाफ भेष्ट, सेतै हाफ पाईन्ट र गुलावी रङको सडक बढार्ने लामो कुचो हो । यो कुचो उनी जहाँ गए पनि छोड्दिनन् । बाटो हिँड्दै गर्दा जहाँ फोहोर देख्यो त्यहीँ बढार्न थालिहाल्छिन् । उनीसँग एउटा हरियो रङको झोला पनि छुट्दैन, जहाँ उनले आफूलाई आवश्यक पर्ने सामान राखेकी छन् । सफा गर्दै जाँदा जहाँ रात पर्छ त्यहीँ उनको सेल्टर हुन्छ । त्यहाँका मानिसले जे खान दिन्छन्, त्यही खान्छिन् । एक ठाउँबाट अर्को ठाउँ जाँदा कुनै गाडीमा गाडीवालाले भाडा लिँदैनन् कतै, कसैले भाडा सौजन्य गरिदिन्छ भने कतै आफै खर्च बेहोरेर हिँड्ने गरेकी छन् ।

तीनै सुशिलाका श्रीमान हुन् ४६ वर्षीय विकास महर्जन, जसको साथ र समर्थनका कारण उनी अहिले विश्वलाई मानवीय फोहोररहित बनाउने अभियानमा एक महिनादेखि बंलादेशमा छिन् ।

सुरुका दिनमा विकासले सुशिलालाई यसरी अचानक घर छाडेर विश्व सरसफाईमा अभियानमा लाग्दा कुनै खालको सहयोग नगरेको स्वीकार गर्छन् । ‘कि त घर सम्हाल कि त मलाई छोड भनेको थिएँ । तर उनी बाचुञ्जेल आफ्नो जीवन सरसफाई अभियानमा समर्पण गर्छु भन्दै सरसफाई अभियानमा लागिन्’ विकासले भने ।

उनले पटकपटक सुशिलालाई घर सम्हाल्ने मान्छे छैन, परिवारलाई असर गर्छ नजाऊ भनेको बताउँछन् । ‘मैले उनलाई नजाऊ । घर सम्हाल्ने मान्छे हुँदैन । परिवारमा असर हुन्छ । तिमी जाँदै नजाऊ भनेको थिए’ विकास भन्छन् ।

विकासलाई सुशिलाको सकारात्मक कदम उनको विश्व सरसफाई अभियानमा आफूले पनि सपोट गर्नुपर्छ भन्ने पछि मात्र महशुस भएको बताउँछन् । उनले गरेका कामहरु सञ्चारमाध्यममा पनि आउन थालेपछि सुशिलालाई यो अभियानमा रोक्नु हुँदैन बरु उनलाई साथ र सहयोग गर्नुपर्छ भन्ने महसुस भएको विकास बताउँछन् ।

‘सुशिलाले मलाई यत्रो वर्ष सपोट गरिन् । घर सम्हालिन, अब घर सम्हाल्ने पालो मेरो । अब सपोर्ट गर्न पालो मेरो’ विकासले भने ।

विकासको चार वर्ष यताको दैनिकीमा धेरै परिवर्तन भएको छ । अहिले उनले घरका सम्पूर्ण काम आफै गर्छन् । ‘घरमा आमाबुबा र छोराछोरी छन् । उहाँहरुले पनि सहयोग गर्नुहुन्छ । तर पनि मैले खाना पकाउने । भाँडा माझ्ने लगायत घरको सबै काम गर्छु’ विकासले भने ।

सुशिला महर्जन र राजमान मानवले अहिलेसम्म नेपालका २६ जिल्लाका ५७ वटा नगरपालिकाको सरसफाई गरिसकेका छन् । यसक्रममा जनकपुर, नेपालगञ्ज, विराटनगर, विरगञ्ज, महेन्द्रनगर सबै भन्दा फोहोर शहर भएको पाइएको उनीहरूले बताए ।

मानवीय फोहोररहित विश्व बनाउने अभियान अन्तरगत सुशिला महर्जन र राजमान मानव एक महिनादेखि बंगलादेशमा छन् ।

नेपाललाई वि.सं.२०७७ सम्म मानवीय फोहोररहित देश बनाउने उनीहरुको लक्ष्य छ । नेपाल वि.सं.२०७७ बाट मानवीय फोहोररहित देश बनेपछि नौ वर्षमा ८० देशका फोहोर शहरहरू निरन्तर सफाईमा लाग्नेछन् । यसरी विश्वलाई सन् २०२८ बाट मानवीय फोहोररहित बनाउने अभियानमा शुशिला र राजमान प्रयासरत छन् । उनीहरुको उद्देश्य पूरा होस् हाम्रो पनि शुभकामना ।

यो पनि हेर्नुहोस्……

मलाई बुर्का लगाउँन आग्रह गरेः सुशिला

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: