पीडितको सहारा बन्दै लिगल क्लिनिक


प्रकाशित मिति :2018-01-10 12:19:33

–यमुना खनाल–

सिराहा । फाटेको घरको छानो, कठ्याङ्ग्रिदो पुसको शीतलहरी, तपक्कै शीतका थोपा उनको ओछ्यानमै झर्छ । चरम गरिबीको मारमा परेको परिवारसँग नत एक छाक पेट भरि खाने अन्न छ, नत आङ छोप्ने एकसरो लुगा नै । दैनिक ज्यालादारी गरेर पेट पाल्ने बस्तीपुरको राम परिवारलाई एक दिन काम नगरे भोकै बस्नुपर्ने बाध्यता । यस्तै दुख सुखले परिवार चलेको थियो । यसरी नै उनीहरूले दुख सुख धानेकै थिए ।
राम परिवारलाई एकातिर गरिबीको पीडा । त्यसैमाथि आफ्नै छिमेकीबाट जीवनमै कहिल्यैै बिर्सन नसकिने बज्रपात भयो । राम परिवारकी १७ वर्षीया छोरी आफ्नै छिमेकीबाट सामूहिक बलात्कारमा परिन् । दिनभर हात नचलाए चूलो नबल्ने राम परिवारलाई न्यायका लागि लड्न सहज हुने कुरै भएन ।

यसरी भयो बलात्कार

रातको समयमा छोरीले आमा बुबालाई खाना खान दिएर आफ्नै घरको पछाडि रहेको शौचालयमा शौच गर्न गएकी थिईन् । शौचालय पछाडि लुकेर बसेका उनीहरूले उनलाई सामूहिक बलात्कार गरे । छोरी धेरै समयसम्म पनि फर्केर नआएपछि आमा बुबा शौचालयतिर खोज्न जाँदा छोरी बलात्कारको पीडाले रोई कराइ गरिरहेको अवस्थामा फेला पारे ।

उनीहरूले गाउँलेलाई सहारा मागे । हार गुहार गरे, चिच्याए । तर सहयोगका लागि कोही आएन । छोरी अचेत थिईन् । होली दिनको रात थियो । सबै नशामा लठ्ठिएका थिए । कसैले सहयोग गरेनन् राम परिवारलाई ।

होलीको सप्तरंगी रङ्गमा सबै रमाईरहँदा राम परिवारलाई भने निर्जन रातको अध्यारोले चुर्लुम्मै छोप्यो । राम परिवारको खुसी खोसियो । उनीहरूको जीवनमा अध्यारा दिन सुरु भए । कहाँ जाने के गर्ने केही थाहा थिएन । गरिब अनि बिपन्न परिवार भएकाले होला उनीहरूलाई कसैले सहयोग पनि गरेनन् ।

घटनापछि उनीहरूलाई कसैले संस्थाले यस्तो घटनामा सहयोग गर्छ भन्ने सुनायो । राम परिवार त्यीं व्यक्तिको सहयोगमा ईह्रिकोनको कार्यालयमा पुगे । घटना विवरण सुनाए । ईह्रिकोन र जुरी नेपालको कार्यालयमा रहेका गंगा अधिकारी र कृष्ण बहादुर चौहान निशुल्क कानूनी सहायता उपलब्ध हुने जानकारी गराएपछि उनीहरू खुसी भए । त्यसपछि लिगल क्लिनिकका कृष्ण बहादुर चौहान र गंगा अधिकारीको सहयोगमा सामुहिक बलात्कार विरुद्ध प्रहरीलाई जाहेरी दिइयो ।

केश अदलत पुग्यो । अहिले साक्षी बक पत्र पनि भईसकेको छ । मुद्धा फैसला हुने अन्तिम चरणमा पुगेको छ । राम परिवार बलात्कारीलाई कार्वाही हुने आसामा छ ।

सहारा बन्दै लिगल क्लिनिक

लाहान नगरपालिकाकी अर्की किशोरीको लागि पनि कानुनी लडाईमा साथ दिएको छ लिगल क्लिनिकले ।

कक्षा ७ मा अध्ययनरत १३ वर्षीया किशोरीलाई आफ्नै स्कुलका प्रधान अध्यापकले गिद्धे दृष्टि राखे । बालिकाका आमा बुबा अत्यन्त सोझो सिधा भएकोले पटकपटक काममा सहयोग गर्ने बहानामा हेड मास्टर बालिकाको घरमा पुग्थे । एक दिन पढ्न सिकाउने बहानामा उनले बालिकालाई घरबाट लगे ।

जंगलमा लगेर प्रधानाध्यापक बैजनाथ चौधरीले आफ्नै छात्रालाई बलात्कार गरे । बालिका बिछिप्त अवस्थामा घरमा आईन् । शिक्षकले घटनाबारे कसैलाई भने मारिदिने धम्की दिए । बालिकाले पीडा सहन नसकेपछि घरमा आएर आमा बुबालाई घटना बारे सुनाईन् ।

छोरी माथि भएको अन्याय विरुद्ध बालिकाका आमा बुबाले प्रहरीलाई खबर गर्ने निधो गरे । सुरुमा प्रहरीले मुद्धा दर्ता गर्न मानेन । पत्रकार दिलिप सिंह र ईह्रिकोन नेपालसहित अधिकारकर्मीको टोलीले ईलाका प्रहरी कार्यालउमा खबरदारी गरेपछि केश अदालत गयो । अहिले अदालतले साक्षी बक पत्रका लागि मिति तोक्यो ।

दोस्रोपटक दोस्रो व्यक्तिबाट बलात्कार

उता साक्षी बक पत्र हुन नदिन दोरिकलाल ठाकुरले बालिकामाथि फेरि बलात्कार गरे । अदालत गए ज्यान मारिदिने धम्की दिदैं बालिकालाई घरै बाहिरबाट उठाएर लगि बलात्कार गरे ।

बलात्कार पीडित लिगल किल्निकको सम्पर्कमा आए । किल्निककै सहयोगमा जबरजस्ती करणी उद्योग अन्तर्गत पुन दोरिकलाल ठाकुर विरुद्ध मुद्धा दर्ता भयो । केश अदालत पुग्यो । अदालतको थुनछेक बहसबाट पिडकलाई थुनामा राख्ने आदेश भएको छ ।

संस्थाले पीडितलाई कानूनी तथा आर्थिक सहयोग गर्नुका साथै मनोपरामर्श गर्नेे, अबस्था बारे बुझ्ने जस्तो सहयोग गरेको बालिकाकी आमाले बताईन् ।

लाहान नगरपालिका वडा २४ कि ज्योती कुश्वाहा गरिव, विपन्न र वेसहारामाथि बढी हुने यस्ता घटनाका पीडितहरू पैसा र कानूनी ज्ञानको अभावमा न्यायबाट बञ्चित हुने गरेको बताइन् ।

जिल्लामा ईह्रिकोन र जुरी नेपालले संचालन गरेको निशुल्क कानूनी सेवाबाट आर्थिक, समाजिक, राजनीतिक एवम् न्यायबाट बञ्चितहरूलाई राहत भएको कुश्वाहा बताउछिन् ।

एक वर्षमा २१ बलात्कार

सिराहामा यो बर्ष मात्र बालिका बलात्कारका २१ वटा घटना भए । महिला बलात्कारको प्रयास ७, बलात्कारको प्रयास गरि १३ वटा बलात्कारको प्रयास र ३ नाम महिला बलात्कारका घटना भए । तर यी घटनाका सबै पीडितले न्याय पाउन सकेका छैनन् ।

झन्झटिलो न्याय प्रक्रिया, न्यायमा सहज पहुँच नहुँदा अदालती न्याय पक्रिया खर्चिलो हुन्छ भन्ने बुझाइ बिपन्न र गरिबको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: