हामी ‘लभ बर्ड’


श्रीमतीलाई खुसी राख्न सक्नेको स्वर्ग यही हो

प्रकाशित मिति :2018-01-08 13:58:15

सरिता लामिछाने नेपाली कला क्षेत्रमा कुशल नायिका र उत्कृष्ट चलचित्र निर्माताको नामले स्थापित नाम हो । कलाकारितामा प्रवेश गर्नु अघि लामो समय च्यानल नेपालमा कार्यक्रम प्रमुखको रुपमा कार्यरत सरिता अमेरिकाबाट प्रसारण हुने सगरमाथा टेलिभिजनमा नेपाल प्रतिनिधि, देश पत्रिकाको स्तम्भकार, थैली फाउण्डेसनको संस्थापक अध्यक्ष, सृजनशील समाज नेपालको अध्यक्ष, चलचित्र कलाकार संघको महासचिव भई कलाकारिता र पत्रकारितामा सक्रिय छन् ।

विवाहपछि श्रीमान ऋषी लामिछानेको प्रेरणाका कारण कलाकारितामा प्रवेश गरेकी सरिता एउटा आदर्श, संघर्षशील, र निडर महिलाका रुपमा समेत चिनिन्छन् । एउटा श्रीमान सफल हुनुको पछाडि श्रीमतीको हात हुन्छ भनिए झैं श्रीमती सफल हुनुको पछाडि पनि श्रीमानको हात रहने कुरालाई नकार्न सकिदैन । आदर्श महिलाको नामले परिचित सरिताका बारेमा उनका श्रीमान ऋषी लामिछानेको साथ, समर्थन र बुझाइ कस्तो छ, ऋषीकै शब्दमाः

दिनचर्या

कहिले म अगाडि उठ्छु, कहिले सरिता । को अगाडि उठ्ने भन्ने हाम्रो नियम छैन । जसलाई छिटो उठ्न मन लाग्छ उ उठ्छ । मलाई खाना पकाउन आउँदैन, सरितालाई भाँडा माझ्न आउँदैन । उनले अहिलेसम्म भाँडा माझेकी पनि छैनन् । बिहे गरेको २० वर्ष भयो सरिताले खाना पकाएको दिन मैले भाँडा माझ्छु । यद्यपि हाम्रो सहयोगि बैनी छिन् । तर सरिताले खाना पकाएको दिन म भाँडा माझ्छु, मलाई रमाइलो लाग्छ त्यसमा । उनले खाना पकाउँछिन् भने मैले किन भाँडा नमाझ्ने भन्ने लाग्छ । म इन्ज्वाई गर्छु त्यसमा । सरिताले खाना पकाएको दिन सहयोगी बैनीको समेत प्लेट माझ्छु । मेरो बैनी सम्झेर उनको प्लेट माझ्छु म ।

हामी एउटै पेसामा छौं । चलचित्रबाहेक हाम्रो कुनै पेसा नभएकोले सँगसँगै काम गर्नुपर्छ । हरेक कुरा एक अर्कासँग छलफल हुन्छ । हाम्रो कर्म एउटै, धर्म एउटै, हामीले देख्ने सपना एउटै, सोचाइ एउटै, आसा एउटै, विश्वास एउटै, भरोसा एउटै, बोल्ने भाषा पनि एउटै । विपनामा सँगै हिँडिरहेका हुन्छौं । हामीलाई नराम्रो पनि एउटै कुरामा लाग्छ । आफ्नोपन पनि हामी एउटै कुरामा खोज्छौं । हाम्रो जिउने आधारशिला र गर्ने संघर्ष एउटै छ । त्यसकारण जीवनको परिभाषा के भन्दा भन्ने उत्तर पनि हाम्रो एउटै छ ।

महिलाप्रतिको धारणा

समाजमा दुईटा जात हुन्छ, दुइटा वर्ग हुन्छ– महिला र पुरुष । महिलाले म महिला हो भनेर हिन भावना पाल्नु र पुरुषले म पुरुष हुँ भनेर गर्व गर्नु बेकार हो । दुवैको आफ्नो अस्तित्व छ । स्थायित्व छ । म पुरुषहरू कमजोर हुन् भन्दिन र ठान्दिन पनि । तर पुरुष भन्दा महिला एक कदम अगाडि छन् । आमाको दशधारा दुध खाएको छु । जीवन जिउन सरिताबाट सिकेको छु । अझ मेरो त छोरी छिन्, समृद्धि लामिछाने । त्यसले पनि मलाई महिलाप्रति सम्मान गर्न प्रेरित गरेको छ । महिलाप्रतिको सम्मान उच्च छ । श्रीमतीलाई खुसी राख्न सक्नेले मरेपछिको स्वर्गको प्रतिक्षा गर्नुपर्दैन । वास्तविक स्वर्गको भोग यही जन्ममा गर्छ ।

प्रेम र विवाहको प्रसङ्ग

२०५४ साल वैशाख ४ गते हाम्रो नितान्त प्रेम विवाह भयो । मान्छेको उमेर, मान्छेको चेतना र मान्छेको बुझाइ जबजब बढ्दै जान्छन्, ती बुझाईहरू र आर्कषण हुने कारणहरू पनि फरकफरक हुँदा रहेछन् ।

सरितालाई सुरुमा देखेको बेला उनी १३ वर्षकी थिइन् । उनी म भन्दा म ३ वर्ष कान्छी हुन् । माफ गर्नुहोला केटीहरूप्रति केटाहरूको बुझाइ दुई थरि हुन्छ रे । दुईटा मेटरियल हुन्छ रे केटीमा–एउटा लभ गर्ने, अर्को विवाह गर्ने । तर त्यस्तो कुरा हाम्रो पालामा थिएन । एउटा सरल, सुन्दर, सभ्य र अनुशासित नारीको रुपमा पाए सरितालाई । त्यो बेला मैले सरितामा सबै कुरा देखे । मेरो प्रेम, विवाह, जीवन सबै कुरा उनमा देखें । साँच्चिकै भन्दा सरिता भन्दा बढी अनुशासित मान्छे संसारमै धेरै कम हुन्छन् । ऋषी लामिछाने केही पनि होइन, एकदम सामान्य मान्छे हो । मैले सरिता पाउनु मेरो भाग्य हो, भाग्य मात्रै होइन ठूलो भाग्य हो ।

अहिलेका विवाहित जोडीहरूमा बिखण्डन आइरहेको हुन्छ । त्यसको कारण भनेको श्रीमान–श्रीमतीले अलग–अलग सपना देख्नु हो । उच्च महत्वकांक्षा राख्नु हो । तर हामीमा त्यसो भएन र हुँदैन पनि । त्यसकारण हामी ‘लभ बर्ड’को रुपमा चिनिन्छौं । हामी यसलाई यथावत राख्छौं ।

मैले भेट्दा उनी यति सोझो कि कसैलाई सोझो नजरले पनि हेर्दैनथिन् । किनकी त्यतिबेलाको हाम्रो समाज पनि त्यस्तै खालका अत्यन्तै सोझी र अबोला केटी मन पराउथ्यो । त्यही समाजको पात्र म उनीप्रति अत्यन्तै फिदा भए । भर्खर किशोरावस्थामा टेकेको मैले त्यति राम्री, त्यती सुन्दर, त्यति सभ्य अनि शालिन किशोरी देख्दा मोहित हुनु सायद अन्यथा थिएन । तर प्रष्ट भन्नुपर्दा त्यो प्रेम थिएन । प्रेम बुझेको पनि थिएनौं हाम्ले । जे होस् उनी मलाइ यति मन परिन् कि त्यसको कुनै लेखाजोखा नै थिएन ।

सरितासँगको भेटघाट बाक्लिंदै गयो । उतिबेला फोनको सहज उपलब्धता नभएकोले भेटघाट पनि मुस्किलले हुन्थ्यो । तर जहिले भेट्यौं, बाटोमै भेट्थ्यौं । उभिएरै गफ हुन्थ्यो । तर धेरै समयसम्म प्रेमका कुरा भएनन् । किनकी उनी सानै थिइन् । म पनि ठूलै त कहाँ हो र । प्रेम के हो, प्रेम केका लागि हामी दुइटै अनभिज्ञ थियौं । कतै चिया नास्ता खाएर बसौं भन्दा पनि उनी नमान्ने । एक दिन बाटोमा उभिएरै गफ गरिरहेका थियौं, कुरा लामो भयो । भोक लाग्यो । मैले केही खाऔं न भनेपछि उनी पनि सहमत भइन् । हामी नजिकै एउटा रेष्टुरेन्टमा गएर चाउमिन खादै थियौं । संयोग नै भन्नुपर्छ, हामीलाई मेरो दाईको साथीले देख्नु भो । काठमाडौंमा पढ्न बसेको केटो केटी घुमाउँदैछ भन्ने कुरा घरमा पुग्यो । त्यो विषयमा घरबाट निकै सोधीखोजी भयो, केटी को हुन् भनेर ।

खाने, बस्ने समय त विवाहपछि श्रीमानलाई मात्रै दिने हो भन्ने सरिताको बुझाइ र सोचाइ थियो । त्यसकारण मैले प्रेमको प्रस्ताव राख्दा उनले विवाह नै गर्ने हो भने हुन्छ भनिन् । अनि भर्खर २० वर्ष पुगेको, जुँगाको रेखी बस्नै थालेको मैले पनि विवाह गर्ने निर्णय लिइहाले । हामी पशुपतिमा गयौं, सिन्दुर किन्यौं अनि गुहेश्वरीमा गएर मैले उनको सिउँदो भरिदिए । र भने ‘म तिमीलाई जीवनभर साथ दिन्छु । यो मेरो वचन हो ।’

विवाहपछि हामी मेरो घर नेपालगञ्ज गयौं । घर गइसकेपछि बुबाले तिमीहरूले विहे गरेको हाम्रो आँखाले देखेको छैन । हाम्रो धार्मिक परम्परा अनुसार तिमीहरूले हाम्रो आँखा अगाडि विहे गर्नुपर्छ भन्नुभयो । हामी परिवारको साथमा नेपालगञ्जको बागेश्वरी मन्दिर गयौं र मैले उनलाई दोस्रोपटक सिन्दुर लगाइदिए ।

उरन्ठेउलो म

सरितासँग विहे हुनु अगाडि बाटोमा राम्री केटी देख्दा जिस्काइहाल्थे म । त्यो उरन्ठेउलो प्रवृति उनीसँग प्रेममा रहँदा पनि कायमै थियो । एक्लै र साथीसँग हुँदा त्यस्तो उट्पट्याङ् काम गरिहाल्थें म । साथीभाइको लहलहैमा लागेर झगडा, लफडा पनि गर्थेे । रमाइलो लाग्थ्यो त्यो उमेरमा । तर सरितासँगको भेटले म यसरी परिवर्तन हुँदै गए कि आफ्ना विगतका ती सामान्य गतिविधि समेत मलाई अपराध लाग्न थाले । आफूलाई पूर्णरुपमा परिवर्तन गर्दै गए । महिलाप्रतिको मेरो दृष्टिकोण नै परिवर्तन भइदियो । एउटा पुरुषको जीवनको खुसी नै श्रीमती हुन् र नारी सम्मान गर्नैपर्ने मान्छे हुन् भन्ने भावना जगाइदियो । यसकारण त म खुसी थिए, खुसी छु र सधैं रहिरहनेछु भन्ने विश्वास छ ।

छोरीका सय चप्पल

म कुनै दिन उट्पट्याङ काम गर्न सक्छु । एक वर्ष अगाडिसम्म महिनामा एक दुई पटकसम्म साथीहरूसँग जमघट हुँदा अलिकति रक्सी पनि खान्थें । तर मैले रक्सी खाएको दिनमा छोरीले मलाइ सय पटक चप्पलले हिर्काउने र मैले सय पटक कान समातेर उठबस गर्नुपर्ने हाम्रो नियम थियो । त्यो नियम मैले पुरा गर्थे । त्यसमा मलाई खुसी लाग्थ्यो । किनकी नराम्रो काममा सान र घमण्ड गर्नु हुन्न कसैले । आत्मालोचना गर्नैपर्छ । जानेर नजानेर गरेका गल्तिहरूमा माफी माग्नैपर्छ भन्ने सोचका कारण श्रीमती, छोरी र म आफंैले बनाएको त्यो नियम हाँसीहाँसी पुरा गर्थें । तर भन्दा र महसुस गर्दा पनि गर्व लाग्छ सरिता त्यस्तो मान्छे हुन्, जसको हातबाट जानेर वा नजानेर पनि जीवनमा न कुनै गल्ती भयो, न हुन्छ ।

म बाल कलाकार, सरिता होइन

म बाल कलाकार हो । ममा कलाकारिताको भोक थियो । कलाकारितामै समर्पण पनि । २०३७ सालमा ८ वर्षको उमेरमा पञ्चायती व्यवस्था विरुद्धको नाटकमा पहिलो पटक अभिनय गरे । विहे नहुँदै फिल्म, टेलिफिल्म गरि १५ वटामा अभिनय गरिसकेको थिएँ । तर सरिता कलाकार होइनन् । उनले कलाकारितालाई अत्यन्त सम्मान गर्थिन् । र कलाकारिता मोह भएको मलाई साथ, सहयोग र हौसला थप्थिन् । आफू चाहिँ कलाकारिता गर्छु भन्ने कुराको अलिकति पनि चाख र विश्वास थिएन उनलाई ।

त्यतिबेला तुलसी घिमिरे उत्कृष्ट निर्देशक । सरिताले पहिलो पटक तुलसी घिमिरेको ‘बाँसुरी’ फिल्म हेरेकी थिइन् । उनलाई तुलसी घिमिरे असाध्यै मन पर्ने व्यक्ति । उहाँले टेलिफिल्म ‘मुक्ति’ बनाउदै हुनुहुन्थ्यो । मैले सरितालाई कलाकारिता गर भन्दा कुनै पनि हालतमा मानिनन् । उनलाई त्यसमा कुनै रुची नै थिएन । सरितालाई जसरी पनि कलाकारितामा ल्याउने मेरो भित्री चाहना र उद्देश्य पनि । प्रसङ्गवश मैले तुलसी दाईलाई भेट्नेभन्दा सरिताले उहाँ जस्तो मान्छेलाई म भेट्न चाहन्छु भनिन् । तर अभिनयको कुरा चाहिँ नगर्नु है, अभिनय सभिनय केही गर्दिन म भनेर मसँग भनिन् । मैले हुन्छ भने ।

तुलसी दाईलाई भेट्न गएपछि उहाँले तपाईंको नाम के हो ? भनेर सोध्नुभयो । उनले सरिता भनिन् । तुलसी दाई र भारती भाउजु एक अर्कालाई हेरेर हाँस्नु भो । सरिता अचम्म भइन्, किन हाँसेको भनेर । उहाँहरू हाँस्नुको कारण यो थियो कि, ‘मुक्ति’ टेलिफिल्मको मुख्य पात्रको नाम पनि सरिता नै थियो । त्यो क्यारेक्टरमा त्यतिबेलाका नाम चलेका हिरोइनहरू समेत अभिनय गर्न राजी थिए । तर कोही पनि ओके भएका थिएनन् । सरिताको जिउडाल, बोलीचाली, उमेर, रुप ठ्याक्कै ‘मुक्ति’ को मुख्य पात्रमा उभ्याइएकी सरितासँग मेल खाएपछि तुलसी दाईका बुढाबुढी सरितालाई नै त्यो भूमिकामा खेल्नुपर्छ भन्न थाल्नुभो । तुलसी दाईले भारती भाउजुसँग सरितालाई भगवानले नै पठाइदिनु भएको हो । जसरी पनि सरिता नै हुनुपर्छ भन्नुभो । सरिताले अभिनयको कुरा सिधै इन्कार गर्ने । बल्लतल्ल उहाँहरू र म लागेर सरितालाई ‘मुक्ति’ को सरिता पात्रका लागि अभिनय गर्न राजी गर्यौं । सरिताले हुन्छ भनिन् । उहाँहरू अत्यन्त खुसी हुनुभो ।

सरिताले पहिलो पटक अभिनय गरेको त्यो टेलिफिल्म नेपालको इतिहासमा सबैभन्दा बढी चर्चित भएका दुई वटा टेलिफिल्म मध्ये एक हो । नेपालमा ‘मुक्ति’ र ‘परिचय’ नै सबैभन्दा बढी चलेका टेलिफिल्म मानिन्छन् ।

‘मुक्ति’ मा सरिताको अभिनयले दुनियालाई मोहित बनायो । टेलिफिल्मको मूख्य भूमिकामा मन छुने अभिनय गर्ने सरिता को हुन् खोजी हुन थाल्यो, कलाक्षेत्रमा । ‘मुक्ति’ नसकिदै फिल्म र टेलिफिल्म खेलिदिनका लागि सयौं प्रस्तावहरू आउन थाले । त्यो क्रममा एक हप्तामा नेपाल टेलिभिजनबाट मात्रै सरिताले अभिनय गरेका १२ वटासम्म सिरियल आउथे । ‘मुक्ति’ पछि १८ वटा फिल्ममा त नायिका बन्न अफर नै आए । तर सरिताले मानिनन् । उनमा ‘मुक्ति’ पछि अभिनय गर्ने रहर नै थिएन । यदि उनले चाहेको भए उनले भने अनुसारका स्क्रिप्ट तयार हुन्थे । धेरै जना निर्माता निर्देशकहरूले उनलाई तान्न कोसिस गरे । उनले अलिकति मात्रै लोभ गरेको भए तमाम फिल्म पाउँथिन् । हिट हुन्थिन् । स्थापित हुन्थिन् । उनको सकारात्मक पक्ष के हो भने उनमा उच्च महत्वाकांक्षा छैन । सायद हाम्रो पारिवारिक रथमा ब्रेक लाग्नु थिएन । उनीमा अलिकति पनि महत्वाकांक्षा नै जागेन । यदि उनले अफर आएका मध्ये अलिकति मात्र फिल्म खेल्थिन् भने हाम्रो पारिवारिक जीवन सायद सहज हुन्थेन होला । आज एउटा प्रेमिल जोडीको रुपमा तपाईं हामीलाई यसरी पाउनुहुन्नथ्यो ।

‘मुक्ति’ पछि अफर आएका मध्ये १९ औं फिल्म ‘सन्तानको माया’ मा खेल्न किशोर राना दाइले प्रस्ताव ल्याउनु भो । किशोर दाइले सरिता कस्तो मान्छे हुन्, कस्तो स्क्रिप्टमा खेल्छिन्, भन्ने कुरा मलाइ थाहा छ । जस्तो पायो त्यस्तो फिल्ममा म सरितालाई प्रस्ताव गर्दिन भनेपछि सुरुमा मैले फिल्मको स्क्रिप्ट हेरे । स्क्रिप्ट हेरेपछि सरिताले अभिनय गर्छिन् भने । सरितालाई त्यो स्क्रिप्टको बारेमा भने । उनी पनि सहमत भइन् । त्यो फिल्म पनि निकै हिट भयो । सरिताको अभिनयले वाहवाह कमायो ।

परिचयले स्थापित गरेको ‘परिचय’

सरिता निकै व्यस्त । म फिल्ममा काम गरिरहेको थिएँ । एक दिन मिडिया हबका सोम धितालले अरुका लागि कति काम गरेको । अब आफ्नै लागि काम गर्नुपर्यो । अरुका फिल्ममा काम गरेर कति नै पैंसा पाइन्छ र भन्नुभयो । त्यसले हामीलाई पनि आफै केही काम गर्ने सोच बन्यो । हामी आफैंले टेलिफिल्म बनाउने निधो गर्यौं– ‘परिचय’ ।

परिचयमा सरिताले निर्माता र मुख्य कलाकारको भूमिका निर्वाह गरिन् भने मैले निर्देशकको रुपमा । परिचय यति हिट हुन्छ भन्ने सोचेकै थिएनौं । तर परिचयले त साँच्चै हाम्रो परिचय नै बनाइदियो । तपाईंलाई विश्वास नलाग्ला सरिताले परिचयमा निर्वाह गरेको भूमिकाबाट प्रभावित भएका केही मान्छेहरूले पत्रिकामा छापिएको सरिताको फोटो काटेर आफ्नो पूजा कोठामा भगवान्को फोटोसँगै राखेर पूजा गरेको पनि देखियो, सुनियो । त्यतिबेलाको परिचयबाट कमाएको त्यो चर्चाले अहिले फेरि ‘परिचय’ बनाउन प्रेरित गर्यो । अहिले हरेक आइतबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट ‘परिचय’ प्रसारण भइरहेको छ ।

को हुन् सरिता ?

असल छोरी, असल श्रीमती, असल बुहारी र असल आमाको पर्यायवाची शब्द नै सरिता लामिछाने हो ।

सरिता लामिछाने सफल हुनुको पछाडि मेरो हात छैन । सरिता मात्र होइन जो सुकै मान्छे सफल हुनुको पछाडि उ आफैको भूमिका हुन्छ । सरिता सत्कर्मी हुन् । उनले मन, वचन र कर्मले सत्कर्म गर्छिन् । त्यो नै उनी सफल हुनुको रहस्य र यथार्थ पनि हो ।

सरिताप्रतिको गुनासो

सरिताप्रति गुनासो गर्ने ठाउँ न त आयो, न आउँछ । यति असल मान्छेसँग मेरो त के गुनासो हुनु । बरु विगतमा कहिलेकाँही रक्सी खाएको कुरामा उनको गुनासो थियो होला । अरु ठाउँहरू पनि छन् मप्रति गुनासो गर्ने । तर उनले व्यक्त नै गरिनन् । मप्रति उनको गुनासो के हो तपाईं सोधिदिनुहोला बरु । यदि उनले बताइन् भने ।

राजाको सबैभन्दा ठूलो सान र प्रतिष्ठा नै श्रीपेच हुन्छ । त्यसैले टाउकोमा श्रीपेच लाउछन् राजाले । ऋषी लामिछाने एउटा चलचित्र निर्देशक हो । त्योभन्दा अगाडि यो देशको नागरिक हो । मलाइ चलचित्र निर्देशक बनाउनुमा, असल नागरिक बनाउनुमा सरिताको धेरै ठूलो हात छ । अरु खुसी खोज्न मन्दिर धाउँछन्, म सुख, खुसी, आनन्द सबै कुरा सरितामा देख्छु । म गइनँ कतै र जान्न पनि । मेरो खुसी, सुख आनन्द सबै कुरा सरितामा मात्रै छ । मलाइ संसारका कुनै पनि महिला सरिता भन्दा सुन्दर र असल लाग्दैनन् । संसारको सबैभन्दा दुखी पुरुष श्रीमतीलाई दास ठानेर हेप्ने मान्छे हुन् । त्यो उनीहरूको पागलपन हो । उनीहरू कृतिमतामा असन्तुलित जोड दिइरहेका छन् । कृतिम सुखका लागि भौंतारिरहेका छन् । तर घरकै श्रीमतीलाई नराम्री देखेर, दुख दिएर आफ्नै जीवनमा दुख निम्त्याएको उनीहरूले बुझेका छैनन् । सबैभन्दा सुखी मान्छे नै घरमा शान्ति भएको मान्छे हो । मैले श्रीमतीलाई शिरमा राखे । मेरो श्रीपेच हुन् उनी । त्यसकारण मेरो जीवन यति सुखी छ, आन्दित छ, खुसी छ ।

प्रस्तुतिः लोग्शरी कुँवर\महिला खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: