बाह्र वर्षदेखि न्यायालय धाउँदा….


प्रकाशित मिति :2018-01-07 12:57:41

–खेमा बस्नेत–

काठमाडौं । उदयपुरकी सुस्मा थापा न्यायालयको ढोका ढक्ढक्याउन थालेको १२ वर्ष पुग्यो । १२ वर्षको अवधिमा उनको जीवनमा धेरै परिवर्तन भइसक्यो । तर, एक चिज भने कहिल्यै परिवर्तन भएन् । त्यो हो–आफ्नो न्यायका लागि गर्नुपरेको संघर्ष ।

उनलाई देख्ने हेर्नेले भन्छन्, ‘जन्मजात अपांग होला’ तर वास्तविकता धेरै फरक छ । उनको दाहिने खुट्टाको घुँडा भन्दा तलको भाग छैन् । यस्तो भएको न त कुनै पोलियोको कारण हो, नत कुनै दुर्घटना परेर । त्यो त भगवानको दोस्रो रुपमा बिरामीले हेर्ने मान्छे जो हामी ‘डाक्टर’ भन्छौं, तिनै डाक्टरको लापरवाहीका कारण सुस्माको जीवनमा बज्रपात प¥यो ।

उनी त्यतीबेला १६ वर्षकी मात्र थिईन् । दायाँ खुट्टाको घुँडा पछाडी टियूमर भएपछि उपचारका लागि अस्पताल पुगिन् । भरतपुर क्यान्सर अस्पतालले एम.आर.आई र सिटिस्क्यान गर्नुपर्छ भन्दै वीर अस्पताल काठमाडौंमा रिफर गर्यो ।

‘वीर अस्पतालमा जाँच गराउँदा डाक्टरहरूले अप्रेशन गर्नुपर्छ भने । म त्यहाँ भर्ना भए । सामान्य हो मासु निकालेपछि ठिक हुन्छ भनेपछि डा. बुलन्द थापाले मेरो अप्रेशन गर्नुभयोे’ सुस्माले भनिन् ।

अप्रेशन गर्दा दुई खुट्टाले हिँडेर गएकी सुस्माले त्यसपछिका दिनमा कहिले दुई खुट्टाले हिँड्न पाईनन् । उनी भन्छिन्, ‘त्यो दिन म हिँडेरै गएकी थिएँ । त्यति मात्र हिँड्न लेखेको रहेछ मेरो जीवनमा । अप्रेशन गर्दा मेरो खुट्टाको नशा काटिएको रहेछ । अप्रेशनपछि मेरो खुट्टा चल्नै छाड्यो ।’

२०६३ मंसिर २४ गते शुक्रबार सुस्माको अप्रेशन त भयो । तर उनको खुट्टाको औलामा रगत जमेको देखेपछि उनले नर्सलाई सोधिन् । ‘मेरो औलामा किन रगत जमेको ? सोध्दा नर्सले यो त डेन्जर हो भन्नुभयो’ सुस्माले भनिन् ।

मंसिर २६ गते आइतबार डा.थापा सुस्मालाई चेक गर्न भन्दै बेडमा आए । सुस्माले अप्रेशनपछि आफ्नो खुट्टामा आएको समस्या डाक्टर थापालाई बताइन् । ‘रगत फाट्छ यो औषधी खाऊ भन्दै एउटा औषधी दिनुभयो । त्यसपछिका दिनमा उहाँ मेरो चेकअफ गर्न कहिले आउनुभएन’ थापाले भावुक हुँदै भनिन् ।

सुस्मा वीर अस्पतालमा चार महिनासम्म भर्ना भएर बसिन् । तर यस अवधिमा डा.थापा चेकअपका लागि कहिल्यै आएनन् । ‘फागुनको २४ गते डिस्चार्ज भयोे । तर म त्यो दिन गईन् । त्यो दिन बल्ल डा.थापा आए । ल अझ तिमी गएकी छैनौं डा. थापाले भने । मेरो खुट्टा यस्तो बनाएर तपाईं किन नआउनुभएको मैले भने, तर उहाँले मैले अरुलाई हेर्नु भनेको थिए त भन्दै उल्टै धम्काउने स्वरमा बोल्नुभयो’ सुस्माले भनिन् ।

सुस्माको खुट्टाको औलाको नङमा जमेको रगत बढ्दै माथि खुट्टासम्म पुग्यो तर अस्पतालले उनको त्यो अवस्थालाई वेवास्था गर्दा उनले खुट्टा नै गुमाउनु प¥यो ।

‘सानो ठाउँमा जमेको रगतले ठूलै असर गर्दै जान थाल्यो । त्यो रगत खुट्टाको घुँडासम्म जम्दै गयो । तर मेरो त्यो अवस्थाबारे अस्पताल मौन रह्यो’ सुस्माले पीडा सुनाइन् । उनी अहिले कृतिम खुट्टाको सहरामा हिड्न थालेकी छन् । तर उनलाई सजिलै हिड्डुल गर्न भने समस्या छ ।

सुस्माले अस्पताल र डाक्टरको लापरवाही बारे स्वास्थ्य मन्त्रालयमा निवेदन दर्ता गराएपछि डाक्टरको अर्को टोलीले उनको खुट्टाको अप्रेशन गर्यो । ‘मेरो अवस्थाबारे मन्त्रालयमा निवेदन दिएपछि मात्र पहिलो पटक पुस १६ गते पैतलादेखि माथिको भाग र दोस्रो माघ १ गते फेरी घुँडासम्म काटेर फालिएको थियो’ सुस्माले भनिन् ।

सुस्माले अस्पतालबाट डिस्चार्ज भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २०६३ चैतमा डा.मुलन्द थापा विरुद्व क्षतिपूर्ति पाउँ भन्दै मुद्वा दर्ता गराईन् ।

जिल्ला प्रशासन कार्यालयमा रहेको क्षतिपूर्ति समितिले २०६५ सालमा सुस्माको क्षतिपूर्तिको माग जायज भएको भन्दै नौ लाख २० हजार क्षतिपूर्ति दिन भन्दै फैसला ग¥यो ।

‘मेरो जीवन नै ववार्द पार्ने डा. थापाले उल्टै आफ्नो गल्ति केही नभएको भन्दै क्षतिपूर्ति नदिने भन्दै पुनरावेदन अदालत गरे । २०६६ सालमै उनले क्षतिपूर्ति नदिने भन्दै मुद्धा दर्ता गरे’ सुस्माले भनिन् ।

पुनरावेदन अदालतले क्षतिपूर्ति समितिको फैसलालाई सदर गदै २०६८ सालमा सुस्माको पक्षमा फैसला ग¥यो । फेरि डा.मुलन्द थापा सर्वोच्चमा गए । सर्वोच्चले पनि सुस्माकै पक्षमा फैसला ग¥यो । डा. थापाले भने आफू अन्यायमा परेको साबित गर्न कुनै कसर बाँकी राखेनन् । उनले फेरि पुनराअवलोकन गरियोस् भनी मुद्धा दर्ता गराए ।

 

त्यहाँबाट पनि २०७३ साल चैत २१ गते सुस्माकै पक्षमा नौ लाख २० हजार क्षतिपूर्ति दिने भन्ने फैसला भयो । तर न्यायको लागि अदालत धाएको १२ वर्ष बितिसक्दा समेत उनले न्याय पाएकी छैनन् । अब उनीसँग आपूmले न्याय पाउँछु की भन्ने झिनो आशा मात्र बाँकी छ ।

सानै उमेरदेखि न्यायका लागि अदालत धाउँदा धाउँदै भोगेको सास्तीले अब न्याय पाइन्छ भन्नेमा विश्वास समेत गुमिसकेको उनी बताउँछिन् । तर पनि महिनाको पाँच छ पटक जिल्ला प्रशासन धाउँछिन् । उनी भन्छिन्, ‘महिनाको पाँच, छ पटक म प्रशासन पुग्छु । धेरै सिडियो फेरिए, धेरै कर्मचारी फेरिए, गए आए । तर मेरो मुद्धा जहाँको त्यही छ ।’

अहिले प्रशासनले डा.थापाको सम्पतीबाट भएपनि क्षतीपूर्ती तिराउने भन्दै सम्पती रोक्काका लागि मालपोत कार्यालयहरूमा परिपत्र गरिसकेकोे छ । ‘खैँ हेरौँ के हुन्छ’ सुस्माले भनिन् ।

उनी भन्छिन् ‘ढिला गरी न्याय पाउनु, न्याय नपाउनु सरह नै रहेछ । मैले अब न्याय पाउनु र नपाउनु एउटै हो । न्यायका लागि लड्डा लड्दै १२ वर्षमा मैले जे गुमाए, मैले पाउने नौ लाख क्षतिपूर्तिले मलाई न्याय दिन सक्दैन्’ सुस्माले भनिन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका कानुन शाखाका कानुन अधिकृत पारसमणि पोखरेलले अन्तिम फैसला भएपछि डा.मुलन्द थापालाई २०७४ बैशाखमा फैसला अनुसार क्षतीपूर्ती दिनु भनेर निवेदन दिएको बताए ।

‘हामीले फैसला अनुसार क्षतीपूर्ती दिनु भनी निवेदन पठाएका थियौं । त्यसपछि साउनमा २४ घण्टे ताकेता पत्र पठाएका थियौं । तर उहाँले कुनै वास्ता नगरेपछि अहिले क्षतीपूर्ती समितिले सम्पति रोक्का गर्न नियर्ण गरेको छ’ अधिकृत पोखरेलले भने ।

क्षतीपूर्ती समितिले राष्ट्र बैंक मार्फत सबै बैंकको खाता रोक्का र भूमिसुधार तथा व्यवस्थापन विभाग मार्फत सबै मालपोत कार्यालयहरूमा डा.मुलन्द थापा र उनको परिवारको नाममा भएको जग्गा रोक्काका लागि परिरपत्र जारी गरेको उनले बताए ।

अदालतबाट फैसला भएका देवानी प्रकृतीको मुद्धामा राज्यले तत्काल शक्ति प्रयोग गर्न नमिल्नु, फितलो कानुन, क्षतीपूर्ती समितिमा बहुमत नपुग्नु, फैसला कार्यान्यवन सम्बन्धमा फैसला कार्यान्वयन कार्य विधि ऐनले नबोल्नु जस्ता समस्याले गर्दा अदालतबाट फैसला भएका मुद्धाहरूमा कार्यान्वयनमा ढिला हुने कानुन व्यवसायीको भनाइ छ ।

डाक्टरको लापरवाहिका कारण खुट्टा गुमाएकी सुस्माका लागि उनले पाउने ९ लाख क्षतीपूर्तीले उनले गुमाएको १२ वर्ष फिर्ता गर्न सक्दैन । कानुनको ढिलासुस्तीका कारण पनि सुस्मा अन्यायमा परेको बताउछिन् । आफ्ना लागि आजिवन रोजगारीको व्यवस्था र नौ लाख पनि ब्याजसहित पाएको खण्डमा मात्रै केही हदसम्म आफूले न्याय पाएको सार्थक हुने उनको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: