आन्दोलनले जन्माएकी उपमेयर


प्रकाशित मिति :2018-01-04 15:37:41

सुनसरी । २०६२\०६३ सालको जनआन्दोलन प्रभावकारी बनाउन इटहरीमा तीन जना महिलाहरु निकै सक्रियताका साथ लागेका थिए । लक्ष्मी गौतम, मीना श्रेष्ठ र मञ्जु भण्डारी । तीन दिदीबहिनी भनेर परिचित उनीहरु मध्ये करिब २३ बर्षीया युवतीले लगाउने चर्का नारा र गर्ने दमदार भाषणले जनआन्दोलनका पक्षधरहरुलाई थप उर्जा मिल्थ्यो ।

तिनै दिदीबहिनी मध्येकी कान्छी बहिनी अर्थात मञ्जु भण्डारीलाई आन्दोलनकै क्रममा सेनाले पक्राउ गरि १३ दिन प्रहरी हिरासतमा राख्यो । त्यसो त २०६१ सालमा प्रतिगमनको विरोध गर्दा समेत उनले प्रहरीको हिरासत भोगिसकेकी थिइन् ।

त्यो बेला नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्वविय)को नेतृत्व गरेकी, आन्दोलनले जन्माएकी नेता मञ्जु भण्डारी अहिले पूर्वकै सुन्दर नगरी धरान उपमहानगरकी उपमेयर हुन् । उपमेयर न्यायिक समितिको संयोजक हुने वैधानिक प्रावधानले अहिले धरानको न्यायपालिका प्रमुख पनि मञ्जु नै हुन् ।

राजनीतिक संगठन र सामाजिक संघ संस्थामा आवद्ध भइ काम गर्ने दौरानमा अधिकारविहीनहरुको पक्षमा उनले खेलेको भूमिका प्रशंसनीय छ । सञ्चारिका समूह, मानवअधिकार सञ्चार प्रतिष्ठान (इह्रिकन) र जुरी नेपालद्वारा सञ्चालित न्यायमा पहुँच परियोजना सुनसरीमा जिल्ला संयोजकका रुपमा कार्य गरेको अनुभवले मञ्जुको जीवनमा नयाँ उर्जा र अवसरहरु ल्याइदियो । जहाँ काम गर्दाको अनुभवका कारण उनलाई न्यायिक समितिमा रहेर काम गर्न निकै सहज भएको छ । अधिकारबाट वञ्चितहरुको लागि न्यायको पहल गर्न मद्यत पुगेको छ ।

२०३९ साल साउन २ गते इटहरीका राधा र रविन्द्र प्रसाद भण्डारीको घरमा पहिलो सन्तानको रुपमा जन्मिएकी तीनै मञ्जुले अहिले धरान उपमहानगरको नेतृत्व सम्हाल्दा परिवारलाई पनि निकै ठूलो खुसी मिलेको छ ।

सानै उमेरदेखि जुझारु र जिज्ञासु स्वभावकी मञ्जु जनता मावि इटहरीमा अध्ययनका क्रममा २०५३ सालदेखि अनेरास्ववियुको प्रारम्भिक कमिटी सदस्यमा संगठित भइन् ।

जनतामाविमै प्रारम्भिक कमिटी कोषाध्यक्ष, अध्यक्ष हुँदै०५६ सालमा सुनसरी २ नम्बर क्षेत्रीय कमिटीको सचिव बनिन् । २०५७ सालमा अनेरास्ववियुको सुनसरी जिल्ला कमिटी सदस्य, कोषाध्यक्ष, सचिव हुँदै कोशी अञ्चल महिला विभाग सदस्य बनिन् । त्यसपछि कोशी अञ्चल कमिटीको अध्यक्ष र दुई कार्यकाल केन्द्रीय सदस्य भएर विद्यार्थी आन्दोलनमा समाहित भइन् । उनले २०६४ सालमा धरानका राजनीतिज्ञ मुरारी सुवेदीसँग मञ्च विवाह गरिन् । हाल उनीबाट एक छोरी छन् ।

विद्यार्थी राजनीति सँगसँगै मञ्जु समाज सेवा र अधिकारको क्षेत्रमा पनि सक्रिय भइन् । उनले द्वन्द्व व्यवस्थापनका लागि सञ्चालित बारुदी सुुरुङ प्रतिवन्ध अभियानको जिल्ला संयोजक भएर पनि काम गर्ने अवसर पाइन् । लैंगिक मैत्री योजना निर्माण र कार्यान्वयनको संयोजनकर्ता भई निरन्तरको क्रियाशीलताले उनको सामाजिक उचाइ पनि बढाउदै लग्यो ।

महिला हिंसा विरुद्धका हरेक अभियानमा मञ्जुले उल्लेख्य सहभागिता जनाइन् । उनले धरान नगरपालिकाको सामाजिक परिचालन समितिको सदस्यका रुपमा जिम्मेवारी पुरा गरिसकेकी छन् भने नगरको २ वर्षको सामाजिक विकास कार्यक्रमको मूूल्यांकन समिति संयोजक भएर विकास कार्यक्रमहरुको मूल्यांकन पनि गरेकी छन् । उपमेयरको रुपमा निर्वाचित हुँदा उनी धरान उपमहानगर महिला सञ्जालको सचिव थिइन् ।

महिला तथा बालिकाको न्यायमा पहुँच परियोजना अन्र्तगत जिल्ला संयोजक भएर काम गर्दा उनले महिला अधिकार र न्यायका विषयमा प्रशस्त ज्ञान हासिल गर्ने मौका पाइन् । वर्षौदेखि हिंसा खेपेर बसेका तर न्यायमा पहुँच पुग्न नसकेका सयौं महिलालाई न्याय दिलाउन सकेकोमा उनलाई गर्व छ ।

महिला अधिकार र हिंसा सम्बन्धि ऐन, कानुनका बारेमा त्यस बेला प्राप्त जानकारी अहिले उपमेयर र न्यायिक समितिको संयोजक हँुदा मज्जैले काम लागेको भण्डारी बताउछिन् । महिलालाई न्यायको पहुँचमा पुर्याउन सक्रिय रहँदा जिल्ला स्थित न्यायाधिश, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सरोकारवालाहरुसँग भएको सम्पर्क र चिनजानले अहिले उपमेयरको काम कारवाही अघि बढाउन पनि सरल र सहज भएको उनले महसुस गरकी छन् । उनी भन्छिन्, ‘ उपमहानगरमा न्याय सम्पादनको क्रममा केहि दुविधा भए सुनसरी जिल्लाबाट सरुवा भएर गए पनि न्यायाधिश ज्यूहरुसँग सम्पर्क गरेर परामर्श लिने गरेकी छु । उहाँहरु झर्को नमानी सल्लाह दिनुहुन्छ । सामाजिक संस्थामा काम गर्दाको कमाई हो यो मेरो ।’

महिला तथा बालबालिकाको न्यायमा पहुँच परियोजनामा काम गरेर प्राप्त अनुभवले उपमेयरमा उठ्न समेत आत्मविश्वास बढाएको मञ्जुको अनुभव छ । पीडितलाई न्याय दिलाउने कुरामा उपमेयरमा रहेर काम गर्दा कुनै कसर बाँकी नराख्ने पनि उनले प्रतिवद्धता गरिन् ।

प्रस्तुतिः लिलाराज भट्टराई\महिला खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

उदयपुरमा पुनर्ताजगी तालिम शुरु

–महिला खबर– ललितपुर । उदयपुरको गाईघाटमा ‘लैंगिक हिंसा न्यूनिकरणका लागि खोज पत्रकारिता तालिम’ शुरु भएको

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: