‘छाउ बार्नु, देउता खुशी पार्न हैन’


प्रकाशित मिति :2018-01-02 13:20:55

डीबी विष्ट

बझाङ । महिनावारी भएको समयमा घरभित्रै बस्नु त टाढाको कुरा, केही वर्ष अघिसम्म घरको आँगन समेत छुन पाउँदैनथेँ तल्कोट गाउँपालिकाका महिलाहरू । तर अहिले यहाँका अधिकांश महिलाहरू महिनावारी भएका बेला आफ्नै घर भित्रै बस्न थालेका छन् ।

महिनावारी हुँदा ५/७ दिनसम्म गाउँ भन्दा ५/६ सय मिटर टाढा बनाइएका साँघुरो गोठमा बस्दै आएका उनीहरू अहिले घरभित्रै बस्न पाएपछि निकै खुसी छन् । यो अन्धविश्वास उनीहरु आफैले चिरेपनि त्यति सजिलो भने थिएन ।

चाँदनी बम तल्कोट गाउँपालिकाकै पहिलो महिला हुन्, जसले महिनावारी भएको बेला घरभित्रै बस्ने आँट गरिन् । ३५ बर्षिया बमलाई शुरुमा निकै डर लागेको थियो, ‘कतै देउता रिसाउने हुनकि’ भनेर । ‘दुई बर्ष भयो बार्न छाडेको, तर त्यस्तो केही भएन ।’ उनले भनिन् । उनलाई श्रीमान र परिवारका अन्य सदस्यले नि साथ दिए । ‘शुरु शुरुमा निकै डर लाग्यो नि, कतै देउता रिसाएर अनिष्ट गर्ने हुन्कि भनेर, एउटा छोरीकी आमा समेत भैसकेकी बमले भनिन्–‘अब चही ढुक्का भयौं, छाउ बार्नु अन्धविश्वास मात्र रहेछ, थाहा भयो ।’ महिनावारी भएका बेला गोठ जान छाडेपनि पूजा गर्ने ठाउँ र भान्सा भने छुने आँट नभएको उनले बताइन् । ‘सँगै खाने, बस्ने, काम गर्ने गछौं, तर पुजाआज चै बार्ने गरेकी छु ।’ वमले भनिन् ।

तल्कोट गाउँपालिकाकी प्यारु देवि बमले महिनावारी भएको बेला घरै बस्ने र गाईभैसीको दूध खान थालेपछि केही महिना अघिसम्म गाउँलेको निकै खप्की व्यहोर्नुप¥यो । ‘यसले देवी देउतालाई समेत राम्रोसँग चिनेन, देवी देउता रिसाउने भए । यसको बंश नै नास हुने भयो । यो त पागल भइसकी जस्ता अनेक आरोप लगाए, डर देखाए ।’ तर गाउँमा आफ्नो विरुद्ध जे जस्ता कुरा गरे पनि उनले सुनेको नसुने जस्तो गरिन् । जब तल्कोट गाउँपालिका १ सुनिकोटले वृहत कार्यक्रम गरि आफू जस्तै अन्य गाउँका महिलाहरूलाई छाउपडी प्रथा त्यागेको भन्दै दोसल्लासहित सम्मान गरे, त्यसपछि त महिनावारी भएका बेला घरभित्रै बस्ने महिलाहरूको संख्या बढ्दै गएको प्यारुले बताइन् ।

छाउगोठ

छाउगोठमा बस्दा अनेक समस्या झेल्नुप¥थ्र्यो । पानी पर्दा ओत लाग्ने ठाउँ हुन्नथ्यो । ढोेका समेत राम्रोसंग नलाग्ने, कोही घर भित्रै आएको खण्डमा के गर्ने भन्ने चिन्ताले सताई रहन्थ्यो । जति अध्यारो हुन थाल्यो । त्यति नै मनमा आजको रात कसरी काट्ने ? राती के के हुने हो ? कतै स्यालले पो टोक्छ की सर्पले पो टोक्छकी, बाघ, भालुले पो खान्छकी वा लोग्ने मान्छे आएर इज्यत पो लुट्ने होकि, यस्तै यस्तै सोच्दा सोच्दै मानसिक तनावमा रात विताउनुपरेको प्यारुले सुनाइन् ।

उनका अनुसार केही महिलाको छाउगोठमा बस्दा सर्पले डसेर मृत्यु समेत भएको थियो । अहिले घरभित्रै बस्न थालेपछि त्यस्तो चिन्ताबाट मुक्त भएको उनको अनुभव छ । उनले भनिन्–‘अहिले त पुर्नजन्म पाएजस्तो लाग्छ ।’

उनी जस्तै अहिले १८ जना भन्दा बढी महिला खुलेर छाउपडी प्रथा तोड्ने अभियानमा लागेका छन् । सरकारी तथा गैर सरकारी संस्था र स्थानीय रेडियोहरूले महिनावारीबारे सचेतनामूलक तथा सकारात्मक कुराहरू दिन थालेपछि महिनावारी हुनुलाई यहाँका महिलाहरूले सामान्य रुपमा लिन थाले । यसले गर्दा महिलाहरू स्वयम् साहसपूर्वक खुलेरै छाउपडी प्रथाको विरोध समेत गर्न थाले ।

३५ वर्ष गोठमा
तलकोट गाउँपालिका, १ बेडालाकी नामसरा बम्म १४ वर्षको उमेरमा पहिलो पटक छाउ (महिनावारी) भइन् । उनले जीवनका ३५ वर्ष हरेक महिनाको ७ दिन गोठ मै बसेर बिताइन् । गोठमा बस्दा उनले भोगेको दुख भनि साध्य छैन ।

कसैले दिएन भने तिर्खा लागेको बेला पानी पनि खान पाइनन् । लामो समय गोठमा बसेका कारण चिसो लागेर अहिले पनि उनका हात खुट्टा सुन्निने गर्छन् । कति दिन त गाउँमा भएको छाउपडी गोठ भत्किदा पुस माघको कठ्यांग्रिने चिसोमा समेत खुला आकाशमुनि पाल टाँगेर बस्नु परेको थियो । नाम मात्रका ती पालहरूबाट आकासबाट पानी पर्दा त परै जाओस् सित समेत तपतप चुहिन्थ्यो । त्यो दिन सम्झँदा त अहिले पनि शरीर नै काँप्छ । आङ जिरिङ्ग हुन्छ ।

गाउँ भन्दा टाढा भएको एक मात्र साँघुरो गोठमा कहिले गाउँका धेरै महिलाहरू सँगै छाउ हुँदा बस्ने ठाउँ हुन्नथ्यो । अनि गोठबाहिर पाल टाँगेर समेत सुतिन्थ्यो । कहिले एक्लै हुनुपर्दा डराइडराई रात बिताउनु पर्ने । वर्षातको समयमा पालमुनि बस्दा शरीर मै सर्प खसेको, कमिलाले टोकेको, मदिरा सेवन गरेको बहानामा गाउँकै लोग्ने मान्छेहरूले छाउ गोठमा गिद्धे नजर लगाएको जस्ता तिता अनुभव नामसरा बम्मसँग छन् । ‘कहिले काँही एक्लै महिनावारी हुँदा त रुखको पात खसे पपनि साँतो जान्थ्यो । हातमा एउटा हसीँया हुन्थ्यो । सुनसान रात त्यही हसियाँको साहाराले काटीयो । दुई÷चार जना साथीसंगै छाउ भएको बेला मात्रै एकको भर एक मानेर हाँस्दै बोल्दै रात काटउथे ।’

नातिनीका लागि विद्रोह
महिनावारी भएको समयमा घर नजिक आउँनु हुदैन । पानीका धारा छुनु हुदैन । देउता रिसाएर अनिष्ठ हुन्छ भन्ने मान्यताले जरो गाडेको समाजमा सुरुमा घरभित्र बस्दा साँच्चै केही भइ पो हाल्छ की ! समाजले के भन्ने हुन् भन्ने पिर पनि कम थिएन । तर वर्षौसम्म गोठमा बिताएका दुखद् क्षणहरूले उनलाई पनि हिम्मत जुराउँन बाध्य बनायो ।

तल्कोट गाउँपालिका १ भाटगाँउकी डल्ली विक छाउ भएको बेला आफूले भोगेको पीडा नातिनीलाई भोगाउँन चाहन्नन् । त्यसैले आफूले आफ्नो लागि गर्न नसकेको विद्रोह उनी नातिनीका लागि गरिरहेकी छन् ।

‘मेरो घरमा अरु कोही पनि छैनन् । सम्पतीका नाममा एउटै नातिनी मात्र छे । हुन त घर नजिकै देउताको मन्दिर पनि छ । मैले धेरै पीडा खेप्नु परेको थियो महिनावारी हुँदा । तर त्यति बेला बुद्धि आएन । समाजले भनेको कुरामा नै विश्वास गरेँ । अहिले संघ संस्थाहरूले गाउँमा जनचेतना फैलायो । अनि घर मै बस्नुपर्छ भन्ने सोच आयो र मैले मेरो नातिनीलाई घरभित्रै बस्न लगाउँछु’ डल्ली विकले सुनाइन् ।

गाँउका केही हुने खाने र जान्ने बुझ्नेहरूले नै छाउ भएको समयमा आफ्ना छोरी बुहारीहरूलाई गोठमै पठाउँछन् । छाउ भएको बेला गोठमा नबस्नेहरूका विरुद्ध उनीहरू नै नानाथरी कुरा काट्छन् । डल्लीले भनिन्, ‘अब मलाइ त्यस्ता कुराको कुनै प्रवा लाग्दैन । वास्तै गर्दिन । गाउँका केही मान्छेहरूले मेरो श्रीमान बित्नुको मूख्य कारण छाउ भएका बेला नातिनीलाई घर भित्रै राख्नु हो भने । तर मलाई त्यो कुरामा कत्ति पनि विश्वास छैन ।’

दुइ वर्ष यता डल्लीले नातिनीलाई छाउ भएको समयमा घरभित्रै राख्दै आएकी छन् । न देवी देउता रिसाएका छन् । नत घरमा नै केही भएको छ । ‘यो त खाली अन्धविश्वास मात्र रहेछ’ उनले भनिन्, ‘हाम्रो सिको गर्दै अहिले गाउँका धेरै महिला घरभित्र बस्न थालिसकेका छन् । अहिलेसम्म कसैलाई केही भएको छैन ।’

एकपछि अर्काे गर्दै महिलाहरू छाउ भएको बेला घर भित्र बस्ने र साविकको झँै खानेकुराहरू खाने गर्न थालेपछि अहिले यहाँका धेरै जसो महिलाहरूले छाउ बार्न छोडेको बताउँछन्, तल्कोट गाउपालीका १ खाती गाउँकी जलु खाती ।

उनले भनिन्, ‘छाउ भएको समयमा दही दुध खाँदा गाई भैसीले दुख नदिने, मर्ने, सन्तान नहुँने भन्ने अन्धविश्वास थियोे । घरमा बस्दा सुरुमा त निकै नै डर लागेको थियो । पहिला घरभित्र बस्यौ । बिस्तारै दुध दही खान सुरु गर्याै । आखिर कसैलाई केही पनि भएन ।’

लामो समयसम्म रुढीबादी परम्परालाई मान्दै दुख खेपेकोमा यहाँका अधिकांस महिलाहरूलाई निकै पछुतो छ । ढिलै भए पनि छाउ प्रथा भनेको नराम्रो हो भनेर बुझ्न पाएकोमा भने उनीहरू खुसी व्यक्त गर्छन् । स्थानीय खिन्तुरी ऐडी भन्छिन्, ‘अबदेखि हाम्रा छोरी बुहारीहरूले हाम्रो जस्तो दुख भोग्नु नपर्ने भो यसैमा खुसी छौ ।’

                  महिनावारी हुँदा घरभित्रै बस्न थालेका महिलाहरु आपसमा खुशीयाली बाँड्दै

सम्मानले संख्या बढ्दै

छाउपडी प्रथा नियन्त्रण, मदिरा न्यूनिकरण र महिला हिंसा न्यूनिकरणका लागि वडापालिकाले पनि विभिन्न जनचेतनामुलक कार्यक्रमहरू गरिरहेको तल्कोट गाउँपालिका १ का वडा अध्यक्ष गोपाल बहादुर धामीले बताए ।

महिनावारी हुँदा घरभित्र बस्ने ९ जना र साविक जस्तै खाना पनि खाने २ जना महिलालाई स्थानीय यूएमएन र महिला कल्याण बचत तथा ऋण सहकारी संस्थाले सम्मान पनि गरेको वडा अध्यक्ष धामीले बताए ।

यो भन्दा केही महिना अघि मात्रै यसै संस्थाले सुनिकोटकै महिनावारी हुँदा घर भित्रै बस्ने र साविक जस्तै दुध दही ध्यु खाने ५ जना महिलाहरूलाई सम्मान गरेको उनले बताए ।

सम्मानित भएका महिलाहरूले अन्य महिलालाई पनि छाउ प्रथासँग जोडिएको अन्धविश्वासको बारेमा सचेत गर्ने र छिटै वडालाई नै छाउ मुक्त गर्ने तयारी भैरहेको उनको भनाइ छ ।

विष्ट बझाङका पत्रकार हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: