नर्समाथि सेवाको बदला शोषण


प्रकाशित मिति :2017-12-12 14:51:27

नर्सिङ अर्थात् विशुद्ध सेवामूलक पेसा । नेपालको परिप्रेक्ष्यमा यो पेसामा महिलामात्रै छन् । पृतिसत्तात्मक समाजको कालो छायाँले यो पेसालाई दिनदिनै समस्याग्रस्त बनाउँदै लगेको छ । अस्पतालको आँगनदेखि  नीति निर्माणको टेबलसम्म नर्समाथि ‘दोस्रो दर्जा’को व्यवहार हुन्छ । तीन वर्षे पिसिएल नर्सिङ पढेकीलाई महिला भएकै कारण १६ महिने सिएमए तालिम लिएको पुरुष कर्मचारीले खटनपटन गर्छन् । स्वास्थ्य मन्त्रालयमा चिकित्सकहरुका कुरा सुन्नका लागि चिकित्सा महाशाखा छ तर नर्सका समस्या सुन्ने महाशाखा छैन ।

स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न उच्चस्तरीय समिति बन्छन् । तर, स्वास्थ्यकै महत्वपूर्ण पाटो नर्सिङबाट प्रतिनिधित्व जरुरी ठानिदैन । नेपालमै स्नाकोत्तर तहको नर्सिङ शिक्षा सुरु भइसक्यो तर त्यो अनुसारको पद अस्पतालले सिर्जना गरेका छैनन् । बिरामीको चापसँगै अस्पतालमा बेड सँख्या थपिन्छन्, नयाँ उपचार सेवा थालिन्छन्, डाक्टरको दरबन्दी बढाइन्छ, अन्य टेक्निसियनको पद सिर्जना हुन्छन् तर नर्सिङ क्षेत्रतिर ध्यान दिइदैन । नर्सहरुहलाई निःशुल्क काम लगाउने (भोलेन्टियर प्रथा), मनलाग्दी काममा राख्ने र निकाल्ने मात्रै भइरहेको छैन । शारीरिक र मानसिक हिंसा समेत बढ्दै गएको छ । महिला खबरका लागि डिबी खड्काले तयार पारेको रिपोर्टः

काठमाडौं । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा स्थापनाकालदेखि नै सेवा दिइरहेकी नर्स त्रजिना जतिलाई अस्पताल प्रशासनले गत साउन २९ गते निष्काशन पत्र थमायो । उनलाई निष्काशन गर्नुको कारण थियो, त्यसअघि अन्यायपूर्ण तरिकाले निकालिएका नर्सहरु सजना देउला र कृति श्रेष्ठका पक्षमा बोल्नु ।

त्रजिना

सहकर्मीमाथि भएको अन्याय देख्न नसकेकी त्रजिना अहिले आफैं अन्यायमा परेकी छन् । अन्याय विरुद्ध निरन्तर लड्न थालेको पाँच महिना पुगिसकेको छ । उनी भन्छिन्, ‘न्यायका लागि के–के गरिएन ? तर, महिलाहरुको आवाज जहाँपनि कमजोर ठानिदो रहेछ ।’ उनले तत्कालिन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई पत्र लेखिन् । उनीमाथि अन्याय भएको देखेका अस्पतालका डाक्टर, नर्स र कर्मचारी गरी ९१ जनाको हस्ताक्षर संकलन गरेर स्वास्थ्य मन्त्रालय बुझाए । भक्तपुर जिल्ला प्रशासनलाई गुहारे । कहीँबाट न्याय पाउने छाँटकाँट नदेखेपछि नर्सहरुकै छाता संगठन नेपाल नर्सिङ एशोसियसन (नान)मा उजुरी गरिन् । नानले उनका विषयमा छलफल गर्न तीनपल्ट अस्पताललाई पत्र पठाइसकेको छ । तर, अस्पताका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नानलाई समेत टेरेका छैनन् । छलफलका लागि न आफू आएका छन्, न प्रतिनीधि पठाएका छन् ।

एउटा सरकारी अस्पतालबाट नर्स निकालिने र त्यसका विषयमा बुझ्न खोज्दा अटेर गर्ने अस्पताल प्रशासनका विषयमा नानकी अध्यक्ष तारा पोखरेलले स्वास्थ्य मन्त्रालयका अधिकारीसँग पनि कुरा गरिन् । पोखरेल भन्छिन्, ‘उहाँ (डा पुकारचन्द्र श्रेष्ठ)को राजनीतिक पहुँच माथिसम्म छ त्यसैले केही गर्न सकिँदैन भनेर स्वास्थ्य मन्त्रालयका मान्छेले भने । अब बिरामीसँग माफी मागेर अस्पतालको सेवा बन्द गर्दै मैदानमा उत्रिने तयारीमा छौं ।’

अस्पताल प्रशासन भने यति अन्याय गरेर रोकिने देखिदैन । हिजो (आइतबार) मात्र उनीलगायतका नर्स र कर्मचारीमाथि भएका अन्यायका विषयमा ज्ञापन पत्र बुझाउन जाँदा बुझ्नै नमानी फिर्ता पठायो । नर्स त्रजिना जतिले भनिन्, ‘अन्यायका विपक्षमा उभिने अरु साथीहरुलाई पनि निकाल्ने धम्की दिइएको छ ।’

अस्पतालबाट मनलाग्दी तरिकाले नर्स निकालिने क्रम नियमित जस्तै रहेको, नर्सहरुमाथि हुने अन्याय विरुद्ध लडिरहेकी एन्टिकरप्सन मुभमेन्ट नर्सिङकी अध्यक्ष तथा नर्स दिया भण्डारी बताउँछिन् । उनी भन्छिन्, ‘नर्स साथीहरुमाथि दुव्र्यवहार, मानसिक र शाररिक हिंसा, अन्याय दिनदिनै भइरहेको हुन्छ । धेरै आफूमाथि भइरहेका यस्ता कुकृत्य विरुद्ध बोल्न सकिरहनुभएको छैन ।’

नेपाल नर्सिङ संघकी उपाध्यक्ष अप्सरा पाण्डे गुनासो आउने क्रम बढेको बताउँछिन् । उनी भन्छिन्, ‘नर्सलाई मन लाग्दा काममा राख्ने र नलाग्दा निकाल्ने काम भइरहेको छ । यसबाहेक लैंगिक विभेद र हिंसाका घटना पनि बढिरहेका छन् । केही समयअघि मात्रै सामाखुशी र बल्खुतिरका अस्पतालबाट पनि नर्सहरु यस्ता समस्या लिएर नर्सहरु आएका थिए । यसैगरी टीकापुर, कञ्चनपुरमा पनि यस्तै समस्या भएको थियो ।’

यसैगरी लामो समयदेखि न्युन पारिश्रमिकमा काम गर्दै आएका टीकापुर अस्पताल, कैलालीका चार जना महिला कर्मचारीले सेवा सुविधा बढाउन माग गर्दा निष्काशित हुनपरेको थियो ।

लैंगिक विभेदमा पेसा

महिला मात्रै कार्यरत रहेकाले समग्र पेसा नै लैंगिक विभेदमा परेको देखिन्छ । जुनसुकै तहमा कार्यरत भए पनि पुरुष कर्मचारीले नर्समाथि ‘राज’ गर्ने गरेको नर्सहरूको गुनासो छ । नर्सिङ संघकी अध्यक्ष पोखरेल देशभरका धेरै नर्सले आफूमाथि विभेद भएको गुनासो गर्ने गरेको बताउँछिन् । ‘वर्षौंदेखि कार्यरत एक सिनियर नर्सलाई भर्खरै आएको पुरुष सीएमएमात्रै भए पनि खटनपटन गर्न थाल्छ,’ उनले भनिन्, ‘जिम्मेवारी दिँदा पनि त्यसैगरी दिन्छन् ।’ स्वास्थ्यजस्तो समाजका आदर्श व्यक्तित्व जोडिने क्षेत्रमा विभेद रहेको बताउनु शोभनीय नदेखिए पनि अवस्था यस्तै दुःखद रहेको संघकी अध्यक्ष पोखरेल बताउँछिन् । भन्छिन् ‘उता देशको मुख्य अभिभावक (राष्ट्रपति) महिला (विद्या भण्डारी) हुनुहुन्छ, यता हामीले भने विभेदविरुद्ध संघर्ष गर्नुपरेको छ ।’

नर्सिङ काउन्सिलकी अध्यक्ष चन्द्रकला शर्मा नेपालको स्वास्थ्य क्षेत्रको कायापलट गर्ने सपना देख्ने हो भने नर्सिङ सेवा प्राथमिकतामा पर्नुपर्ने बताउँछिन् । तर, अस्पताल स्तरमा मात्रै होइन, नीति निर्माणमा समेत नर्सिङ पेसामा रहेका महिला विभेदमा परेको संघकी उपाध्यध्यक्ष अप्सरा पाण्डे बताउँछिन् । नेपालको स्वास्थ्य शिक्षा र सेवाको स्तरोन्नतिका लागि डा. गोविन्द केसीले गरेको आन्दोलनपछि गठित माथेमा कमिटीमा नर्सिङलाई बेवास्ता गरियो । उनीहरुले यसका विरुद्ध संघर्ष पनि गरे तर सुनुवाइ भएन ।

अहिले संघीय संरचना अनुसारको स्वास्थ्य प्रणाली निर्माण गर्दा पनि नर्सहरुमाथि विभेद भएको छ । स्वास्थ्य क्षेत्रका हरेक विधालाई समेटेर स्वास्थ्य मन्त्रालयमा आठवटा महाशाखा राख्ने गरी केही दिनअघि मात्रै प्रारम्भिक खाका मन्त्री परिषद्मा पेश गरिएको छ । तर, लामो समयदेखि स्वास्थ्य मन्त्रालयमा नर्सिङ महशाखा हुनुपर्ने आवाज उठाइरहेका नर्सहरुको माग भने सुनुवाइ भएन । उक्त समितिमा सदस्य रहेकी नर्स गोमादेवी निरौलाले भनिन्, ‘मैले जति कोसिस गर्दा पनि भएन । त्यसपछि साथीहरुलाई दबाब कार्यक्रम गर्न आव्हान गर्नुप¥यो ।’
अहिले यही विषयलाई लिएर नर्सहरु आन्दोलित छन् । गएका हप्ता मात्रै उनीहरुले स्वास्थ्य मन्त्रालय घेर्नुका साथै ज्ञापन पत्र बुझाएका छन् । नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेल भन्छिन्, ‘यसपल्ट नर्समाथि भइरहेका विभेद विरुद्ध हामी अन्तिम लडाइँ लड्ने पक्षमा छौं । बिरामीसँग माफी मागेर अस्पताल बन्द गर्दै सडकमा उत्रिन्छौं ।’ नर्सिङमा महिलामात्रै भएकाले स्वास्थ्यको महत्ववपूर्ण विषय कम प्राथमिकतामा परेको महसुस आफूहरूले गरेको संघकी अध्यक्ष पोखरेल बताउँछिन् ।

एकजना नर्सका भागमा ५५ बिरामी

अस्पतालमा नर्स अनिवार्य भए पनि उनीहरूको संख्यामा सरकारले नै ध्यान दिन सकेको छैन । अस्पताल र अस्पतालले दिने सेवा वृद्धि भइरहेका छन् । बिरामीको चाप बढ्दो छ तर त्यसअनुसार नर्स बढाउने काम हुन सकेको छैन । अस्पतालको बेड संख्यालाई लिएर हिसाब गर्ने हो भने वर्तमान अवस्थामा सरकारी सेवामा करिब २५ हजार नर्स आवश्यक छन् । तर, अहिले करिब एक तिहाइ अर्थात् आठ हजारको हाराहारीमा मात्र कार्यरत छन् । यो अन्तर कम गर्नका लागि स्वास्थ्य मन्त्रालयले न त पदपूर्ति गर्न सकेको छ, न तत्काल दरबन्दी नै थप्न चासो देखाएको छ ।

नेपालको कुल जनसंख्याको अनुपात हेर्ने हो भने हाल सरकारी सेवामा कार्यरत एकजना नर्सको भागमा करिब छ हजार बिरामी पर्ने गरेका छन् । सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो । स्वास्थ्य मन्त्रालयमा नर्सिङ महाशाखा नहुँदा अस्पतालमा नर्सको व्यवस्थापन, उनीहरुको वृत्ति विकास, योग्यता अनुसार कामको बाँडफाट र उचित सेवा सुविधाको व्यवस्था गर्न नसकेको संघकी उपाध्यक्ष पाण्डेको बुझाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सामान्यतः सघन उपचार कक्ष (आईसीयू) मा एक बिरामी बराबार एकजना नर्स हुनुपर्छ । अस्पतालको सेवा सिफ्टका हिसाबले तीन सिफ्ट हुँदा तीनजना नर्स चाहिन्छन् । त्यसैगरी शल्यकक्षमा एक बिरामी बराबर तीन, वार्डमा पाँच बिरामी बराबर एक नर्स हुनुपर्छ । तर, नेपालका सरकारी अस्पतालका वार्डमा एक नर्सले ५५ जनासम्म बिरामी हेर्नुपर्ने अवस्था छ ।

राजधानीका परोपकार प्रसूति तथा स्त्री अस्पताल (प्रसूति गृह), कान्ति बाल अस्पताल लगायतमा एक जनाले ५५ जनासम्म हेर्नुपरेको गुनासो त्यहाँ कार्यरत नर्सहरुले गरेका छन् । नाम उल्लेख नगर्ने शर्तमा प्रसूति गृहमा कार्यरत एक नर्स भन्छिन्, ‘धेरै जना नर्स यहाँ दैनिक ज्यालामा काम गर्छौं । वार्डमा एक जना नर्सले ५५ जनासम्म बिरामी हेर्नुपर्छ ।’

श्रम कानून अनुसार २ सय ४० दिन काम गरेपछि स्थायी गर्नुपर्छ । तर, प्रसूति गृह लगायतका नेपालका धेरै अस्पतालमा ७–८ वर्षदेखि दैनिक ज्यालामा काम गरिरहेका नर्स भेटिने गरेका छन् ।

निजी अस्पतालले सित्तैमा लगाउँछन् काम

बेड संख्याअनुसार नर्सको अन्तर्राष्ट्रिय मापदण्ड सरकारी अस्पतालले नै पूरा गर्न नसकेपछि निजीको मनोमानी चल्ने नै भयो । देशमा निजी लगानीमा स्वास्थ्य संस्था खुल्ने क्रम बढे पनि त्यसअनुसार रोजगारी नबढ्नुको मुख्य कारण सरकारले मापदण्डमा कडाइ गर्न नसक्नु हो । भोलेन्टियरका रूपमा नर्सबाट निःशुल्क काम लिएर बिरामीबाट चर्काे शुल्क असुलिरहेका निजी अस्पताल समस्या मुख्य जड बनेका छन् । ‘कामभन्दा पनि नर्सिङ सेवाका रूपमा हामीले अपनाएकाले अन्य क्षेत्रका कर्मचारीजस्तो काम ठप्प पार्न सकिँदैन,’ महाराजगञ्ज नर्सिङ क्याम्पसकी स्ववियू अध्यक्ष विमला धमला भन्छिन्, ‘यही कमजोरीको फाइदा अहिले धेरै अस्पतालले उठाइरहेका छन् ।’

सरकारी अस्पतालले नर्स र बिरामीको अनुपात नमिलाएका कारण धेरै नर्स बेरोजगार छन् । यसैले नयाँ नर्सलाई ‘भोलेन्टियर’का रूपमा विनापारिश्रमिक काममा लगाइरहेका छन् निजी अस्पताल । राजधानीको एक निजी अस्पतालमा ९ महिनादेखि भोलेन्टियरका रुपमा काम गरिरहेकी एक नर्स भन्छिन्, ‘काम नै नगरौं सिकेको बिर्सिएला भन्ने हुन्छ । काम पाइदैन ।’

निजी अस्पतालहरूमा त यो परिपाटी चल्यो नै, सरकारी अस्पतालले पनि यसलाई निरुत्साहित गरेका छैनन् । बरु सरकारी अस्पतालका प्रशासक उल्टै केही रकम घुस लिएर भोलेन्टियर रुपमा नर्सलाई काम लगाइरहेको बुझिएको छ । नर्स दियाना भण्डारी भन्छिन्, ‘हामीले नर्सलाई भोलेन्टियर रुपमा काम नलगाउन सवै अस्पताललाई पत्राचार गरेका छौं । तर, धेरैले टेरेका छैनन् ।’

उनका अनुसार निजी क्षेत्रबाट सञ्चालित कम नाम चलेका धेरै अस्पतालले त स्टाफका रूपमा अत्यन्तै कम र भोलेन्टियरका रूपमा बढीलाई काम लगाइरहेको पाइएको छ । उनले भनिन्, ‘नाम चलेका ठूला निजी अस्पतालले समेत नर्सलाई भोलेन्टियरका रूपमा काम लगाइरहेका छन् ।’

नर्सिङका लागि आउने सीमित अवसरमा समेत तोकेरै ‘भोलेन्टियर गरेको हुनुपर्ने’ शब्दावलीले सित्तैमा काम गर्न नर्सहरूलाई दबाब परेको बुझाइ नर्सिङ संघकी उपाध्यक्ष पाण्डेको छ । उनी भन्छिन्, ‘नर्सिङको पढाइ नै ‘प्य्राक्टिकल बेस्ड’ हुन्छ । त्यसैले भालेन्टियर जरुरी छैन । पढाइ पुगेन भने नर्सिङ शिक्षामा हेरेफेर गर्न सकिन्छ ।’

समस्याग्रस्त पेसा

बेरोजगारी र त्यसले सिर्जना गरेको भोलेन्टियर प्रथा र कार्यकक्षमा लैंगिक हिंसा मुख्य समस्या देखिए पनि नर्सिङ सेवाभित्र समस्याका चाङ छन् । नेपालमै बीएससी, बीएन, एमएससी र एमएनसम्मको पढाइ हुन्छ । तर, अस्पतालले नर्सहरूका योग्यताअनुसार पद सिर्जना गरेका छैनन् ।

जतिसुकै माथिल्लो तह अध्ययन गरे पनि पीसीएलकै तहमा काम गर्नुपरिरहेको बीएससी नर्स बिमला धमलाले बताइन् । उनले भनिन्, ‘योग्यताको कुनै अर्थ छैन । जति पढे पनि पीसीएल तहसरहकै जिम्मेवारी दिइने गरिएको छ । अस्पतालमा कार्यरत अन्य क्षेत्रको जस्तै नर्सको पनि तहगत संरचना हुनुपर्छ ।’

नर्स भण्डारीका अनुसार बाहिर हेर्दा मात्रै आकर्षक लाग्छ नर्सिङ पेसा । तर, कार्यालयभित्रका पीडा सुनाउने हो भने निकै वितृष्णा जगाउने खालको छ । जागिरका अवसर पाएकाहरू पनि सन्तुष्ट छैनन् । अहिले अस्पतालहरूले एकदमै न्यून पारिश्रमिक दिइरहेको नर्सहरूको गुनासो छ । राज्यले सम्पूर्ण क्षेत्रमा न्यूनतम पारिश्रमिकको व्यवस्था गरे पनि नर्सका लागि अस्पतालले त्यस्तो आधारभूत मापदण्ड बनाएका छैनन् । त्यसैले जागिरमा रहेका अधिकांस नर्सको पारिश्रमिक न्युनतम आवश्यकता परिपूर्ति हुने खालको नरहेको नर्स भण्डारी बताउँछिन् ।

‘सरकारले प्लम्बर तथा मजदुरको समेत न्यूनतम ज्याला तथा मासिक तलब तोकेको अवस्थामा व्यावसायिक शिक्षा लिएका दक्ष नर्स निःशुल्क काम गर्नुपर्ने बाध्यतामा परिरहेका छन्’ नर्सहरुका पक्षमा लडिरहेको एक संस्था एन्टिकरप्सन मुभमेन्टका अध्यक्ष पारुल क्षत्रीले भने, ‘यही अवस्थालाई मध्यनजर गर्दै नर्सको हकहितका लागि उक्त अभियानमा हमीले साथ दिएका हौँ ।’ आफूहरूले यो समस्यालाई उजागर गरेर विभिन्न समयमा प्रधानमन्त्रीलाई समेत ज्ञापनपत्रसमेत बुझाएको उनले स्मरण गरे ।

रातदिन खटेर अस्पतालको आय वृद्धि गरिरहेका नर्सको पीरमर्का अस्पताल सञ्चालक वा प्रशासकले बुझ्न सकेका छैनन् । अस्पतालका प्रशासकले नर्सका पीरमर्का महसुस नगरेकै कारण नर्सहरूको सौम्यता विद्रोहमा परिणत हुन थालेको छ । उनीहरू स्वस्फूर्त रूपमा संगठित भएर विरोध गर्न थालेका छन् । केही समयअघि उनीहरूले सामाजिक सञ्जालमा ‘से नो टू भोलेन्टियर’ अभियान चलाए । सामाजिक सञ्जालमै संगठित हुँदै राजधानी, पोखरा, चितवन, विराटनगर लगायतमा शान्तिपूर्ण विरोध प्रदर्शन गरे । नर्सिङ संघमा भेला भएर आन्दोलनका रणनीति बनाए ।

नर्सिङ सेवा र नर्सका हकहितका लागि लामो संघर्ष गर्नुपर्ने संघकी अध्यक्ष तारा पोखरेल बताउँछिन् । भोलेन्टियर प्रथाको उन्मुलन, न्यूनतम पारिश्रमिक १८ हजार रुपैयाँ हुनुपर्ने, अस्पतालमा कार्यरत हरेक नर्सले नियुक्तिपत्र पाउनुपर्ने, समयअनुसार स्थायी गर्ने व्यवस्था हुनुपर्नेलगायत नर्सका तत्कालिन माग हुन् ।

केही समयअघि मात्रै माथेमा आयोगले गरेको निःशुल्क शिक्षाको व्यवस्थाअनुसार सोही तहको नर्सिङ शिक्षा पनि निःशुल्क हुनुपर्ने, बेड रेसियोअनुसार नर्सका दरबन्दी खुलाउनुपर्ने, रोजगारीको क्षेत्र विस्तार गर्नुपर्ने आदि माग पनि उनीहरूले सँगसँगै अघि बढाइरहेका छन् । अहिलेको मुख्य माग संघीय संरचना अनुसार केन्द्रमा नर्सिङ महाशाखा र प्रदेशमा शाखा हुनुपर्ने छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको अपेक्षा नर्सिङ सेवाविना गर्न सकिँदैन । अहिले नेपालमा स्वास्थ्य सेवाको गुणस्तर कमजोर देखिनुमा यो सेवाको यथोचित मूल्यांकन नहुनु मुख्य कारण भएको पोखरेलको अनुभव छ । ‘रातदिन बिरामीको सेवामा त नर्स खटिन्छन्, नर्सले उनीहरूसँग गर्ने व्यवहारअनुसार बिरामीले अस्पतालको मूल्यांकन गर्छ,’ उनी भन्छिन् ।

अहिले एउटै नर्सले कम्तीमा ५५ जना बिरामी हेर्नुपरिरहेको धेरै नर्सको गुनासो छ । अस्पताल आएका बिरामीहरू हरेक पल सेवाको अपेक्षा गर्छन् । तर, एउटामात्रै नर्सले सबैतिर नभ्याउने भएकाले बिरामीले अपेक्षाकृत उपचार पाइरहेका छैनन् । यसकारण पनि सरकारले अनिवार्य रूपमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार नर्स नियुक्त गर्न सबै अस्पताललाई दबाब दिन जरुरी देखिन्छ ।

पत्रकार खड्का स्वास्थ्य खबर पत्रिकाका वरिष्ठ संवाददाता हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: