तराईका महिला मतदाताः आफ्नै विवेकले भोट हाल्न पाउँदैनन्


प्रकाशित मिति :2017-12-05 15:31:11

-सुरेश बिडारी-

वीरगञ्ज । नेपालको संविधानले मतदान गर्न पाउँनु हरेक नागरिकको मौलिक अधिकार हो भनेको छ । तर पनि तराई मधेसका महिलाहरूले आफ्नो इच्छा र चाहना अनुसार मत खसाल्न पाएका छैनन् । पुरुष प्रधान नेपाली समाजमा महिलाहरू अझैं पनि घर बाहिरका गतिविधिका बारेमा बेखबर छन् । घरभित्र चुलो चौकामा मात्र सिमित महिलाहरू उम्मेदवारका बारेमा अनभिज्ञ छन् । जसले गर्दा महिला मतदाताहरू स्वविवेकीय अधिकारबाट वञ्चित छन् । परिवारका अन्य सदस्यको प्रभाव र दबाबमा मत खसाल्न बाध्य छन् ।

पर्सा जिल्लामा २ लाख ८९ हजार ५४ जना मतदाता छन् । जसमध्ये १ लाख ६४ हजार ६ सय २९ पुरुष र १ लाख २४ हजार ४ सय ९ जना महिला तथा १६ जना तेस्रोलिङ्गी मतदाता छन् । मंसिर २१ गते बिहिबार हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन नजिकिदै जादा मतदाताहरू मतदान गर्न उत्साहित देखिएका छन् । तर महिला मतदातामा पुरुष मतदातामा जस्तो उत्साह छैन । किनकी अधिकांश महिला मतदाता राजनीतिबाट धेरै टाढा छन् ।

पारिवारिक प्रभाव र दबाबमा भोट

वीरगञ्ज माईस्थानकी प्रतिमा देवीले श्रीमानले जुन उम्मेदवार र पार्टीलाई भोट हाल्न भन्छन्, त्यसैमा मतदान गर्दै आएकी छन् । ‘घर बाहिरका कुराको बारेमा हामीलाई धेरै जानकारी हुँदैन । राजनीतिक कुरा त झन् केहि पनि थाहा हुँदैन भन्दा पनि हुन्छ । श्रीमानले जे भन्छन्, त्यसै गर्ने हो ।’ उनले भनिन् ‘आसन्न प्रदेश तथा प्रतिनीधिसभा निर्वाचनमा श्रीमानले जुन उम्मेदवार र दललाई भन्छन्, उसैलाई भोट दिन्छु ।’ परिवारको सहमति भन्दा बाहिर भोट नहाल्ने पनि उनले बताइन् ।

वीरगञ्ज मूर्लिकी उमा देवी पनि आफ्नो स्वविवेकले मतदान गर्दिनन् । उनी आफ्नो श्रीमानले भनेकै ठाउँमा मत दिने गरेको सुनाउँछिन् । ‘उम्मेदवार र चुनाव चिन्हको बारेमा जानकारी हुँदैन, घर परिवारको खुसीका लागि उनीहरूले जुन ठाउँमा भन्छन्, त्यहि ठाउँमा भोट हाल्ने गरेको छु ।’ उनले भनिन्, ‘बालबच्चा र श्रीमानले मत हाल्न सिकाउँछन् । सिकाए अनुसार नै गएर भोट हालेर आउँछु ।’

राजनीतिमा चासो छैन

स्थानीय तहमा मतदान गरेका कारण आसन्न प्रदेश र प्रतिनीधिसभाको निर्वाचनका लागि मतदान गर्न महिलाहरू उत्साहित देखिए पनि आफ्नो क्षेत्रबाट उठेका उम्मेदवार, तिनको दल र चुनाव चिन्हको बारेमा उनीहरूलाई जानकारी छैन । राजनीतिक कार्यक्रमहरूमा कमै महिलाहरू मात्रै सहभागी हुने गरेका छन् । त्यसैले उनीहरूले घरका परिवारका अन्य सदस्य विशेषगरि श्रीमानको प्रभाव र दबाबमा परेर मतदान गर्ने गरेको कतिपयको बुझाइ छ ।

एक त घरायशी कामले महिलालाई फुर्सत हुँदैनन् । त्यसमा पनि राजनीतिक कुरा भनेपछि महिलाहरू खासै रुचि देखाउँदैनन् । पुरुष सदस्य नभएका घरका महिलाहरू त झन् छर छिमेकीको इसारामा भोट दिन्छन् । वीरगञ्ज डबरीटोल भुटनदेवी माई निवासी एकल महिला सलेया खातुनलाई मत खसाउनका लागि छिमेकीको भर पर्नुपर्ने बाध्यता छ । ‘म एकल हो । श्रीमान हुनुहुन्न । परिवारको अभिभावक म आफै हो । बालबच्चाहरू साना छन्’ उनले भनिन् । ‘छर छिमेकमा कुरा हुन्छ, उनीहरूले जुन उम्मेदवार राम्रो छ भन्छन्, उनीहरूलाई नै भोट दिन्छु । ’

वीरगञ्ज कुम्हालटोलकी राधिका देवीलाई पनि उम्मेदवार र पार्टीको बारेमा केहि जानकारी छैन । ‘म कुनै पार्टीमा पनि आवद्ध छैन । को राम्रो को नराम्रो थाहा छैन । यताउति कुरा गरेर जो राम्रो छ भन्ने थाहा हुन्छ, उसैलाई मत दिने हो’ उनले भनिन् ।

पुरुष नै निर्णायक

निर्णायक तहमा सधैँ पुरुषहरू नै रहँदै आएकोले यस्तो समस्या देखिएको राष्ट्रिय महिला आयोगका पूर्व अध्यक्ष शेख चाँद तारा बताउँछिन् । ‘राजनीतिका बारेमा चासो राख्ने महिलाहरूले पनि अरु महिलाहरूलाई राजनीति र मतदानको बारेमा शिक्षित बनाउने प्रयत्न गरेका छैनन् । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको मौलिक अधिकार भएपनि महिलाहरूको मौलिक अधिकार सँधैजसो खोसिँदै आएको छ ।

महिलाहरूलाई निर्णय गर्ने अधिकार अझै मिलेको छैन । सानो छँदा बुवा, दाई भाइ र विवाह पछि श्रीमान नै निर्णायक हुन्छन् । त्यसैले आफ्ना मत स्वविवेक प्रयोग गरेर खसाल्ने भनिए पनि महिलामा यो अधिकार खोसिएको मैले पनि महसुस गरेको छु ।’ चाँद तारा भन्छिन् ‘अरुले जे भन्यो त्यो मान्ने बानी नै परेको छ महिलाहरूमा । आत्म विश्वास नै देखिन्न । आफूले रोजेको भन्दा उनीहरूले भनेकै व्यक्ति नै राम्रो हो कि भन्ने बुझ्छन् । किन भने राजनीतिक पार्टी र उम्मेदवारका बारेमा उनीहरू अनभिज्ञ छन् । अरुलाई नै सोध्नुपर्ने जस्तो भइसकेको छ । पहिला त महिलाको नाममा अरुले नै भोट खसाल्ने चलन थियो तर पछिल्लो समयमा बिस्तारै केहि सकारात्मक परिवर्तन देखिएको छ ।’

शिक्षित महिला पनि बेखबर

समाजमा शिक्षा र चेतनाको कमीका साथसाथै महिलाहरू घरको चुलो चौकामा व्यस्त रहने गरेकोले पनि यस्तो समस्या देखिएको उनको बुझाइ छ । ‘पढेलेखेका महिलालाई पनि प्रत्यक्ष र समानुपातिकको बारेमा थाहा छैन । राजनीतिक दल र तिनका चुनावी एजेन्डाको बारेमा जानकारी नै छैन् । नयाँ दलको त परको कुरा काँग्रेस एमाले माओवादीको सिद्धान्त र उनीहरूले गरेका कामका बारेमा पनि तराई मधेसका महिलाहरू बेखबर छन्’ उनले भनिन् ।

उनको बुझाइमा चुनावी सभा सम्मेलनमा पनि महिलाहरू खासै आउँदैनन । आईहाले पनि धेरै समय बस्दैनन् । राजनीति के हो ? एउटा मतको कति महत्व हुन्छ भन्ने बुझाउन सक्नुपर्छ । यसमा कुनैपनि राजनीतिक दल गम्भीर भएका छैनन् ।

मतको ठेक्का लिएर रकम लिने विकृति मौलाउनुमा महिला मतदाता शिक्षित र सचेत नहुनु पनि मुख्य कारण भएको उनले बताइन् । ‘मतदान सही व्यक्तिलाई हुनुपर्छ, गाउँ समाजको विकासका एजेन्डा मात्रै मात्रै नभएर प्रदेश र केन्द्रमा यस क्षेत्रको प्रतिनीधित्व प्रभावकारी गर्न सक्ने क्षमतावान व्यक्ति हुनुपर्छ । गलत व्यक्तिलाई मत जाँदा पछि आफैंलाई अप्ठेरो अवस्था आउन सक्छ । यसबारे महिलाहरू बेखबर छन् ।’ उनले भनिन्, ‘महिलाहरूले अरुको भर परेर मतदान गर्ने भन्दा आफैले कसरी भोट हाल्न सकिन्छ भन्ने बारे सोच्नुपर्छ । सँगसँगै राज्यका निकायहरूले घरायसी कामकाजमा मात्र सिमित हुने महिलाहरूलाई सचेत बनाउन अभियान सञ्चालन गर्नुपर्छ ।’

बढ्दैछ सचेतना

नागरिक समाजका अगुवा एवं अधिवक्ता पन्नालाल गुप्ता पनि महिलाहरूले पूर्ण रुपमा स्वविवेक प्रयोग गरेर मतदान गर्न सक्ने अवस्था नरहेको बताउँछन् । ‘राज्यले महिलाहरूलाई संवैधानिक रुपमै विशेषाधिकार दिएको छ । स्थानीय तहमा पनि प्रमुख र उपप्रमुख मध्ये एउटा उम्मेदवार महिला नै हुनुपर्ने, दलित महिला सदस्य र महिला सदस्य अनिवार्य दिएको छ । पहिलेको भन्दा त धेरै परिवर्तन भएको अवस्था छ ’ उनले भने ‘अपेक्षा गरे अनुसार आफ्नै स्वविवेक प्रयोग गर्ने हैसियत र वातावण पूर्ण रुपमा बनिसकेको छैन् ।’

विस्तारै महिलाहरूमा पनि परिवर्तन देखिएकोले यसको चाँडै अन्त्य हुने गुप्ताले बताए । ‘पहिला भन्दा महिलाहरूमा जागरुकता आएको छ । घुम्टो प्रथा बिस्तारै हटिराखेको छ । महिलाहरू आफैं मत माग्न जाने अवस्थामा पुगेका छन् ।’ उनले भने ‘छिट्टै महिलाहरूले आफ्नो मत आफैं दिने अवस्था बन्छ भन्नेमा म विश्वस्त छु ।’

गोप्य मतदात बारे ज्ञान छैन

तराईमा मतदाता शिक्षाको अभाव छ । आफूले गोप्य रुपमा गरेको मतदानका बारेमा आफू बाहेक अरुलाई थाहा नहुने कुरामा समेत तराईका महिलाहरु जानकार छैनन् । मत दिएको कुरा सबैले थाहा पाउँछन् भन्ने भ्रम पालेका हुन्छन् । मतदान स्थलमा कसले कसलाई भोट दियो भन्ने कुरा सार्वजनिक नहुने र गोप्य रहने बारेमा उनीहरु अनभिज्ञ छन् । यो विषयमा ढुक्क र जानकार हुन सके महिलाहरुले स्वविवेकले उम्मेदवारलाई भोट हाल्न सक्छन् । जसले गर्दा परिवारमा हैकम चल्ने व्यक्तिले भनेको दल र उम्मेदवारको चिन्हमा मात्रै भोट हाल्न उनीहरु बाध्य हुने छैनन् ।

पत्रकार विडारी वीरगञ्जमा बसेर पत्रकारितामा सक्रिय हुनुहुन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

विभेदकारी नागरिकताका प्रावधान खारेज गर्न माग

–महिला खबर– ललितपुर । कानूनमा रहेका विभेदकारी नागरिकताका प्रावधान खारेज गर्न अधिकारकर्मीहरुले माग गरेका छन् ।

बोक्सीको प्रमाणपत्र माग्दै लिरा राजधानीमा

–इन्द्रसरा खड्का– यदी बोक्सी हुन्छ र म बोक्सी नै हो भने मलाई सरकारले प्रमाणपत्र दिनुपर्छ ।

महिला सुरक्षाका लागि आत्मरक्षा

हार र जीतका लागि खेलिने खेल भन्दा महिलालाई संभावित हिंसाबाट जोगिन सिकाउने आत्मरक्षा सीप आजको

आमाको नाममा नागरिकता दिन माग (फोटो फिचर)

–महिला खबर– ललितपुर । नागरिकता विधेयक संशोधनको माग गर्दै काठमाडौंमा दबाव र्‍याली प्रदर्शन गरिएको छ

‘प्रो. डा. शान्ता थपलिया महिला सशक्तिकरण अवार्ड’ मोहनालाई

बाँकेको निम्न वर्गीय मुस्लिम परिवारमा जन्मिएकी मोहनाले उत्पीडित र उपेक्षामा परेका वर्ग र समुदायको न्यायका

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: