समानुपातिकको दुरुपयोग


प्रकाशित मिति :2017-11-21 12:51:53

-दुर्गा कार्की-

पछाडि पारिएका, राज्यको शासन प्रक्रियाबाट टाढा भएका र सिमान्तकृत समुदायलाइ नीति निर्माणको तहमा सहभागी गराउने उद्देश्यले आमचाहना अनुसार नेपालमा मिश्रित निर्वाचन प्रणालीको वकालत गरियो । यी समुदायहरूलाई राज्यको शासन प्रणालीमा पहुँचको व्यवस्था गर्न राज्यले मिश्रित निर्वाचन प्रणाली अपनाएको हो ।
केही समय अघि पुर्वसभामुख ओनसरी घर्तीले कुराकानीका क्रममा भन्नुभयो ‘मिश्रित निर्वाचन प्रणालीका लागि महिलाहरूको पनि निकै दवाव र माग पनि थियो, तर समानुपातिक प्रणालीले महिलालाई आत्मनिर्भर हैन परनिर्भर बनाउने भयो’ । माओवादीले उहाँको नाम समेत समानुपातिक सूचिमा राखेको छ ।

मंसिर १० र २१ मा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि जम्मा ५ हजार १८४ जना उम्मेदवार छन् । यी मध्ये ३८६ महिला अथार्त सात प्रतिशतमात्रै प्रत्यक्ष निर्वाचनमा चुनावी मैदानमा छन् । महिलाको यो संख्यामा पनि राज्य संचालनमा प्रत्यक्ष नेतृत्व गरेका र गर्ने दलहरूबाट निकै कम छन् । ठूला दलको तुलनामा साना दलहरूले महिलालाई धेरै टिकट दिएका छन् भने स्वतन्त्र रुपमा पनि महिला उठेका छन् ।

संविधानले संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता हुनैपर्ने व्यवस्था गरेको छ । माथिको तथ्याङ्क अनुसार सात प्रतिशत महिलाको उम्मेद्वारी हो, जितेर कति आउँछन् त्यो भन्न सकिने अवस्था छैन । त्यसैले दलहरूले यो कोटा समानुपातिक तर्फबाट पुर्ति गर्ने प्रयास गर्ने छन् ।

संविधानमा समानुपातिक तर्फको उम्मेदवारी दिँदा पुरा गर्नुपर्ने प्रावधान यस्तो छ, ‘समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिंदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम,पिछडिएको क्षेत्र समेतबाट बन्द सूचीका आधारमा प्रतिनिधित्व गराउने व्यवस्था संघीय कानून बमोजिम हुनेछ । त्यसरी उम्मेदवारी दिंदा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिनु पर्नेछ ।’

संविधानको यो व्यवस्थाले स्पष्टरुपमा सिमान्तकृत समुदाय जसले प्रत्यक्ष निर्वाचन लड्नका लागि जनाधार र क्षेत्र बनाउन सक्ने अवस्था छैन वा सक्दैनन्, तर संसदमा उनीहरूको उपस्थिति अति महत्वपूर्ण छ, उनीहरूलाई निती निर्माणको तहमा सहभागी गराउने व्यवस्था गर्न संविधानले यो व्यवस्था गरेको हो र त्यही अनुसारको कानुन बनाउन निर्देश गरेपनि अहिलेको अभ्यासमा समानुपातिक निर्वाचन प्रणाली क्षतिपुर्तिका लागि धेरै प्रयोग गर्न खोजिएको छ । जुन महिलालाई प्रतिस्पर्धी बनाउनका लागि ठुलो अवरोध हुनेछ ।

मनोनयन दर्ता गर्नु केही समयअघि असोजको अन्तिम हप्ता अन्तर्पार्टी महिला सन्जालले निर्वाचनमा मतदाताको मन जित्नका लागि महिला उम्मेदवारले बनाउनुपर्ने रणनीतिका बारेमा छलफल गर्न काठमाडौंमा आयोजना गरेको कार्यक्रममा जिल्लाबाट थुप्रै महिला सहभागी थिए र धेरैजसो प्रत्यक्ष निर्वाचनका आकांक्षी थिए । त्यहाँ उनीहरूले उठाएका प्रश्न, राखेका जिज्ञासा र महिला नेताहरूसँग मागेको सहयोग उत्साहजनक थियो । जसै प्रत्यक्ष निर्वाचनमा उम्मेदवार महिलाको नाम निकै कम आयो, मैले त्यो दिन ती महिलामा देखिएको उर्जाको कल्पना गरें । शशी श्रेष्ठ, उमा रेग्मीहरूले ती युवा महिलालाई थपेको उत्साह सम्झें ।

कार्यक्रममा निर्वाचन आयोगका पूर्व प्रमुख आयूक्त नीलकण्ठ उप्रेतीले महिलालाई निर्वाचनमा प्रतिस्पर्धा गर्न अझै प्रोत्साहन गरिरहनुभएको थियो उहाँले आफ्नो प्रस्तुति मै बिशेष जोड दिएर भन्नुभएको थियो ‘सबै महिलाले आफैँमा रहेको लघुताभाषलाई सँधैका लागि त्यागीदिउँ ।’

के साँच्चै नै महिलाले आफू कमजोर भएको लघुताभाष पालेकै कारण प्रत्यक्ष निर्वाचन मार्फत प्रतिस्पर्धामा जान डराएर समानुपातिकबाट सुरक्षित हुन खोजेका हुन् कि ? वा उनीहरूले भन्दै आएको जस्तो राजनीतिक दलको नेतृत्व बाहिर बोल्दा जति लैंगिकमैत्री देखिन्छ भित्र उनीहरूमा त्यति नै जब्बर पितृसत्तात्मक सोच छ, जसले महिला प्रतिस्पर्धी भएको देख्न सक्दैन ।

संविधान सभामा प्रत्यक्ष निर्वाचनमा जितेर आएका महिला, राजनीतिमा आफ्नो भुगोलमा दह्रो उपस्थिती बनाइ स्थापित भएका युवा महिलाले समेत समानुपातिकमै आफ्नो नाम भएकोमा चित्त बुझाए । समानुपातिकमा नाम भएका ओनसरी घर्ती, राम कुमारी झाँक्री, नविना लामा जनजाति भएपनि उनीहरू आफ्नो क्षेत्रमा बलियो उपस्थिती बनाएका महिला हुन् । पुष्पा भुषाल पहिलो संविधान सभामा प्रत्यक्ष निर्वाचन जितेर आएकी हुन् भने चितवनकी उमा रेग्मी प्रतिनिधि सभा मै फरक क्षेत्र गोरखाबाट विजयी भएकी हुन् । यी दुबै जना यसपाली समानुपातिकमा सुरक्षित हुन खोजेका छन् ।

राजनीतिमा आफ्नो क्षेत्रमा बलियो स्थान बनाएका महिला समेत समानुपातिकमा आएपछि संविधानले समानुपातिक निर्वाचनका लागि व्यवस्था अनुसार प्रावधानको मर्म अनुसार उसले कल्पना गरेका पिछडिएका दलित, जनजाति र सिमान्तकृत समुदायका महिलाको सहभागिता यो तहमा कहिले हुन्छ ?

जनसंख्याको आधारमा सवै जातजाति, समुदाय र वर्गको समान सहभागिताका लागि राखिएको समानुपातिक व्यवस्था दुरुपयोग भएको भन्न मिल्छ कि मिल्दैन ?

राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीलाई संविधानले व्यवस्था गरे अनुसार कोटा पुर्याउन र क्षतिपुर्तिका लागि प्रयोग गर्दा जो हकदार छन् उनीहरू र सुविधा पाउने महिलाबीच द्वन्द्वको अवस्था नआउला भन्न सकिन्न ।

यसैगरि अर्को डर लाग्दो विकृति पनि यो व्यवस्थाको दुरुपयोग गर्दै सुरु भएको छ । पार्टीमा कुनैपनि योगदान नभएका, तर निती नियम आफ्नो अनुकूल बनाउनका लागि प्रभाव पार्ने नियतसहित संसदमा पुगन लालयित ठुला ठुला व्यापारी, उद्योगपति र तस्करहरूसँग पैसा लिएर समानुपातिकको टिकट बेच्ने अत्यन्तै गलत अभ्यास भइरहेको छ, जुन अभ्यासले सिमान्तकृत र पहुँच नभएका भन्दा शक्तिशालीको हालीमुहाली गर्न सक्नेहरूलाई नै धेरै फाइदा पुगेको छ । यसकारणले चुनावमा विकृति बढेको छ । समानुपातिक निर्वाचन प्रणालीलाई दुरुपयोग गरिएको छ र महिलालाई प्रतिस्पर्धात्मक बनाउन अवरोध गर्ने परिस्थिति सिर्जना भएको छ ।

समानुपातिकबाट निर्वाचित भएर आउने जनप्रतिनिधिको हैसियत प्रत्यक्ष चुनाव जितेर आउनेकोे जत्तिकै भनिएपनि त्यहाँ समेत बिभेद गरिएको छ । सरकारले उपलब्ध गराउने संसद विकास कोषमा प्रत्यक्ष निर्वाचनबाट आउने सांसदलाई आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न ३ करोड रुपैयाँ दिन्छ भने समानुपातिकबाट आउनेको ५० लाख रुपैयाँमात्रै छ । यसले समेत निर्वाचनका बेला देखिने विकृतिलाई झन टेवा पुर्याएको देखिन्छ ।

यी प्रसंग उल्लेख गर्दै गर्दा यहाँ समानुपातिक निर्वाचन प्रणलीको बिरोध गर्न खोजिएको होइन,तर आम नागरिकको माग दवाव अनुसार यसको परिकल्पना संविधानले जसरी गरेको छ त्यसरी नै व्यवहार र अभ्यासहरू हुन् भन्नका लागि मात्रै ध्यानाकर्षण गर्न खोजिएको हो ।

राजनीतिमा लामो योगदान दिएका र समानुपातिक सूचिमा परेका अधिकांश महिलाहरू भन्छन्, ‘चुनाव महगों भयो, हामीसँग यति धेरै पैसा खर्च गरेर चुनाव लड्ने हैसियत छैन ।’

महिला जसले वर्षौंदेखि पार्टीमा इमान्दारीपूर्वक योगदान दिएका छन्, अनियमिततामा उनीहरू संलग्न छैनन्, उनीहरूले कल्पना गर्नै नसक्ने खर्च चुनावका लागि खर्चनु महिलाको बुता बाहिरको काम हो । कतिपय पुरुषहरू समेत चुनावमा पैसा खर्च गर्न नसक्ने भन्दै मैदानबाट बाहिरिएको पनि सुनिन आएको छ भने पार्टीको प्रत्यक्ष निर्वाचनमा आउन चाहने महिलालाई समेत पार्टी नेतृत्वले यति पैसा चाहिन्छ खर्च गर्न सकिन्छ ? भन्दै प्रश्न गर्ने गरेका कुरा बाहिरिएका छन् ।

यदि चुनावमा हुने ‘धन र डन’ का कारण नै महिलाको प्रतिस्पर्धी क्षमता विकासमा अवरोध बनिरहेको छ र उनीहरू समानुपातिकमा चित्त बुझाउन बाध्य भएका हुन् भने अब महिलाको लडाइ यस्तो विकृतिविरुद्ध पनि हुनुपर्ने हो की ?

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: