पितृसत्तात्मक लोकतन्त्र


प्रकाशित मिति :2017-10-27 14:53:43

“एउटा पहाडको टुप्पामा पुगेपछि मात्रै अझैं धेरै पहाड उक्लिन बाँकी छ भन्ने थाहा हुन्छ” भन्ने नोबेल् शान्ति पुरस्कार बिजेता मण्डेलाको भनाइ आज मलाई महिला आन्दोलनको सन्दर्भमा सबभन्दा बढी याद आइरहेको छ | अझ भनौं प्रदेशसभा र प्रतिनिधीसभाको निर्वाचनमा मनोनयन दर्ता गर्न पार्टीबाट (अपवाद बाहेक) महिलाले टिकट पाउन नसकेको बिषयले झन् सान्दर्भिक लागिरहेको छ | नेपालका महिलाहरुले लोकतन्त्र, न्याय र शान्तिका लागि लडेको इतिहास लामो छ | कहिले भूमिगत भएर, कहिले भूमिमाथि रहेर, कहिले घरभित्र रहेर त कहिले युद्ध मैदानमा | देशको रक्षा, स्वाभिमानलाई बचाई राख्न देशको ५१ प्रतिशत जनसंख्याले कुनै कसर बाँकी राखेका भए देश अहिले जुन अवस्थामा छ, त्यो अवस्थामा आइपुग्दैनथ्यो भन्ने सबैले बुझेकै छन् | लड्दै, भिड्दै, जुध्दै, आँफुले आफैंलाई संयमित बनाउँदै, आफूसँगै हिड्नेलाई माया गर्दै, जोगाउँदै, हुर्काउँदै महिलाहरूले आफूसँग हिड्न लाएक बनाए | समस्या पर्दा जीवन बचाए (जीवित राखे), नेताहरूले गरेको सानो काममा पनि खुसी मनाए | उनीहरूका भाषणमा घन्टौ ताता घाममा बसेर ताली पड्काए | आफ्नो दुधे बालकलाई पन्छाउदै, आफुलाई गरेको हेला, सीमान्तीकरण, बेइज्जतिलाई पनि देखेको नदेखे गरि, एकान्तमा गएर दुइ थोपा आँशु पिएर भएपनि देश लोकतान्त्रिक बनाउनुपर्छ भनेर महिलाहरू डटीरहे | पंचायत वा राजतन्त्र जस्ता व्यवस्थाले उनीहरुलाई हल्लाउन सकेन | हजारौं महिलाको साथ, योगदान र बलिदानका कारण देश अहिले ‘संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल’ भएको छ |

 डा. रेणु अधिकारी

देशमा हिजो राजाले नजरबन्द बनाएर घरभित्र थुनेर राखेका मानिसहरु नेता बनेका छन् | उनीहरू देशमा संसारकै राम्रो संविधान ल्याउन सफल् भएका छौँ भनेर संसार भर डिंग हान्दै हिडेका छन् | नेताहरूको हैसियतले होस् वा राज्यको नेतृत्व लिने सरकारका हैसियतले, संसार भरमा यिनीहरुले हाम्रो संविधानमा महिलाको सहभागिताको प्रावधान, यसको सामवेशी चरित्र तथा देश र समाजको रुपान्तरण गर्ने प्रतिबद्धताका बारेमा लामो भाषण गरेर नै वाहवाही कमाएका छन् | संविधानमा लेखिएको महिला सहभागिताको प्रावधान यिनीहरुलाई खाना पुग्ने सामल जम्मा गर्ने भाँडो बनेको छ सायद | सबैको दिमागमा अझैं ताजा होला भन्ने विश्वास गर्दै लेख्दै छु, संविधानमा भएका यी प्रावधान त्यसै आएका होइनन् | समुदाय तहदेखि संविधानसभा भित्रसम्म महिलाहरुले यसका लागि समय, भावना, श्रोतको लगानीका साथै संघर्ष गरेका छन् | कहिले उत्तरको गुलियो त कहिले दक्षिणको रसिलोमा भुलिने नेताहरुलाई खबरदारी गरेका छन् | कहिले नागार्जुन, कहिले महाराजगंज, कहिले बुदनिलकण्ठ, कहिले लाजिम्पाट त कहिले बालकोट जस्ता विभिन्न ठाउँमा बस्नेहरुको बोलि नागरिकको अधिकारमा निशेधिकरण, चलेका/ चलाईएका गोलि, तिनकै कारणले उत्पन्न नाकाबन्दी जस्ता विषम परिस्थितिलाई भोग्दै/छिचोल्दै महिलाहरू अगाडि बढेको आन्दोलनको कारण नै हुन् | नाना, छानाविहीन व्यक्तिहरुको नाममा रहेको श्रोत एकछत्र यिनीहरुले उपभोग गर्दा पनि लोकतन्त्रलाई असर पर्न सक्छ, केहि समय खपौँ भनेर खपेकै कारण यो संविधान आएको हो भन्नुमा कुनै आपत्ति हुन्न होला |

संविधान (अझैं ३० प्रतिशत जनताले आफ्नो मान्न सकेको छैन) बनेपछि समाज बिस्तारै अगाडि बढ्ला, नेपाली जनताले आफ्नो भाग्य आफै लेख्ने मौका पाउलान्, त्यसपछि आवश्यकता अनुसार परिवर्तन पनि हुनसक्छ भन्दै नेपाली महिलाले आफूलाई पूर्ण नागरिक नमानेको वर्तमान संविधानलाई आत्मसात गर्दै आगाडी बढेका हुन् | त्यसरी अगाडि बढ्नका लागी संविधानमा भएका धेरै प्रगतीशील प्रावधानले सघाएका हुन् | ति मध्ये, १. महिला अधिकारलाई मौलिक अधिकारको रुपमा स्थापित गरिएको २. संविधानको धारा ८४(८) महिलालाई राज्यको हरेक संरचनामा ३३ प्रतिशत राख्नु पर्ने तथा धारा ८६ (२) (अ)  अनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा ८ जना महिला हुनै पर्ने प्रावधानका कारण अहिले सम्म दोस्रो दर्जामा राखिँदै आएका महिलाहरू स्थितिमा परिवर्तन हुन् सक्ने विश्वास जगाएका हुन् |

बाह्र वर्षमा खोला पनि फर्कंछ भन्छन् त्यसैले संवैधानिक प्रावधान यस्तो भै सकेपछि त कसरि हिजो आफूसंगै हिंडेका, आफूले नै नेता बनाएकाहरुले बेइमानी गर्लान र ? भन्ने महिलाहरुलाई पनि लागेकै हो | देश संवैधानिक राजतन्त्रात्मक व्यवस्थादेखि लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा आई पुग्दासम्म धेरै पटक यी नेताहरुबाट धोखा न भएको भने होइन | तै पनि ‘राज्यको सम्पूर्ण पुनर्संरचना गर्ने बखतमा त यिनीहरुले कसरी संवैधानिक व्यवस्था नाघ्न सक्लान ?’ भन्ने महिलाहरुलाइ लागेकै हो | पैसा र सत्तामा पुगेर राज्यको श्रोत दोहन गर्ने बानि परेपछि यी नेताहरु महिला र पाखा पारिएका समूह र ति समूहभित्र पनि महिलालाई नेतृत्व दिन तयार छैनन् भन्ने संकेत भर्खर सम्पन्न स्थानीय निर्वाचनले दिएको पनि हो | तर पनि आफ्नो पार्टीप्रति आस्थावान तथा नेतृत्वलाई सम्मान (पितृसत्तात्मक सामाजिक संरचना र त्यसैका सामाजिकीकरणका हुर्केका कारण) गर्ने बानी परेका राजनैतिक पार्टी भित्रका महिलाहरुले उनीहरुलाई स्थानीय तहको निर्वाचनमा महिलाले ल्याएको भोटको संख्या देखेर भएपनि सुर्धिन्छन् कि भनेर शंकाको सुबिधा दिएकै हुनुपर्छ | त्यसरी राजनीतिक नेतृत्व माथि सदा झै भरोशा गर्न नेताहरूका भाषण, पार्टीले तयार गरिएका घोषणापत्रमा लेखिएका सोचहरुले पनि हुनसक्छ |

महिलाहरु सबै खाले शोषण र दमनबाट मुक्त नहुँदासम्म कुनै पनि देशले स्वतन्त्रता प्राप्त गर्न सक्दैन भन्ने नेल्सन मण्डेलाको भनाइ हाम्रा नेताहरुले पनि पढेकै होलान् | झन् बामपन्थी नेताहरुले यसमा थप गर्दै हजारौ पटक लिङ्ग, वर्ग, धर्म, जतीयता जस्ता सामन्ती व्यवस्थाले शोषण गर्नका लागि प्रयोग गरिरहेको विभेद गर्ने औजारहरुबाट मुक्ति नहुँदासम्म हामी स्वतन्त्र हुन सक्दैनौ | मुक्त हुन सक्दैनौं भनेर गरेका हजारौ भाषणहरु जनताको मन, मस्तिस्कमा सुरक्षित होलान् | प्रमाण नै पेश गर्नुपर्यो भने धेरै मिडिया घरहरुबाट पनि ल्याउन सकिन्छ | यसमा थप यिनै नेताहरुद्वारा अबको काम भनेको देशलाई आर्थिक रुपले अगाडि बढाउने हो, सामाजिक रुपान्तरण गर्ने हो | समाजका सबै तह र तप्काबाट सबै खाले गरिबी र विभेद हटाउने हो भनेको पनि सुनिएकै हो | यिनीहरुका घोषणापत्रले यिनै कुराहरु उल्लेख गरेकै छन् | एउटा साधारण व्यक्तिलाई पनि यसरी जनताका माझ सयौ पटक भट्याउनेहरुले संविधानलाई नै लत्याउने काम त अलि नगर्लान कि ? भन्ने लागेको हुनुपर्छ |

तर के गर्ने ? गुण्डा राज्य स्थापित गरियो भने आफू तथा आफ्ना सात पुस्तालाई पुग्ने गरि कमाउन पाइन्छ, देशलाई दोहन गरेर नेपाली जनता एउटा सिटामोल खान नपाएर मरेका बेला आफू अमेरिका जापान, सिंगापुर गएर उपचार गराउन पाइन्छ भन्ने लागेपछि नेताहरुले बोली, सिद्धान्त र संविधान लत्याउन केहि लाग्दैन भन्ने जनताले बुझ्नु पर्नेरहेछ | यिनीहरु कै पार्टीभित्र भएका महिलाहरुले पनि बुझ्नुपर्ने हो | त्यसमा पनि अहिले सबै बाम पन्थीहरु मिलेर ठुलो भएका वामपन्थी पार्टीहरुका नेताहरुले किन कसैलाई सम्मान गर्ने ? अब यिनीहरुलाई कस्ले छुने ?

 संविधान भन्दा माथि हुन खोज्दा हिजो जनताले राजालाई ठेगान लगाएकै हुन् | आज संविधान भन्दा माथी हुन खोज्ने पितृसत्तालाई पनि ठेगान लगाउनु आवश्यक छ भन्ने मात्रै हो | स्मरण रहोस, महिलाले कसैको अधिकार खोस्न खोजेका होइनन्, आफ्नो समानताको अधिकार, मौलिक अधिकार सुनिस्चित हुनुपर्छ भनेका मात्रै हुन् | जब व्यक्तिहरु संकल्पित हुन्छन् तब उनीहरु जस्तो सुकै परिस्थितिबाट पनि बाहिर आउन सक्छन् | त्यसैले अहिले राजनैतिक पार्टीभित्र रहेका महिलाहरुभित्र आफ्नो अधिकार प्राप्तिका लागि अगाडि बढ्न सक्ने दृण संकल्पको आवश्यकता छ |

यो स्थिति देखेर आज हरेक नेपाली महिलालाई के लागेको  हुनुपर्छ भने, ‘हामीले दुख गरेर महिला अधिकारका केही सवालहरुलाई संविधानमा ल्याएको भए पनि हाम्रो आन्दोलन यहीं रोक्नु हुन्न’ | संवैधानिक तवरले केहि अधिकार प्राप्त गर्ने कार्य एउटा पहाडको चुचुरोमा पुगेको जस्तो मात्रै हो | गन्तब्यमा पुग्न पितृसत्तात्मक सोच बोकेका धेरैवटा चुचुराहरु अझैं पार गर्नु छ | यी नेताहरुलाई विश्वास गर्नु, आदर गर्नु भनेको सर्पलाई दूध ख्वाए जस्तो मात्रै हो भन्ने मानसिकता विकास हुने समाजमा अराजकता फैलन सक्ने तर्फ समेत ध्यान दिन जरूरी छ | नेताहरू नै सर्वेसर्वा पनि होइनन् | यिनीहरुलाई यहाँसम्म पुर्याउने र नेता बनाउने हामी हौँ भन्ने बिर्सनु हुँदैन | देश भर्खरै मात्रै लोकतान्त्रिक गणतन्त्रात्मक भएको छ | यसलाई अगाडि बढाउने, फलाउने, फुलाउने र देश लोकतान्त्रिक गणतन्त्र हुँदा व्यक्ति व्यक्ति बिच सामन्ती संस्कारले भरेको विभेद कसरी हट्छ भनि नागरिकहरुलाई अनुभूत गराउने जिम्मेवारी पनि हाम्रै हो | त्यसैले देशको आधा जनसंख्या रहेका महिलालाई यस्तरी निर्वाचनका क्रममा पाखा लगाउने काम हुँदा चुप लाग्नु भनेको ‘संविधान र कानुनमा जे भए पनि विभेद कहाँ हटछ र ?’ भन्ने संदेश जनतालाई दिनु हो | जसले जनतालाई झन् बढी निराश बनाउने काम गर्छ |

लोकतन्त्रमा कसैले कसैलाई पाखा लगाउन पाइँदैन | संवैधानिक प्रावधान उल्लङ्घन गर्ने जो पनि सजायको भागिदार हुन्छन भन्ने संदेश जनमानसमा पुर्याउनु अहिलेको आवश्यकता भएको छ | संविधान भन्दा माथि हुन खोज्दा हिजो जनताले राजालाई ठेगान लगाएकै हुन् | आज संविधान भन्दा माथी हुन खोज्ने पितृसत्तालाई पनि ठेगान लगाउनु आवश्यक छ भन्ने मात्रै हो | स्मरण रहोस, महिलाले कसैको अधिकार खोस्न खोजेका होइनन्, आफ्नो समानताको अधिकार, मौलिक अधिकार सुनिस्चित हुनुपर्छ भनेका मात्रै हुन् | जब व्यक्तिहरु संकल्पित हुन्छन् तब उनीहरु जस्तो सुकै परिस्थितिबाट पनि बाहिर आउन सक्छन् | त्यसैले अहिले राजनैतिक पार्टीभित्र रहेका महिलाहरुभित्र आफ्नो अधिकार प्राप्तिका लागि अगाडि बढ्न सक्ने दृण संकल्पको आवश्यकता छ |

यो संकल्प माया अन्गेलोउको भनाइ याद गर्दै गर्दा अँझै सहज हुन सक्छ, “तिमीले धेरै पटक पराजयको सामना गर्नुपर्ने हुनसक्छ | तर तिमी कहिले पनि पराजित हुनुहुँदैन | तिमीलाई आफूले आफैलाई चिन्न पनि पराजयको सामना गर्नुपर्ने हुन्छ | त्यसो हुँदा तिमीले तिमी को हौ, तिमी केमा कसरी उठ्न सक्छौ र कसरी यो स्थितिबाट बाहिर आउन सक्छेउ भन्ने अनुभूत गर्न सक्छेउ” | एउटा महिलावादी आन्दोलनकर्ताको तर्फबाट राजनीतिक दलमा रहेका महिलाहरूलाई यो चुनावमा पार्टीहरुले (बिशेष गरि ठुला पार्टीहरुले महिलालाई गरेको ब्यवहार, अपहेलनालाई मनभित्र लिई पराजित मानसिकता नराखी अर्को पराजयसँगको समान गर्नु र यसमा जित्नुको विकल्प छैन | अहिले पनि चूप लागियो भने यो पितृसत्ता भित्र ‘यी महिलाहरुलाई जे गरे पनि हुन्छ’ भन्ने रहेको दम्भ गहिरो गरि झाँगिन्छ | त्यसैले राजनीतिक दलमा भएका महिलाहरू अगाडि बढौ, बाहिर बसेर साथ दिन हजारौ आउँछौं |

    Comment Here!

Related NEWS
मुख्य खबर

होचो कद तर अग्लो आचरणका श्रीमान

ज्याक स्कुटर हाँक्छन् । यशोदा पछाडि बस्छिन् । सँगसँगै घुम्छन् । डुल्छन् । अनि रमाइलो

आप्रवासीका श्रीमतीमा एचआइभी संक्रमण दर घटेन

–महिला खबर– एचआइभीको उच्च जोखिम रहेका समुदायमा एचआइभी र यौनरोगको वृद्धिदरमा क्रमशः सुधार हुँदै आएको छ

फौजदारी अभियुक्त पदमुक्त नहुने व्यवस्थाविरुद्ध सर्वोच्चमा रिट

‘फौजदारी अभियोग लागेको सांसद् पदमुक्त नहुने व्यवस्था संविधानको धारा १८ को उपधारा १ र

औषधि किन्ने पैसा नहुँदा नवजात जुम्ल्याहा शिशुको ज्यान खतरामा

–महिला खबर– जन्मिने मिति भन्दा २ महिना अघि नै जन्मिएका कारण शिशुको फोक्सोको विकास भएको छैन

महिलाको स्वरुप बिगार्ने विज्ञापन

रमिता खतिवडा नेपाली मूलधारका मिडियामै महिलाहरूलाई अत्याधिक मात्रै होइन, अनावश्यक र गलत ढंगले प्रस्तुत गरिएको छ

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: