बाल विवाहले निम्त्याएको पीडाः श्रीमानको यातनासँगै चार सन्तानको अभिभारा


प्रकाशित मिति :2017-10-11 10:50:46

-सर्मिला बुढाथोकी-

दोलखा । २६ बर्षको उमेरमा चार सन्तानकी आमा बनेकीे सिन्धुपाल्चोककी देवी खातीलाई बिहान बेलुकीको छाक कसरी टार्ने ? भन्ने चिन्ताले सताइरहन्छ ।

सदरमुकाम चरिकोटको एउटा कटेरोमा दैनिकी बिताइरहेकी देवीको गुजाराको विकल्प भनेकै दैनिक मजदुरी हो । ‘जुन दिन मजदुरी गर्न पाइदंैन, त्यो दिन आफू र चार सन्तानलाई हात मुख जोर्न धौ–धौ पर्छ,’ उनले भनिन् ।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर–३ स्थित माइती घरमा बस्दै आएकी देवीले काम नपाएको हप्ता बित्न थालेछ । भनिन्,– ‘काम नपाएको हप्तादिन बितिसक्यो, छोराछोरीलाई चाडपर्वमा नयाँ लुगा किनिदिनु त टाढाकै कुरा राम्रोसंग खाना समेत ख्वाउन सकेकि छैन ।’
१४ बर्षको उमेरमै वैवाहिक जीवनमा बाँधिएकी उनका अहिले १२ बर्ष, आठ बर्ष, पाँच बर्ष र तीन बर्षका छोराछोरी छन् । सिन्धुपाल्चोकको बाह्रविसे घर भए पनि श्रीमानले जाँड रक्सी खाएर सधै कुट्न थालेपछि माइती आएर बसेको उनले बताइन् ।

एकातिर अभाव, अर्कोतिर जँड्याहा श्रीमानको रातदिनको यातना । मजदुरी गरेको पैसा पनि श्रीमानले जाँड दारुमा खर्चिने भएपछि घर छोडेर छोरा छोरीसहित माइतीको नजिकै बस्न थालेको उनले बताइन् ।

‘आफ्नो खुट्टामा उभिन सक्ने भएरमात्र विवाह गर्नुपर्ने रहेछ । विवाहको महत्व नबुझ्दै अरुको लहलहमा विवाह गरेँ । अहिले निल्नु न ओकल्नु भएको छ’ देवीले भनिन्, चाँडै विवाह भएपछि सन्तान पनि चाँडै जन्मिए । श्रीमान गैर जिम्मेवार भएपछि छोराछोरीको ललनपालन पनि मेरै थाप्लोमा पर्यो ।’

घरमा खान लाउन समस्या हुन थालेपछि बुबाआमासँगै १२ वर्षीय छोरीलाई पनि रोजगारीका लागि भारत पठाएको उनले बताइन् । ‘के गर्नु आफूसँगै राखेर पालन पोषण गर्न सकिनँ । आफ्नै पेट त पाल्छे भनेर नाबालक छोरी भारत पठाएँ’ उनले पीडा सुनाइन् ।
‘कुनै बेला विरामी भएर मजदुरी गर्न जान नसक्दा भोकै बस्नुपर्छ । चार जनाको परिवारमा मजदुरी गरेर खानै पुग्दैन । आज कमाए आजै

सकिन्छ, भोली कमाए भोलीनै सकिन्छ’–देवीले भनिन् ।  देवीले सात महिनादेखि चरिकोटमा मजदुरी गर्दै आएको बताइन् । मजदुरी गरेको पैसाले खाना त पुग्दैन छोराछोरीलाई राम्रो शिक्षा र स्वास्थ्य दिने कुरा उनका लागि धेरै टाढाको विषय भएको उनले बताइन् ।

‘न छोरा छोरी पढाउन सकियो, न विरामी, गाह्रो अप्ठेरो हुँदाका लागि पैसा नै जोगाउन सकियो । अरुले दिएका फाटा पुराना लगाएर गुजारा गरिरहेकी छु’ –देवीले भनिन् ।

कसैले छोरा छोरी पढाइदिए चिन्ता कम हुने उनी बताउछिन् । ‘दसैं त सधंै आउछ, कुनै दिन पैसा कमाउन सकियो भने राम्रोसंग मनाउला । तर, छोराछोरी पढाउने कसरी ?’ देवीले गुनासो गर्दै भनिन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: