मानसिक रोगको चपेटामा महिला


सन्दर्भः विश्व मानसिक स्वास्थ्य दिवस

प्रकाशित मिति :2017-10-10 12:47:59

–सन्दिप वि.क –

काठमाडौं । काभ्रे घर भई हाल काठमाडौंमा बस्दै आएकी २७ वर्षीया कल्पना बस्नेत (नाम परिवर्तन) श्रीमानको टोकेसोकै कारण मानसिक समस्या जेल्न बाध्य भईन् । श्रीमानले सधैँ रक्सी खाएर मानसिक समस्या दिन थालेपछि उनी पुरै रुपमा मानसिक रोगी बनिन् । कल्पना अहिले दुई हप्तादेखि ललितपुरस्थित मानसिक अस्पताल लगनखेलमा उपचाररत छिन् ।

उनले भनिन् ‘सधैँ घरपरिवारको कुरा सुनैकै भरमा श्रीमानले मलाई गाली गलौच गर्ने, मार्ने धम्की दिन थाले । श्रीमान अर्कै केटी लिएर बस्न थाले ।’  करिब ७ वर्षअघि प्रेम विवाह गरेकी कल्पनाकी ५ वर्षकी छोरी छिन् । तर, श्रीमान आफ्नो साथ छैनन् । कल्पना अहिले माइतीमा बस्दै आएकी छिन् ।

कल्पनाका भाई अनिल बरालले दिदीमा बर्बराउने, देउता चढ्यो भन्ने, काम्ने, छिनमै हाँस्ने, रुने, लगायतका समस्या देखा परेपछि अस्पतालमा भर्ना गरेकोे बताए ।

रामेछाप नगरपालिका–२ घर भई हाल काठमाडौंको सतुङ्गलमा बस्दै आएकी २२ वर्षीय सुनिता तामाङ (नाम परिवर्तन) पनि एक हप्तादेखि मानसिक अस्पतालमै उपचाररत छिन् ।

खाना नखाने, टोलाउने, मनलाग्दी बोल्ने, एकोहोरो हुने लगायतका समस्या देखेपछि श्रीमानले सुनितालाई अस्पतालमा भर्ना गरे । डाक्टरले सुनितालाई अझैं दुई हप्ता अस्पतालमै राख्नुपर्ने बताएका छन् ।

पाँच वर्षअघि विवाह बन्धनमा बाँधिएका उनीहरुका सन्तान छैनन् । सन्तान नभएकै कारण कहिलेकाही परिवारमा कलह हुँदै आएको सुनिताका श्रीमानले बताए । उनले भने, ‘उनी जे कुरा पनि बढी नै सोच्थिन् । र हरेक कुरालाई गम्भीरतापूर्वक लिन्थीन् । त्यसपछि उनीमा यस्तो समस्या देखियो ।’

धादिङ धुनीबेसी  नगरपालिकाका शिव सुनारको दम्पती पनि अस्पतालको ओपिडि वार्डमा भेटिए । उनकी श्रीमती विमला(नाम परिवर्तन) लामो सास फेर्दै छटपटाई रहेकी थिइन् ।

अस्पतालमा आएका अधिकांश बिरामीमध्ये धेरै महिलाहरुका श्रीमानले अर्को केटीसँग प्रेम सम्बन्ध राखेको, अर्को विवाह गरेको, सासु बुहारीको झगडा, श्रीमान श्रीमतीको बीचमा शंकाका कारण उनीहरुमा मानसिक रोग देखा परेको छ ।

शिवले भने, ‘डाक्टरले औषधि लेखिदिएका छन् । ठिक हुन्छ होला भन्ने आशामा छु ।’  ४० वर्षीय विमलालाई मानसिक समस्या देखिएको झण्डै १४ वर्ष भयो । गाउँमै केहीले धर्म परिवर्तन गरे मानसिक समस्या निको हुन्छ भनेपछि उनले धर्म परिवर्तन पनि गरे । तर, श्रीमतीको रोग भने निको हुन सकेन् । २०७२ सालको भुकम्पपछि श्रीमतीको समस्या झन् बढेको उनले बताए ।

‘भूकम्पभन्दा तीन, चार महिना अघि ३ लाख रुपैयाँ ऋण खोजेर घर बनायौं । भूकम्पले भत्काइदियो । हामीसँग लालपूर्जा थिएन् । सरकारी राहतबाट पनि बञ्चित हुन पुग्यौं । श्रीमती ऋणकै बारेमा सोच्दा यो अवस्थामा पुगिन्’ उनले भने, ‘मनमा कुरा खेल्यो भनि रहन्छिन् । सास फेर्न गाह्रो हुन्छ अरे । टोलाई रहन्छिन् । ऋणकै विषयमा सानो तिनो विवाद हुन्थ्यो । तर, खासै ठुलो झगडा भने भएको छैन् ।’ उनीहरुका ३ छोरी र एक छोरा छन् ।

यी त उदाहरण मात्रै हुन् । मानसिक अस्पताल लगनखेलमा अधिकांश महिलाहरु कुनै न कुनै प्रकारको मानसिक समस्याका कारण उपचाररत छन् ।

अस्पतालका मनोचिकित्सक डा.बासुदेव कार्कीले अस्पतालमा महिला लगायत अन्य व्यक्तिहरु टाउको दुख्ने, निन्द्रा नलाग्ने, डर लाग्ने, मनमा उदासी हुने, सास फेर्न गाह्रो हुने, बेहोस हुने जस्ता समस्या लिएर आउने गरेको बताए ।

डा. कार्कीकानुसार अस्पतालमा आएका अधिकांश बिरामीमध्ये धेरै महिलाहरुका श्रीमानले अर्को केटीसँग प्रेम सम्बन्ध राखेको, अर्को विवाह गरेको, सासु बुहारीको झगडा, श्रीमान श्रीमतीको बीचमा शंकाका कारण उनीहरुमा मानसिक रोग देखा परेको छ ।

अस्पतालका अनुसार २०७४ साल साउन एक महिनाको अवधिमा मात्रै अस्पतालको अन्र्तरङ सेवामा ४१ महिलाहरु मानसिक रोगकै कारण भर्ना भएका थिए । जसमा पुरुष भने तीस जना थिए ।

यस्तै इमजेन्सी सेवामा महिला १८ जना र पुरुष १९ मानसिक रोगका विरामी भर्ना भएका थिए । साउन महिनामा मात्रै १४ सय ३६ महिलाहरु मानसिक समस्याका कारण अस्पतालको जनरल ओपीडिमा आएको अस्पतालको प्रशासनिक शाखाले जनाएको छ ।

यस्तै मानसिक अस्पतालको दुई वर्षीय तथ्याङ्क अनुसार आ.व २०७२-७३ मा ३ सय ९२ जना महिलाहरु अन्र्तरङमा भर्ना भएका थिए भने ०७३\७४ मा ३ सय ७८ जना मानसिक रोगका महिलाले उपचार गराएका थिए । यस्तै २०७२-७३ मा अस्तालको इमजेन्सीमा १ सय ७२ महिला भर्ना भएका थिए भने ०७३\७४ मा १ सय ९६ महिला उपचारका लागि भर्ना थिए ।
आ.व २०७२\७३ मा जनरल ओपीडिमा १४ हजार ९ सय १८ र ०७३\७४ मा १५ हजार ९७३ महिलाहरु मानसिक समस्याका कारण अस्पतालमा आए ।

त्रिभुवन शिक्षण अस्पतालकी चिकित्सा मनोविद् डा. मिता राणाका अनुसार महिलाहरु घरपरिवार र कार्यस्थलमा सुरक्षित नहुने हुँदा पनि उनीहरुमा मानसिक समस्या देखापर्दछ ।

उनले भनिन्, ‘महिलाहरुमा जैविक, मानसिक र सामाजिक कारणले बढी मानसिक समस्यामा पर्ने गर्छन् ।’ जैविक कारणको कुरा गर्दा शारीरिक पक्षलाई लिन सकिन्छ । अर्को सामाजिक मनोवैज्ञानिक रुपमा भन्दा पारिवारिक सांस्कृतिक पक्षमा भर पर्छ । उनले छोरा र छोरीलाई हुर्काउने प्रवृति नै फरक हुनु पनि मानसिक रोगको एउटा कारण भएको बताइन् ।

के हो मानसिक स्वास्थ्य समस्या ?

मनोचिकित्सक डा. बासुदेव कार्की

मनोचिकित्सक डा. बासुदेव कार्कीका अनुसार मानसिक रोग भन्नाले मान्छेको मस्तिष्कले गर्ने व्यवहार, व्यथा, भावना, विचार, बोली, लगायतका कुराहरुमा समस्याहरु देखिनु भन्ने बुझिन्छ ।

यि समस्याहरुका कारण मान्छेमा दैनिक जीवन सञ्चालन गर्न समस्या देखा पर्दछ । यस्तै मान्छे आफ्नो सन्तुष्टिप्रति असहज महसुस गर्ने र उसको काम कारबाहीमा पनि असर पुर्याउछ । व्यक्तिको व्यवहारले अन्य व्यक्तिमा समेत समस्या पर्दछ ।

यसरी लामो समय व्यक्तिमा यस्ता प्रकारका समस्या देखिएमा त्यसलाई हामी मानसिक स्वास्थ्य समस्या भन्छौं ।

किन देखिन्छ मानसिक समस्या ?

मानसिक समस्या व्यक्तिको आनुवांशिक कुराहरु, शरीरको संरचना, विकास लगायत बायोलोजिकल कारणले पनि देखिन्छ ।

अर्को मनोवैज्ञानिक कुराहरु, जस्तो व्यक्तिले आफूभित्र र बाहिरको वातारण कसरी बुझ्न सक्छ ? कसरी उसको बुझाइको विकास भएको छ ? त्यो कारणले पनि व्यक्तिमा यो रोग लाग्ने सम्भावना बढी हुन्छ ।

त्यस्तै सामाजिक कारण पनि मानसिक रोगको कारण हो । समाजमा कसरी सामाजिक अवधारणाको विकास भएको छ । व्यक्ति समाजमा कसरी घुलमिल भएको छ ? त्यसमा पनि भर पर्छ । सामाजिक, मनोवैज्ञानिक अन्र्तक्रियाबाट पनि यो रोग देखिन्छ ।
महिलाहरुमा हेर्दा उनीहरुको खानपान, सामाजिक उतरदायित्व, पारिवारीक कारणले यो समस्या देखा पर्दछ । अर्को वंशाणुगत, पारिवारिक, मानसिक, आर्थिक र सामाजिक जस्ता पक्ष यसका कारणहरु हुन् ।

लक्षण

मान्छेको भावना, विकास, व्यवहारसँग सम्वन्धित रहेर यसको लक्षण देखिन्छ । मानसिक रोग एउटै किसिमको रोग होइन् । धेरै प्रकारको रोगहरुको समूह हो । फरक–फरक रोग अनुसारका लक्षणहरु देखिन्छन् ।

उदासिनता, व्यवहार, व्यक्तित्वमा देखिने रोगहरुको लक्षण फरक–फरक खालको हुन्छ । लक्षण मान्छेको विचार, भावना अनुसार फरक–फरक खालको हुन्छ । मानसिक समस्यालाई सामाजिक, सांस्कृतिक, आर्थिक रुपले पनि फरक पार्ने गर्दछ ।

एउटा शिक्षित महिला र ग्रामिण क्षेत्रकी गृहणी महिलाले देखाउने मानसिक समस्या फरक हुन्छ ।  जस्तो गाउँका महिलाहरुमा पनि शिक्षित महिलालाई मानसिक तबरले छुट्टै किसिमको समस्या देखिन्छ । अशिक्षित महिलामा मानसिकका साथै शारीरिक हिसाबले पनि समस्या बढी देखिन्छ । सामाजिक विश्वास अनुसार उनीहरुको लक्षण देखिन्छ ।

मानसिक असरमा टाउको दुख्ने, शरीर झमझ्माउने, आत्तिने, टोलाउने, छटपटिने, लगायतका शारिक असर पनि देखा पर्दछ । त्यसलै व्यक्तिको बुझाई अनुसार लक्षणहरु देखिन्छन् ।

किन बढ्दैछ मानसिक समस्या ?

मानसिक समस्या किन बढ्दैछ ? भन्दा नि त्यसप्रतिको चासो बढ्दै छ । समस्या प्रतिको चासो जति बढ्छ, त्यति समस्याहरु पनि फेला पर्दछन् । तर, सामाजिक अवधारणा अनुसार रोगको प्रकृति बदलिएको छ ।  विज्ञान, प्रविधिका साथै बेरोजगारी समस्या, बैदेशिक रोजगार, सामाजिक अन्तरघुलनका कारणले मानसिक स्वास्थ्य समस्याहरु फरक हुन थालेको छ ।

बच्ने उपाय

पहिला त मानसिक स्वास्थ्यको बारेमा व्यक्ति जानकार हुनपर्दछ । मानसिक स्वास्थ्य समस्या देखिएमा समयमै उपचार गर्नुपर्छ । मानसिक स्वास्थ्यको बारेमा चर्चा परिचर्चा हुनुपर्छ । मानसिक स्वास्थ्य व्यक्तिको पारिवारीक, शैक्षिक, अवस्थालाई ध्यान दिनुपर्ने देखिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: