चाड पर्व, महिलालाई सास्ती मात्रै


प्रकाशित मिति :2017-10-06 13:41:22

–विदुर आचार्य–

सिन्धुपाल्चोक । मांखाकी शुभद्रा पराजुलीलाई नौ रथा सुरु भए देखि कोजाग्रत पूर्णिमासम्म फुर्सद भएन । जमरा राखे देखी दसैंका लागि अनेक सामग्री जुटाउने, घरको सरसफाई, छोराछोरीका आवश्यकताको जोरजाम, पाहुनाको सत्कार गर्दै बित्यो, उनको दसैं ।

शुभद्रा जस्तै कमला नेपालीको पनि दसैंको चपेटा उस्तै थियो । “जब चाड सकियो, तब कामको चाप घट्यो ।” कमलाले भनिन्,–“आवश्यक सामग्री खरिद गर्न बजारसम्म जाने फुर्सद भएन् । छोराछोरीका आवश्यकता पूर्ति गर्नुपर्ने, दसैंका लागि आवश्यक सरसामान जोड्नुपर्ने, सरसफाई आदि इत्यादि त छँदैछ त्योसँगै घरधन्दाको दैनिकी सदा झैं धान्नुपर्ने जिम्मेवारी । यी सबै कामको चटारोले भ्याइ नभ्याइ हुन्छ ।” घरकी एक्ली अविभावक कमलालाई परिवारका सबै सदस्यहरूका आवश्यकता पूर्ति गर्नुपर्ने जिम्मेवारीले दसैं भारको रुपमा आए जस्तै लाग्छ ।

महिला पुरुष एकै सिक्कामा दुई पाटो भनिए पनि व्यवहारिक जिम्मेवारीले महिलालाई माथि उठ्न दिएको छैन । घरायसी र व्यवहारिक काम कर्तव्यमा सँधै महिलालाई अगाडी राखिने हुँदा चाड पर्व उनीहरूका लागि बोझको रुपमा आएजस्तो हुन्छ । 

बुधवार आफन्तकोबाट टीका ग्रहण गरी फर्कदै गर्दा भेटिएकी गोकुलकुमारी आचार्यलाई घर पुग्नकै चटारो थियो । “चाडपर्व त महिलाहरूलाई सास्ती नै हो,” उनी भन्छिन्, “आवश्यक तयारी, सरसफाई, परिवारको आवश्यकताको जोरजाम गर्दै आधा चाड सकिन्छ । टीकाटालोमा आफन्त इस्टमित्र आउँछन् । पाहुना फर्केपछि माईत मावल गएर आउँदा चाड सकिनै हाल्छ, गृहिणीलाई के को रमाईलो गर्ने फुर्सद हुनु र ?” घरको सबैकाम थाती राखेर टीका थाप्न निस्केकी उनलाई घर पुगेर अघिल्लो दिनदेखिकै काम पनि भ्याउनु रहेछ । अनि हतार हतारमा आफ्ना कुरा राख्दै उनी बाटो लागिन् ।

माथिका केही उदाहरणले हाम्रो सामाजिक व्यवस्थाको चित्रण गर्छ । महिला पुरुष एकै सिक्कामा दुई पाटो भनिए पनि व्यवहारिक जिम्मेवारीले महिलालाई माथि उठ्न दिएको छैन । घरायसी र व्यवहारिक काम कर्तव्यमा सँधै महिलालाई अगाडी राखिने हुँदा चाड पर्व उनीहरूका लागि बोझको रुपमा आएजस्तो हुन्छ । अझ चाडपर्वमा त मनोरञ्जन तथा भेटघाट र उत्साहमा रमाउने योजना पुरुषको मात्र पूर्ण हुन्छ, महिलाको अधुरै रहन्छ ।

रमाइलोको नाममा जुवा, तास लगायतका गतिविधीमा पुरुषहरू तल्लिन हुने नजिर कोट्याउदै बलेफीकी शोभा पौडेल भन्छिन्, “चाडवाड सुरु भएपछि महिलाहरूको समय पकाउने, खुवाउने, सरसफाई गर्ने गर्दै बित्छ ।” उनी भन्छिन्,–“चाड पर्वको बहानामा पुरुषले जुवा तास खेल्ने सम्पती नष्ट गर्ने, मदिरा पिएर घरमा थप तनाव सिर्जना गर्ने जस्ता व्यवहारले त कहिले कहिले चाड पर्व नै नआओस् जस्तो लाग्छ ।”

समाजमा अधिकांश विवाहित महिलाको अवस्था दसैं लगायतका चाड पर्वमा दयनीय नै हुन्छ । कतिपय विवाहित महिलाहरूले चाड पर्वलार्ई बोझ नै ठान्छन् । चाड पर्वमा हुने भड्किलो व्यवहारबाट पनि महिलाहरू थप तनाव वोक्न बाध्यभएको प्रहरीको विश्लेषण छ । “चाड पर्व मनाइरहँदा महिलाको हितमा ख्याल गरौ ।” दसैं अगाडि जारी गरेको प्रहरी कार्यालयको सूचनामा भनिएको छ, “भड्किलो र रवाफिलो व्यवहार र कोही कसैले अनुचित र हिंसा गरेमा तत्काल प्रहरीलाई खबर गरौ ।”

समाजमा कतिपय नागरिकहरू भड्किलो व्यवहारका हुन्छन् । भड्किलो व्यवहारबाट महिला तथा बालबालिकाहरू  प्रभावित हुन्छन् । हामी सचेत बर्गले यसप्रति सँधै चनाखो रहनुपर्छ ।

आपसी सद्भावका रुपमा मनाउनु पर्ने दसैं जस्ता चाड पर्वले आर्थिक रुपमा पुरुषको पनि ढाड सेकेको हुन्छ । तर, व्यवहारिक रुपमा भने चाड पर्वको प्रत्यक्ष वा अप्रत्यक्ष मारमा महिलाहरु बढि परिरहेको कुरालाई नकार्न सकिन्न ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: