गर्भमा गर्व गरौं


प्रकाशित मिति :2017-09-21 12:10:14

-दीपा कोइराला-

केही सातापहिले भारतीय अभिनेत्री सेलिना जेट्लीले आफू दोस्रोपटक गर्भवती भएको भन्दै आफ्ना जम्ल्याहा बच्चा रहेको पुटुक्क पेट (बेबी बम्प) को तस्बिर सार्वजनिक गरिन् । समाज यही हो, त्यसमा अनेक खालका प्रतिक्रिया आए । उनको त्यो तस्बिर कति ‘असामाजिक’ थियो, त्यो बेग्लै सन्दर्भ भयो, तर त्यस तस्बिरबाट उनले प्रेषण गर्ने खोजेको सन्देश भने साँच्चिकै महत्वपूर्ण छ आज पनि । एउटी गर्भिणी आमाको लागि उनको नौमहिने अवधि अति महत्वपूर्ण र उत्तिकै जटिल अवस्था हो ।

जतिसुकै सम्पन्न र सफल जीवन भए पनि मान्छे अनेक भौतिक समस्या र मानसिक मनोदशाले सधैं युक्त हुन्छ र एउटी युवतीको पेटभित्र अचानक अर्को एक नयाँ व्यक्तिको प्रवेश आफैंमा अद्भुत प्राकृतिक घटना हो । कोकोकोला आकारको युवती शरीरको कायाकल्प भई शरीरले बेग्लै रूप धारण गर्नु सर्पले काँचुली फेर्नु या झुसिल्किरा पुतली बन्नुजस्तै अद्भुत घटना हो । यसर्थ गर्भावस्था एउटी स्त्रीको जीवनमा विशाल रूपान्तरण र उत्तिकै चुनौतीको समय हो ।

पुराणहरूमा यस अवस्थामा युवतीले अनेक खालका सपना देखेको चर्चा भेटिन्छ । त्यही सपनाको आधारमा जन्मिने बच्चाको चरित्र चित्रण गरिन्छ । महामानव सिद्धार्थ गौतमकी आमा मायादेवीले एक पूर्णचन्द्रको रात अचम्मको सपना देखिन् । चार फरक आत्माले उनलाई हिमालयको अनोतत्त नामक तलाउमा लगे । तलाउमा नुहाइदिएर भव्य गहना, वस्त्र, सुगन्धित अत्तर र फूलैफूलमा उनलाई सजाइयो । लगत्तै एउटा सेतो हात्ती सुँढमा सेतो कमलको फूल लिएर उभियो र त्यसपछि मायादेवीलाई तीनपटक प्रदक्षिणा गरी उनको गर्भमा प्रवेश गर्‍यो ।

मायादेवीले जस्तै निद्राको अवस्थामा आफ्नो गर्भमा हात्ती पसेको सपना कतिले देख्लान् या नदेख्लान्, तर तन्द्रामा धेरै युवती ‘मेरा सन्तान यस्ता भइदिऊन्, यस्तो होलान्’ भनी कल्पँदै दंग हुन्छन् । मभित्र एउटा मान्छे केही महिना बस्न आएको छ र जब बाहिर आउनेछ÷आउनेछिन् मेरो सन्तानका रूपमा जीवनभर रहनेछ÷रहनेछिन् भन्ने कल्पना एउटी आमाको लागि अद्भुत हो । आफूजस्तै अथवा सम्भवतः आफूभन्दा अझै उच्चस्तरको जीवनलाई आफ्नो कोखमा धारण गर्ने विषय स्त्री जीवनको सबैभन्दा सुखद र महान् घटना हो । एउटा नयाँ युगलाई आफ्नो गर्भमा स्वागत गर्न पाउनु जति सुखद एउटी आमाको लागि के हुन सक्छ ? संसारको सबैभन्दा सुरक्षित ठाउँको रूपमा व्याख्या गरिने कोखमा ‘लौ म आएँ है’ भन्दै मसिना हात हल्लाउँदै कोही आउँदा एउटा मातृहृदय कति खुसी होला ? त्यसमाथि आफूमा प्रजनन क्षमता रहेको कुराको सुनिश्चितता पनि हो गर्भादान ।

कतिपय बाआमा छन्, जसलाई आफैंद्वारा सन्तान प्राप्त नभएकोमा खेद छ र तिनलाई रुढिग्रस्त समाजले हेर्ने दृष्टिमा पर्याप्त दोष छ । गर्भादान पूर्ण प्राकृतिक हो र कुनै ‘पुरुषार्थ’ होइन । प्रत्येक जीवात्माले गर्भादान गर्छन् । तर पनि पशु होस् या मान्छे, आफ्नो गर्भमा अर्को जीवनको सुरुआत आफैंमा उत्सवको सुरुआत हो । कल्पना गरौं त, हामी आमाको कोखमा प्रवेश गरेको त्यो क्षण । त्यस अद्भुत क्षणकै कारण आज म यो विचित्रको संसार देख्न समर्थ छु । संसारमा रहेका सबै प्राणी पुटुक्क भुँडीका देन हुन् ।

तर एउटा स्त्रीको जीवनमा आउने उति भव्य चरणलाई हिजो मात्रै होइन, आजका दिनमा पनि हामी हर्षोल्लासका साथ घरपरिवार, आफन्तसँग बाँड्न लाज मान्छौं । ‘महिनावारी हुनुअघि नै बिहे गर्नुपर्छ’ भन्ने ‘शास्त्रको आदेश’ पालनको लागि आमाको दूध चुस्दाचुस्दै बिहे गर्नुपर्ने जमानाको कुरो बेग्लै थियो । त्यस्तो जमानामा महिलाको मासिक रीत, गर्भादान, गर्भावस्था र त्यससँग जोडिएका समस्याको चर्चा समाजको चेतनाभन्दा विल्कुलै बाहिरको कुरा थियो । हुर्किंदै जाँदा आफ्नो टाउकोसम्म पनि आफ्ना ससुरा र जेठाजुलाई टाउकोसमेत देखाउन हुन्न भन्ने जमानामा ‘आफू गर्भवती भएको उद्घोष’ गर्नु असामान्य थियो । शारीरिक श्रमले थिचिएर दुईचार गर्भ खेर जानु, मृत सन्तान जन्मिनु, जन्मेका बच्चा बित्नु र कतिपय अवस्थामा गर्भिणी हुन नसकेर आमा मर्नुसमेत त्यस युगका सामान्य घटना थिए ।

यसबाट हामी अनुमान लगाउन सक्छौं, त्यस युगमा हाम्रा आमा र हजुरआमा र हजारौं जिजुआमाले आफ्नो जीवनमा खेप्नुभएको जोखिम । हाम्रोमा मात्र होइन, संसारका कतिपय ठाउँमा युवतीले ‘भुँडी बोकेको’ विषय लज्जाको विषय हुने रहेछ । गर्भवती भएर पनि यस्तो लुगा लगाउने, यस्तो खाना खाने भनेर पश्चिमी देशमा समेत अनावश्यक चर्चा हुने रहेछ । तर त्यसो हुँदाहुँदै पनि त्यहाँ गर्भवती भएको विषयलाई लिएर भने कोही पनि लज्जित हुँदैनन् । अरू बेला आफ्नो पेट देखाउन अप्ठ्यारो मान्ने युवतीहरू आफ्नो पेटको बच्चा विकसित भइसकेपछि अरू छोरा या छोरी मान्छेलाई समेत आफ्नो उदांगो पेट देखाएर उनीहरू आफू आमा हुँदै गरेको विषयलाई गर्वका साथ प्रस्तुत गर्ने रहेछन् । अरबी र दक्षिण एसियामा गर्भ लुकाएर हिँड्नुबाटै बुझिन्छ कि यो लज्जाको विषय हो ।

आजको इन्टरनेटको संसारमा महिलाले आफ्नो बढेको भुँडीलाई भ्याङ्ले कपडाले छोप्दै, दुनियाँले देख्ला र आँखा लगाउला या प्रश्न र आशंकाको नजरले हेर्ला भन्दै लुकाउनु उचित होइन ।

गर्भावस्था प्राकृतिक विषय हुँदाहुँदै पनि यो चरणमा भविष्यकी आमाका अनेक कल्पना बच्चा पाउने बेलाका त्रासले उत्तिकै गाँजिरहेको हुन्छ । एउटा तथ्यांकले विश्वभर करिब चार लाख युवती र आमाहरू गर्भावस्था वा बच्चा पाउने क्रममा आउने जटिलताका कारण मृत्युवरण गर्छन् । त्यत्रो जोखिममा रहेर आफूभित्र अर्को जीवन हुर्काइरहेकी आमाले आफू आमा हुन लागेको कुरामा समेत लज्जाबोध गर्नुपर्ने कस्तो संस्कार ? आमा बन्नुपूर्व त्यस युवती र अर्को युवक संलग्न शरीरजनित प्राकृतिक धर्मलाई लिएर सम्भवतः लज्जा महसुस भएको हुन सक्छ । मातापिताको त्यही धर्मका कारण सारा प्राणी जन्मेको छ भने यस्तो विषयमा लज्जाबोध बेकार हो । बरु यस्तो बेला आफू शारीरिक रूपमा मातापिता बन्न योग्य रहेकोमा दुवैले खुसी र आनन्दबोध पो गर्नुपर्ने हो ।

हाम्रो पूर्वीय समाजमा गर्भिणी महिलालाई देख्दा काम बन्ने अर्थात् ‘शुभ हुने’ भन्ने धारणा अहिले पनि विद्यमान छ । शुभ र अशुभसँग जोडिएका केही अन्य विषय विभेदकारी भए पनि कसैको देहभित्र हुर्कंदै गरेको ‘बिरुवा’ को दर्शनले शुभ हुने भन्ने कुरा भने साँच्चै सुन्दर हो । पुटुक्क भुँडी बोकेका आफ्ना छोरी र बुहारीलाई दहीचिउरा ख्वाएर उनीहरूका सन्तान र उनको दीर्घायुको कामना गर्ने हाम्रो चलन पनि उत्तिकै प्रशंसायोग्य छ । तर आजको दिनमा पनि आफ्नो बढेको भुँडीलाई भ्याङ्ले कपडाले छोप्दै, दुनियाँले देख्ला र आँखा लगाउला या प्रश्न र आशंकाको नजरले हेर्ला भन्दै लुकाउनु उचित होइन ।

इन्टरनेटमा सारा संसार देखेका हाम्रा मित्र, साथीसंगी, दिदीबहिनी, काकी, भाउजूहरूले अब आफूभित्र जन्मन लागेको बच्चालाई लिएर गर्व पो गर्नुपर्छ । जन्मेको सन्तानलाई बोक्दा महसुस आनन्द मान्नेले बोकेको भुँडीमा पनि गर्व गर्नुपर्छ । यसो हुँदै गएमा भविष्यमा बलजफ्ती र करणीजस्ता घटनाबाट आफ्ना पेटमा आएका बच्चालाई समेत आमाहरूले नवजीवनका रूपमा ग्रहण गर्नेछन् । अस्पतालहरूमा लुकीलुकी गर्भभत्रि हुर्केका ‘मुना मार्ने’ घटनामा कमी आउनेछ । अनि त्यसरी जन्मने बच्चाले तपाईंको जीवनमा त ठूलो रूपान्तरण ल्याउने नै छ, तर के थाहा उसले संसार नै बदल्न पो सक्छ कि ? एउटा भनाइ छ नि- तपाईं बच्चाको डाइपर मात्रै परिवर्तन गर्दै होइन, विश्व बदल्दै हुनुहुन्छ ।

साभार : अन्नपुर्ण पाेष्ट

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: