दशैं, मन्दिरकी देवी र घरकी देवी


प्रकाशित मिति :2017-09-20 16:29:23

मन्दिरमा सजिएका अद्भूत नारीमूर्तिको हार्दिकतापूर्वक आराधना र उपासना गरिरहँदा घरभित्रकी आफ्नै अर्धाङ्गिनी जसले जीवनको प्रारम्भदेखि अन्त्यसम्म हरपल हर ईच्छा, हर चाहना र कामना पूरा गरिहेकी ‘जितीजागती’ नारीलाई कति सम्मान दिएका छन् ? कति ‘मूल्य’ दिएका छन् ? त्यो जाँच्ने ‘कसी’ कति पुरुषको हृदयमा होला ?

रामेश्वरी पन्त–

हिन्दू संस्कृतिभित्र पर्ने विविध परम्परा र चाडपर्वले महिलालाई जति सम्मानित, पूज्य र बन्दनीय मानेका छन् व्यवहारमा भने महिलाहरू त्यति नै पीडित छन् । भलै यो रुप अघोषित, अपरिभाषित र अदृष्य नै किन नहोस् ।

हामी नेपालीका मुख्य चाडहरु मुखैमा आइरहेका छन् । तीज हामीले मनाइसक्यौं । दशैं, तिहार, गौरा पर्व, कुमारी पूजा जस्ता कैयौं परम्परा र पर्वमा महिला अर्थात् नारीशक्तिकै पूजा हुन्छ । तर, यस्तो पूजा केवल प्रतिकात्मक रुपमा मात्र हुनेगर्छ । वास्तविकता र व्यवहारमा भने महिला पूज्य र सम्मानित भएका उदाहरण निकै कम भेटिन्छन् ।

सदियौंदेखि समाजमा दोस्रो दर्जाको मानिस (अझ भनौं, मानिस नै नगन्ने सोच) को रुपमा दरिएको नारीजाति भौतिकवादले जरा गाडेको आजको युगमा पनि केवल भोग्या र दास मानसिकताको भुमरीबाट बाहिर निस्कन सकेको देखिंदैन ।

पूर्वीय दर्शनले ‘महाशक्ति’ ठानेर ‘महिमामण्डित’ गरिएकी नारी त्यही पूर्वीय सामाजिक मानसिकतामा भने कमजोर, विचरा र अरक्षिता ठानिएकी छ । यही मानसिकताले गर्दा व्यवहारमा नारीले अपमान र विभेदका कैयौं प्रहारहरू खेप्दै आएकी छ ।

‘नारीशक्ति’सँग जोडिएर आउने हाम्रा विविध पर्वमध्ये अहिले हामी दशैँको संघारमा छौं ।

हिन्दू परम्परामा दशैैं ‘मातृशक्ति’ पुजिने महान् पर्व हो । आदिम नारी कति शक्तिशाली थिई भन्ने कुरा मार्कण्डेय पुराण, देवीभागवत लगायतका पुराणमा उल्लेखित कथा र ‘शक्तिगाथा’बाट ज्ञात हुन्छ । यसै प्रसंगमा दुर्गा सप्तसतीमा उल्लेखित यो शक्तिशाली श्लोकलाई यहाँ उल्लेख गर्न चाहेँ–

यो मां जयति संग्रामे यो मे दर्पं व्यपोहति
यो मे प्रतिबलो लोके स मे भर्ता भविष्यति ।।१२०।।
(अर्थात् जसले मलाई युद्धमा जित्न सक्ला, जसले मेरो अभिमानलाई धूलो पार्न सक्ला, संसारमा जो म जत्तिकै बलियो योद्धा होला उही मेरो पति हुनेछ ।)

यसप्रकार आदिम कालमा कसरी नारीको एकीकृत शक्तिले महापराक्रमी दैत्यहरूको विनाश गरेको थियो र नारी कसरी पूज्य र बन्दनीय रहेका थिए भन्ने कथा र गाथालाई हरेक वर्ष दशैंका दशदिन दुर्गा सप्तसती वा मार्कण्डेय पुराँण पाठ गरेर स्मरण गरिन्छ ।

अझ खासमा शक्ति उपासना गर्ने काम पुरुषहरूबाट नै हुनेगर्छ । मन्दिर वा पूजाकोठामा सजिएका सुन्दर एवं अद्भूत नारी मूर्तिको हार्दिकतापूर्वक आराधना र उपासना गरिरहँदा आफ्नै घरभित्रका, आफ्नै परिवारका, आफ्नै अर्धाङ्गिनी जसले जीवनको प्रारम्भदेखि अन्त्यसम्म हरपल हर ईच्छा, हर चाहना र कामना पूरा गरिहेकी ‘जितीजागती’ नारीलाई कति सम्मान दिएका छन्, कति ‘मूल्य’ दिएका छन् त्यो जाँच्ने ‘कसी’ कति पुरुषको हृदयमा होला ?

त्यति शक्तिशाली र सम्मानित ‘नारीशक्ति’ कालान्तरमा कसरी कमजोर बन्दै गयो र अन्ततः ‘बिचरी’मा रुपान्तरित भई नारी ! यो प्रश्नको जवाफ यो सानो लेखमा उतार्न सम्भव छैन । यस लेखमा उठाउन खोजेको मूल कुरा त के हो भने अब दशैँ नेपालीको घर आँगनमा टेकेको छ ।

यसले ल्याउने उमङ्ग र खुशीयालीका परिभाषा हरेक व्यक्ति, वर्ग, समुदाय र जातजातिका आ–आफ्नै प्रकारका हुन्छन् ।

हरेक व्यक्तिले अनुभव गर्ने ‘दशैंखुशी’ फरक फरक हुन्छ । विशेषगरि आज यसलेखमा संसारको मात्र दुईवटा ‘जाति’(पुरुष र नारी)ले महशुस गर्ने ‘दशैंखुशी’ र उनीहरूले भोग्ने भोगाई कस्तो हुन्छ ? भन्ने कुरा मुख्य रहने छ ।

आउन त दशैँ सबैका लागि आउँछ, पुरुषको लागि पनि र नारीको लागि पनि तर फरक रुपमा । दशैँ प्रायः पुरुषको लागि ‘बिन्दास’ बनेर आउँछ भने त्यही दशैँ नारीको लागि ‘भ्याई नभ्याई’ बनेर आउँछ । खाने, पिउने, घुम्ने र रमाउने कल्पनामा पुरुषहरू दशैँको स्वागत गर्न आतुर हुन्छन् भने प्रायः सबैजसो महिलाहरू यस्ता कल्पनाको नजिक पुग्नै पाउँदैनन् ।

कामकाजी हुन् वा पूर्णरुपले गृहिणी महिलाहरू, शहरिया हुन् वा ग्रामिण महिलाहरू, सबैको दशैं बेफुर्सदिलो हुन्छ । उनीहरूको अधिकांश समय घरधन्दा र भान्सामै सीमित हुन्छ । प्रोफेसर हुन् वा अफिसर, सबैको दशैँ दैनिकी खाने पिउने सर्जामको बन्दोबस्त गर्ने, घर परिवार र जम्माहुने पाहुना र आफन्तलाई पकाएर खुवाउने आदि गर्दैमा फुर्सद हुँदैन ।

जसरी कामकाजी पुरुषहरू दशैं विदामा घुमफिर गर्ने योजना बनाउन सक्छन् त्यसरी नै कामकाजी महिलाले सक्दैनन् किनकी उनीहरूको भागमा दोहोरो जिम्मेवारी हुन्छ । प्रकृतिप्रदत्त अत्यन्त गहन र अनिवार्य जिम्मेवारीलाई बहन गर्दै र चुलो चौकासँग संघर्ष गरेर पनि नारीहरूले आज लगभग पुरुषकै हाराहारीमा आफ्नो ‘करियर’ निर्माण गर्नतर्फ लम्किरहेका छन् र रोजगारी, व्यवसाय लगायतका अनेक पेशामा आफूलाई संलग्न गराउँदै आइरहेका छन् ।

तरपनि जति नै उच्च ओहदामा पुगेका महिला किन नहुन् उनीहरू घरको चुलो चौकाबाट भाग्नै पाउँदैनन् । घर बाहिर बराबरको हैसियत भएता पनि घरभित्र छिरेपछि पुरुष र महिलाको हैसियत उही ‘मालिक’ र ‘सेवक’को रुपमा स्थापित हुन्छ । अपवादको कुरा अलग हो ।

नेपालीहरूको घर आँगनमा दशैं भित्रिनै लाग्दा यतिबेला सामाजिक सञ्जालहरूमा केही पुरुष विद्वानहरू र साहित्यकारहरूले दशैँ बिदामा पढ्ने पुस्तकको ‘लिस्ट’ नै सार्वजनिक गरिरहेछन् तर कुनै महिला विद्वानहरू एवम् साहित्यकारहरूले यस्तो लिस्ट सार्वजनिक गरेको कुरा यो पंक्तिकारको जानकारीमा आएको छैन आजसम्म । आओस् पनि कसरी ? कतिबेला पढून् र लिस्ट बनाउन् ?

दशैं बिदाको लागि थाति राखेका कति घरायसी कामले उनीहरूको बाटो हेर्दैहोलान् ! प्रायः महिलाहरू दशैँका दशदिन नै यति जोतिन्छन् कि त्यो जोताईको थकानमा भौतिक त के, भावनात्मक सहयोग वा सहानुभूति दिनसम्म कन्जुस्याइँ गर्ने पुरुषहरूको कमि सायद कुनै परिवारमा पनि छैन होला । तर, अपवादका कुरा यहाँ पनि लागू हुन्छन् नै ।

धर्म, व्रत, चाडपर्व र रीतिरिवाज, संस्कार एवम् संस्कृतिकका कुरा आउँदा सँगसँगै महिलाहरू पनि जोडिएर आउँछन् । यस्ता विषयमा एकातिर सांकेतिक रुपमा सम्मानित र पूजित भएर आएका हुन्छन् भने अर्कोतिर व्यवहारिक रुपमा विभेद र दलनको जाँतोमा पिसिन बाध्य हुन्छन् । यस्ता कुरामा सचेत हुन खोज्ने वा वास्तविकता उजागर गर्न खोज्ने महिलाहरूले धर्म, संस्कार र परम्पराको नाममा नारीजातिले खेप्नुपरेका विभेद र अपमानको विरुद्धमा आवाज उठाउन खोजे भने ठाडै ‘धर्म बिरोधी’ र ‘समाज भाँड्ने’को आरोप खेप्नुपर्छ ।

अझ ‘संस्कृति ध्वस्त पार्न खोजेको’ र हिन्दू धर्ममाथि आक्रमण गरेको’ आरोप लाग्छ, मानौं, धर्म, संस्कृति र परंपरा जोगाउने ठेक्का महिलाकै हो । यस्ता आरोप खासगरि कथित पण्डित र पुरोहितहरूको तर्फबाट आउने गर्छ भने उनीहरूकै ‘कानफुकाई’मा धर्म र परम्पराको आड लिएर महिलामाथि शासन गर्न खोज्नेहरूले लगाउने गर्छन् ।

अझ आश्चर्य लाग्दो कुरा त के छ भने जुन नारीशक्तिलाई मन्दिरमा गएर निर्जिव मूर्तिको पाउमा टाउको ठोकी ठोकी शुख शान्तिको कामनासहित बन्दना गर्छन्, त्यही नारीशक्ति आफ्नै घरभित्र छ र उसलाई सम्मान र ईज्जत दिनसके सारा संसारको सुख र अपार शान्ति प्राप्त हुनसक्छ भन्ने कुरामा कसैले हेक्का राख्दैन ।
हुन पनि आजको मान्छेलाई घरभित्रकी बोल्ने ‘सजीव’ देवी होइन, मन्दिरभित्र थन्किएकी नबोल्ने निर्जीव ‘देवी’ मनपर्छ किनकी घरभित्रकी देवीले आज सहयात्रा र सहअस्तित्वकोलागि आवाज उठाउन सक्ने भएकी छ र देवी होइन, मान्छे बन्न खोजेकी छ ।

आफूमाथि हुने विभेद र ज्यादती विरुद्ध बोल्नसक्ने भएकी छ । अझ खुलस्त भन्नुपर्दा युगौंदेखि एकछत्र राजगर्दै आएको ‘पुरुषसत्ता’लाई हल्लाउन सक्ने भएकी छ । यति हुँदाहुँदै पनि नारीले आफ्नो कर्तव्य पटक्कै भुलेकी हुँदिन र हरेक चाडपर्व, परम्परा, संस्कार र संस्कृतिलाई जोगाउँदै र जीवन्त राख्दै आफू जोतिएर पनि परिवारको खुसी र सुखमा आफ्नो खुसी र सुख खोजिरहेकी हुन्छे ।

परिवार उसको सबैभन्दा प्रिय पुस्तक हो र घर उसको मन्दिर । ‘नारीशक्ति’ले सबैको कल्याण गरून् । विजया दशमीको हार्दिक मंगलमय शुभकामना !

(रामेश्वरी पन्त स्वतन्त्र पत्रकार हुनुहुन्छ)

    Comment Here!

Related NEWS
मुख्य खबर

लोग्ने मान्छे

–रेनुका कार्की– बजारमा बिक्ने भइस् हजारमा साँटिने भइस्, थुइक्क ! तँ जस्ता निर्दयी लोग्ने मान्छे ।

फेसबुकमा अस्लील फोटो राखेर धम्काउने पक्राउ

नवलपरासी । फेसबुक प्रोफाईलमा महिलाको तस्वीर राखेर अश्लिल फोटो पोष्ट गर्दै धम्काउने एक युवालाई नवलपरासी

बलात्कारको अभियोगमा पक्राउ

–महिला खबर– ललितपुर । बाग्मती गाउँपालिका–६ स्याउले थुम्काका एक युवालाई बालिका बलात्कारको अभियोगमा पक्राउ गरिएको छ

यौन हिंसा पीडित खेलाडीलाई क्षतिपूर्ति

ललितपुर । अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीका यौन हिंसा पीडित जिम्नास्टिक खेलाडीहरूलाई पाँच सय मिलियन अमेरिकी

टिनएजर्स आमा !

- शिवकुमार काशी- मकवानपुर । राक्सिराङ गाउँपालिका ६ बालगाती मकवानपुर घर भएकी सुविक्षा चेपाङको उमेर २०

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: