लैङ्गिक समानता बिना स्थानीय योजना पुरा हुँदैनन् : सापकोटा


प्रकाशित मिति :2017-09-13 16:42:55

बालकुमारी सापकोटा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका उपप्रमुख हुनुहुन्छ । विद्यार्थी राजनीति हँुदै अखिल नेपाल महिला संघदेखि नेकपा एमालेको जिल्ला तहसम्मको जिम्मेवारी उहाँले निभाउनुभएको छ । जीवनको दुई दशक सामाजिक क्षेत्रमा योगदान गर्नुभएको उपप्रमुख सापकोटाको अबको योजनाबारे महिला खबर संवाददाता विदुर आचार्यले गर्नुभएको कुराकानी :–

 जिल्ला समन्वय समितिले अहिले के काम गरिरहेको छ ?

– जिल्लाका १२ वटै स्थानीय तहमा आफुसँग भएका स्रोत साधन र योजना निर्माणमा समन्वय गरिरहेको छ । स्रोत साधनमाथिको पहुँच वृद्धिमा हाम्रो ध्यान केन्द्रित छ । प्रदेश कानुन नआउन्जेल कुनै खास खाकामा काम गर्न सम्भव छैन । तर यो बीचमा संभावनालाई अधिक खोजी गर्ने, समन्वय र छलफल गर्ने, अधिकार स्थापित र पछाडि रहेका समुदाय क्षेत्रलाई अगाडि बढाउन योजनाहरु निर्माण हँुदै छन् ।

 स्थानीय तह निर्वाचनपछि ४० प्रतिशत भन्दा वढी महिला जनप्रतिनिधि हुनुहुन्छ । अब महिलाको उत्थान कसरी हुन्छ ?

– यो प्रश्नले मलाई पहिलेदेखि नै झक्झकाएको हो । संगठनमा होस् वा कुनै संयन्त्र जहाँ जहाँ म पुग्छु वा रहन्छु हरेक क्षेत्रमा ५० प्रतिशत महिलाले अवसर पाउनुपर्छ भन्ने आवाज उठाएको छु । जब अवसर पाउँछन् तब सक्षम बन्नेछन् भन्नेमा म द्विविधामा छैन । आज सयांै महिला जनप्रतिनिधीले स्थानीय तहमा जीत्नुभएको छ ।

महिला प्रतिनिधीले महिला उत्थानको काममा लाग्ने सवाल छ, त्यो जरुर हुन्छ । पहिले त जननिर्वाचित महिलाहरुलाई स्वयं सशक्त र क्षमता अभिवृद्धिमा लाग्ने कार्यक्रमहरु बन्नेछन् र आफ्ना योजना मुताबिक काम अगाडि बढ्नेछ । पहिलो चरणमा स्थानीय तहमा भएका बजेट सम्वन्धित शीर्षकमा खर्च गराउन सकियो भने पनि महिला उत्थानको कार्यक्रम निकै प्रभावकरी हुन्छ ।

 स्थानीय तह निर्वाचनमा महिला उत्थानका प्रशस्त कार्यक्रम गर्ने घोषण धेरै उम्मेदवारका थिए । तर सुरु किन भएन । अनुगमन गर्ने काम त तपाईंहरुको हो नि ?

यो नेपाली राजनीतिको सवैभन्दा कमजोर पक्ष हो । चुनावमा महत्वकांक्षी योजना बोक्ने र पछि कार्यान्वयन गर्न नसक्ने र नगर्ने । संविधानले समानता भनेको छ । तिनै राजनीतिक दलले जारी गरेको संविधानमा उल्लेख भएअनुरुप स्थानीय तह निर्वाचनमा महिला उम्मेदवारको नाम पुरुषहरु भन्दा पछि पर्न गयो । लक्षित वर्गको स्थानीय बजेट विकास निर्माणमा खर्च गर्ने पद्धति नै वसेको छ ।

महिला पनि यही बाटो हिँड्ने हो भन्दै महिलाको बजेट सडकमा विनियोजित हुन्छ । यो सरुवा रोग जस्तै भयो । हिजो उम्मेदवारहरुले घोषणा पत्रमा जे उल्लेख गरेका छन्, त्यो पुरा गर्न वास्तवमै गाह्रो छ । यसलाई सहजिकरण अनुगमन मार्फत पुरा गराउन मेरो भरपुर पहल रहनेछ ।

 जनप्रतिनिधिले महिलाका सवालमा कसरी काम गर्नुपर्छ ?

जति पनि महिला जनप्रतिनिधि विजयी हुनुभएको छ, त्यो नेपालको इतिहासमै ठूलो उपलब्धी हो । मलाई लाग्छ महिलाको प्रशस्त सवालमा बोल्न र निर्णायक तहमा पु¥याउन उहाँहरुको भूमिका पर्याप्त हुनेछ । यो अवसर निर्वाचित प्रतिनिधिले सदुपयोग गरी आम महिलाको हीत गर्नुहुनेछ र चर्चा बटुल्नुहुनेछ ।

अव महिलाका सवालमा काम यसरी हुन्छन् भन्ने मलाई लाग्छ । कानुनतः समान भनिए सरह समान ब्यवहार, शिक्षा र स्वास्थ्यमा अधिकतम पहुँच, सम्पतीमा समान अधिकार, लैङ्गिक समानताका कार्यक्रम । घरेलु हिंसा, वेचविखन, जोखिममा परेका महिला, सीमान्तकृत महिला, पिछडिएका महिला, विशेष क्षमता भएकाहरुको लागि विशेष कार्यक्रम बनाई काम गर्नु जरुरी छ ।

जिल्लाको सन्दर्भमा जननिर्वाचित महिलाहरुले कसरी काम गर्नु सुझाउनुहुन्छ ?

– सबैभन्दा पहिले त म सबै जनाताको प्रतिनिधी हुँ भनेर काम गर्नुप¥यो । अहिले निर्वाचित प्रतिनिधीहरुले महिला, बालबालिका लगायत धेरै समाजका संवेदनशील मुद्दा बोकेर विजयी भएको कुरा बिर्सनुभएन । हाम्रा सामान्य महिलाको शसक्तिकरणका मुद्दा, शिक्षा, स्वास्थ्य, राजनीतिमा महिला पहुँच अभिवृद्धि र समृद्धिमा लाग्नुप¥यो । न्यायमा पहुँच वृद्धि र सचेतना सँगै आर्थिक उपार्जनमा हरेक महिलालाई जोड्नु प¥यो ।
 

स्थानीय तहमा महिला सहभागिता प्रभावकारी नभए के असर पर्छ ?

– अहिले भएको परिवर्तन पनि महिलाको अर्थपुर्ण सहभागिताको उदाहरण हो । हाम्रा स्थानीय तहबाटै हुने नीति निर्माण, छलफल, योजना निर्माण, निर्णय लगायत हरेक पाटोमा महिलाहरुको अर्थपुर्ण सहभागिता जरुरत छ ।

अहिले अभ्यासमा जो भैरहेको छ त्यसलाई बढाउनुपर्छ । पुरुषको तुलनामा महिलाले जिम्मेवारी लिएको हरेक विषय बढी संवेदनशील भई सम्पन्न भएको प्रशस्त उदाहरण छन् । महिला इमान्दारीको चिनारी पनि हो । परिवार र समाजका अनेकन परम्परागत र पितृसत्तामा आधारित जिम्मेवारी पुरा गरेर सामाजिक होस् वा विकासका काम जिम्मेवारीमा आएपछि महिलाले कुशलतापुर्वक सम्पन्न गर्छन् । जब सहभागिता बढ्छ तब महिलाको अर्थपुर्ण सहभागितामा स्वभाविक रुपमा वृद्धि हुन्छ नै ।

 तपाईं त जिल्लाका स्थानीय तहको कामको अनुगमन गर्ने तहमा हुनहुन्छ । अव तपाईको कामको प्राथमिकता के छ ?

– समग्रमा जिल्लाको समृद्धि अब मेरो प्राथमिकता हो । लैङ्गिक समानता कायम बिना अधिकांश योजना पुरा हुन सक्दैनन् । आर्थिक समृद्धि, सामाजिक विकास र भौतिक रुपमा फड्को मार्न अब महिला पुरुषको सँगसँगै रहनुपर्छ र सँगै ल्याउन मेरो प्राथमिकताको विषय हो । हरेक गाँउ तथा नगरपालिकाले महिला र बालबालिकाको विषयमा बनाएका कार्यक्रमको प्रभावकारिता मुल्याङ्कन गरि आवश्यक कार्यक्रम निर्माण र लागु गर्न समन्वय गर्नेछु ।

    Comment Here!

Related NEWS
मुख्य खबर

एचआइभी : कम जोखिमका महिलामा बढी संक्रमण

न त उनीहरु सेक्स वर्कर हुन् । न ड्रक्सका प्रयोगकर्ता नै । तर उनीहरुलाई

साइबर अपराधको जोखिममा महिला

–महिला खबर– ललितपुर । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय साइबर अपराधका घटना पनि बढ्न थालेको छ

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

वैदेशिक रोजगारीका लागि भन्दै बेचबिखन गर्न लैजान लागेका १० महिलाको प्रहरीले उद्धार गरेको छ ।

टोल टोलमा प्रहरी

–सर्मिला बुढाथोकी– दोलखा । दोलखा प्रहरीले टोल टोलमा प्रहरी कार्यक्रम अन्तर्गत महिला हिंसा तथा घरेलु हिंसा

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: