किन रोकिदैन बालविवाह ?


प्रकाशित मिति :2017-08-07 14:11:10

–सन्दिप विक–

काठमाडौं । नेपालमा बालविवाह कानूनी रुपमा निषेध छ । कसैले बालविवाह गरेको प्रमाणित भएमा कानून बमोजिम ३ वर्ष कैद वा दश हजार रुपैँया सम्मको जरिवाना हुने भनिएको छ । तर बालविवाह घट्नुको सट्टा बढेको देखिन्छ ।

लमजुङको बेसिशहर नगरपालिका– ११ चिति तिलाहरका बाबु वि.कले छोरी रविनाको विवाह १५ वर्ष नपुग्दै गत जेठमा तनहुँमा गराइदिए । रविना गाउँकै जनकल्याण उच्च माविमा कक्षा ८ मा पढ्दै थिइन् ।

गत जेठमै चितीकै भोजबहादुर वि.कले आफ्नी साइली छोरी राधिकाको विवाह १७ वर्षको उमेरमा गराए । राधिका जनकल्याणमै कक्षा १० मा बढ्दै थिइन् । भोजबहादुरले आफ्ना ४ छोरी मध्ये ३ छोरीको विवाह १७ वर्ष उमेर नपुग्दै गराइसकेका छन् । जेठी छोरी रिताको कक्षा ७ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा विवाह भयो । विवाहसगैँ उनले पढ्न पनि छाडिन् । २४ वर्षीय रिताको अहिले आठ वर्षका छोरा छन् ।

रिताको माइली बहिनी लक्ष्मीको पनि १५ वर्षकै उमेरमा विवाह भयो । उनले विवाह भएको एक वर्षपछि छोरा जन्माइन् । लक्ष्मीको छोरा ३ वर्षका भए तर हिँड्न बोल्न सक्दैनन् ।

चितिकै निर्मला वि.कले पनि आफ्नी जेठी छोरी परमिलाको १६ वर्षकै उमेरमा विवाह गरिदिइन् । कक्षा सातमा पढ्दै गरेकी परमिलाले विवाह गरेसगैँ पढाई पनि छाड्नुपर्यो । अहिले २२ वर्षकी भइन् । २ छोराकी आमा पनि ।

छोरी कसैसँग विग्रिन्छे कि भन्ने चिन्ताले नै आमाबाबुले छोरीको चाडै विहे गरिदिने गरेको निर्मला बताउँछिन् । यसका साथै गरिबी र अशिक्षा पनि मूल कारण हो ।

जनगणना २०६८ अनुसार नेपालमा एक लाख ३८ हजार १५ जना बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको देखाएको छ । त्यसमध्ये एक लाख १५ हजार १ सय ५० बालिका रहेको देखाएको छ ।

पछिल्लो समय सूचना प्रविधिको बढ्दो प्रयोगले समेत बालविवाह हुने गरेको पाइन्छ । चितीकै संगिता वि.कले फोन र फेसबुकमार्फत प्रेम सम्बन्ध भएपछि गत माघमा १५ वर्षकै उमेरमा विवाह गरिन् । प्रविधिमा पहुँच पुग्नु राम्रो विषय भएपनि त्यसको दुरुपयोग हुँदा धेरै बालबालिकाहरु उमेर नपुग्दै कच्चा प्रेम गर्ने र विवाह गरिहाल्ने प्रचलन बढेको देखिन्छ ।

मानसिक र शारारिक रुपमा विकास नहुदै गरिएको यस्तो सम्बन्धले भविष्यमा थप जटिलता पैदा गरेको बताउनुहुन्छ चिकित्सा मनोविद् डा. मिता राणा ।

उहाँले भन्नुभयो, ‘शारारिक र मानसिक रुपमा विकास नहुदै गरिएको विवाहले मनोवैज्ञानिक रुपमै असर गर्छ । जसले गर्दा उनीहरुमा निरास हुने, आत्मबल कम हुने र अन्त्यमा डिप्रेसनको अवस्थामा पुग्ने गर्छ ।’

केन्द्रिय बालकल्याण समितिका बाल अधिकार अधिकृत रामबहादुर चन्द लैंगिक विभेदकै कारण बालिकाको छिटो विवाह गरिदिने प्रचलन छ । ‘समाजमा छोरी अर्काको घरमा जाने जात, भोलि विग्रिएमा कसैले लैजादैनन् भन्ने सोचाई छ । त्यसमाथि रजस्वला नहुदै छोरीको विवाह गरिदिए पुन्य हुन्छ भन्ने कुसंस्कार छ । त्यसैले पनि बालविवाह बढिराखेको छ ।’ चन्दले भन्नुभयो ।

बालविवाह एवम् दाइजो उन्मुलन राष्ट्रिय अभियानका संयोजक राजकुमार महतोले कानुनी पक्ष नै फितलो हुँदा बालविवाहका घटना घट्ने गरेको बताउनुहुन्छ ।

उहाँले बालविवाह सम्बन्धि पुस्तौदेखिको सामाजिक मूल्य, मान्यता र मानसिकता परिवर्तन र कानूनको कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

एक वर्ष कैद दश हजार जरिबाना

नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने व्यक्तिको उमेर वीस वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनिएको छ । अठार वर्ष पूरा भई बीस वर्ष उमेर नपुगेको व्यक्तिले आ–आफ्ना संरक्षणको सहमति लिई विवाह गर्न सक्नेछन् भनिएको छ । नयाँ ऐनमा उपदफा १ विपरीत भएको विवाह स्वतः बदर हुन्छ भनिएको छ । यस्तै बालविवाह कसूर गर्ने व्यक्तिलाई एक वर्षसम्मको कैद वा दश हजार रुपैँयासम्म जरिवाना वा दुबै सजाय हुनेछ भनिएको छ ।
मूलुकी ऐनको संशोधित रुप फौजदारी कसूरको प्रतिवदेन हाल संसदमा छलफलको क्रममा रहेको छ । संसदमा पारित भएसगैँ यो कानुन २०७५ साल भदौ १ गतेदेखि लागू हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

श्रीमती र छोरीहरुले दिए डा. देवकोटालाई दागबत्ती

-महिला खबर- डा. देवकोटाको पार्थिव शरीरमा श्रीमती डा. मधु दीक्षित देवकोटा, छोरीहरु मेधा, बसुधा र मञ्जरीले

तेजाब छर्कने प्रहरी धरौटीमा छुटे

–महिला खबर– ललितपुर । चितवनको भरतपुर महानगरपालिकामा बसोबास गर्दै आएकी महिलालाई तेजाब छर्किएर घाइते बनाउने ट्राफिक

प्रहरी र निजामती सेवामा ५० प्रतिशत महिला

–महिला खबर– ललितपुर । प्रदेश नम्बर २ ले आफ्नो प्रदेशमा प्रहरी भर्ना गर्दा ५० प्रतिशत

देशमा शान्ति आएकै छैनः मन्दिरा शर्मा, अधिकारकर्मी

–महिला खबर संवाद– न्यायका लागि कानुनी लडाइँ लड्न चाहने महिलाको उजुरी लेखेर मुद्दा लड्ने काम पनि

महिला उद्यमशिलता विकास कोषको रकम बढाउ : उद्यमी महिला

-महिला खबर- ‘७७ जिल्लामा उद्यमी महिलालाई २ लाख ५० हजारका दरले मात्रै वितरण गर्दा पनि २७

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: