दाइजोका विकृति र निवारणका उपाय


प्रकाशित मिति :2017-07-17 11:04:44

स्नेहा पोखरेल

नेपाल डेमोग्राफिक हेल्थ सर्भेका अनुसार ३५ प्रतिशत नेपाली महिला कुनै न कुनै हिंसाको शिकार भएका छन् ।  महिलामाथि हुने हिंसामा मुख्यतया घरेलु हिंसा, बलात्कारलगायतका यौनजन्य हिंसाका साथै दाइजो नल्याएको निहुँमा हुने गरेका जघन्य हिंसा रहेका छन् ।

आजको एक्काइसौँ शताब्दीको युगमा पनि हाम्रो देशका महिला दाइजो, बोक्सी, छाउपडी, झुमा, बहुपत्नीलगायतका कुप्रथा तथा अन्धविश्वासी परम्परा सहन बाध्य छन् ।  धेरै नेपाली महिला विभिन्न खाले घरेलु हिंसा, यौनजन्य हिंसा तथा बलात्कारका साथै कार्यस्थलमा हुने शारीरिक तथा मानसिक हिंसाको सिकार भइरहेका छन् ।  जसले नेपाली महिलालाई सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित गरिरहेको छ ।

दाइजो प्रथा : नेपाली शब्दकोशका अनुसार दाइजो भन्नाले कन्या पक्षले विवाहको बेला वर पक्षलाई दिने सम्पत्ति, नगद, गरगहना तथा उपहार आदि हो ।  समुदाय विशेषमा दाइजोलाई दहेज तथा तिलक पनि भन्ने गरिन्छ ।  दाइजो भनेको कुनै पनि जात र समुदायमा छोरीको विवाहमा केटा पक्षलाई दिइने गरगहनालगायतका चल अचल सम्पत्ति हो भने तिलक भनेको विवाहपूर्व केटी पक्षले केटा पक्षसँगको भेटमा दिने नगद, लुगाफाटा तथा गरगहना आदि हो ।  यी दुवैको समय तथा शब्दमा फरकपना भए पनि सन्दर्भ तथा संस्कार भने एउटै रहेको छ ।  परापूर्वकालदेखि बिहे गरेर दिएकी चेलीलाई कर्म घरमा गाह्रो साह्रो नहोस्, राम्रोसँग लालनपालन होस् तथा धन पैसोको अभावमा तत्कालका लागि दुःख भोग्नु नपरोस् भन्ने पवित्र सोचका साथ कन्याका अभिभावकले राजीखुसीले कन्यादानसँगै दिने दाइजो समयसँगै विकृत हुँदै गयो ।  अहिले दाइजो प्रथा समाजमा महिला हिंसा तथा विकृतिको एक कारक तत्व बनिरहेको छ ।

कानुन के भन्छ ?
दाइजोको विकृति नियन्त्रणका लागि नेपालमा रहेको सबैभन्दा बलियो कानुन बनेको सामाजिक व्यवहार सुधार ऐन, २०३३ हो ।  कानुनी प्रावधानअनुसार विवाह हुँदा जिउमा लगाएको एक सरो गहनाबाहेक आफ्नो कुल परम्पराअनुसार राजीखुसीले दिनेले पनि बढीमा दश हजार रुपियाँसम्मको मात्र दाइजो दिन हुन्छ भन्ने व्यवस्था रहेको र दफा ५ (३) मा त्यसभन्दा बढी लिए दिएको दाइजो जफत गरी दश हजार रुपियाँसम्म जरिवाना वा पन्ध्र दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ ।  त्यस्तै विवाह हुँदा तिलक लिन नहुने र तिलक लिनेलाई बिगो जफत गरी बाह्र हजारदेखि पच्चीस हजार रुपियाँसम्म जरिवाना वा ३० दिनसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।  मुलुकी ऐन, २०२० ले दाइजोको परिभाषा गर्दै स्वास्नी मानिसलाई माइती मावलीपट्टी नातेदार, इष्टमित्रले दिएको चल अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति दाइजो ठहर्छ भन्ने व्यवस्था गर्दै महिलाले आफ्नो दाइजो तथा पेवाको सम्पत्तिलाई आफूखुसी गर्न पाउने र आफ्नो शेखपछिको भोगचलनका लागि समेत आफूखुसी हकवाला तोक्न पाउने भनी उल्लेख गरेको छ ।  त्यस्तै नेपालको वर्तमान संविधान २०७२ मा समानताको हकअन्तरगत पैत्रिक सम्पत्तिमा सबै सन्तानको समान हक रहने प्रावधान छ ।  त्यस्तै महिलाको हकमा महिला विरुद्ध धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक यौनजन्य हिसा र शोषण गर्नु दण्डनीय हुनेछ भनी लेखिएको छ ।  साथै सम्पत्ति र पारिवारिक मामिलामा दम्पतिको समान हक हुने व्यवस्था संविधानले गरेको छ ।

कानुनी व्यवस्था यति सुदृढ हुँदाहुँदै पनि हाम्रो देशमा दाइजो प्रथा एक विकृत संस्कारका रूपमा मौलाउँदै गएको छ ।  आधुनिक भनिने युवापुस्ता समेत दाइजोका लागि मरिहत्ते गर्ने र दाइजो लिने र दिने कार्यलाई सामाजिक प्रतिष्ठाको विषय बनाउने गरेको छ ।  दाइजो नल्याएको निहुँमा महिलालाई जिउँदै जलाउने, शारीरिक तथा मानसिक यातना दिने, घर निकाला गर्ने तथा हत्या गर्ने सम्मका घटना हुने गरेका छन् ।  दाइजोको संस्कार देखासिकी तथा फजुल संस्कारका रूपमा हुर्किदै जाँदा चेलीका गरिब अभिभावकको अवस्था झनै दर्दनाक बन्ने गरेको छ ।  धेरै ऋण खोजेर छोरी अन्माउने बाबुआमा ऋण तिर्नका लागि घरखेत नै बेचेर उठिबास भएका घटना धेरै सुनिने गरेका छन् ।  ऋण काढेर दाइजो दिई अन्माइएकी छोरीलाई उनको घरकाले थोरै दाइजो ल्याएको भन्दै घरबाट निकाल्ने, कुटपिट गर्ने तथा हत्या गर्नेसम्मका घटना हुँदा कसरी सम्हालिन सक्लान् ? दाइजोको निहुँमा लोग्नेको घरमा मानसिक तथा शारीरिक यातना भोगेका महिला दलालको फन्दामा परी बेचिने, बलात्कारमा पर्ने जस्ता घटना पनि हुने गरेको पाइन्छ ।  यसरी आफैँमा महिला हिंसाको रूपमा रहेको दाइजोजन्य हिंसाले अन्य विविध खाले महिला हिंसाको सिर्जना गर्ने गरेको छ ।

दाइजो प्रथा विकराल बनिरहनुमा अशिक्षा, परम्परागत सामाजिक संस्कार, अन्धविश्वास, बालविवाह, बेरोजगारी, लैङ्गिक असमानता तथा विभेदजस्ता कारक तत्व जिम्मेवार छन् ।  सबैले बुझ्नुपर्ने कुरा के हो भने विवाह भनेको कुनै कारोबार तथा लेनदेनको विषय होइन ।  यो छोरा पक्षले पैसा कमाउने तथा सम्पत्ति आर्जन गर्ने अवसरको रूपमा लिइनुहुँदैन ।  यो सृष्टिलाई निरन्तरता दिने तथा महिला र पुरुषको मिलन गराउने एक अनुपम र पवित्र सामाजिक परिघटना हो ।  विवाहजस्तो पवित्र बन्धन तथा मुहूर्तलाई दाइजोको विकृतिले विकृत हुनबाट बचाउन सकिएमा मात्र दाम्पत्य जीवन दिगो तथा सफल बन्छ ।  दाइजो प्रथाजस्तो कुप्रथा हटाउन सकिएमा महिलामाथि हुने शारीरिक तथा मानसिक हिंसा धेरै मात्रामा घट्ने छन् ।  दाइजोको निहुँमा आफ्ना श्रीमती तथा बुहारीमाथि हिंसा र शोषण गर्नेमाथि कडा दण्डको व्यवस्था गरिनुपर्छ ।  कानुन नाघेर दाइजो लेनदेन गर्नेलाई कानुनको कठघरामा उभ्याएर दण्डित गर्नुपर्छ ।  यसो गरिएमा मात्र सभ्य, सुसंस्कृत, हिंसारहित समाज निर्माणमा सघाउ पु¥याउनेछ ।  छोरीलाई दाइजो होइन आत्मनिर्भर बन्न सक्ने शिक्षा तथा असल संस्कार दिए पुग्छ भन्ने मान्यता समाजमा दह्रो गरी स्थापित गर्नु आवश्यक छ ।

साभार : गोरखापत्र दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: