मच्छे गुरुङ
न्यूयोर्क । मौलिक कथावस्तुमा आधारित, महिलामाथिको विभेद र फरक क्षमता भएकाहरुको सर्घष समेटिएको ५ वटा वृत्तचित्र देखाउँदै काठमाण्डौ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल घुम्ती किम्फ यही जुलाई ८ तारिखमा न्यूयोर्कमा सम्पन्न भएको छ ।
किम्फमा पत्रकार देवकी विष्टको इन सर्च अफ देउकी, उपेन्द्रराज पाण्डे र बद्री न्यौपानेले वियोण्ड द ह्वाइट क्यान, ज्योति केशरसिंह ठकुरीको भुषको लोग्ने, घनश्याम खतिवडाको बाह्रखरी लौरो र रघुवर नेपाल र शिवशरण कोइरालाको मेला प्रदर्शन गरिएको थियो ।
वृत्तचित्र इन सर्च अफ देउकीले विगतमा सुदुर पश्चिममा मानिने देउकी प्रथा, मन्दिरमा चढाइएकी देउकी महिलाहरु कतिको सम्मानित जीवन बाँचेका छन भन्ने बिषयलाई उठाएको छ । कानुनले देउकी प्रथालाई हटाए पनि यो प्रथा अझै लुकीछिपी प्रचलनमा रहेको कुरा देखाइएको छ ।दृष्टिविहिनको संघर्ष र उसको आत्मनिर्भरताको कुरालाई वृत्तचित्र वियोण्ड द ह्वाइट क्यानमा समेटिएको छ । दृष्टिबिहीन भएर पनि अरु सपांग जस्तै आफनो परिवार पाल्न सक्षम एक दृष्टिविहिनको कथाले अरुलाई पनि आत्मनिर्भर बन्न पे्ररणा दिएको छ ।
त्यस्तै, भुषको लोग्ने वृत्तचित्रले, महिलाको पाठेघर खस्ने समस्या देखेपछि शारिरीक रुपमा कमजोर हुँदा श्रीमानले श्रीमतीमाथि गर्ने विभेदको बारेमा उजागर गरेको छ । वृत्तचित्रले रोग लुकाएर बसेमा समस्या निम्तने तर्फ सचेत गराउँदै बेलैमा उपचार गर्नमा सुझाव दिएको छ । अपांगता भएका एक शिक्षकले शिक्षाको ज्योति फैल्याउनका लागि गरेको योगदान र उसको क्षमताको बारेमा निमिर्ति वृत्तचित्र बाह्रखरी लौरोले शिक्षाको ज्योति फैल्याउनका लागि अपांगता भएका व्यक्ति पनि उत्तिक्कै सक्षम र सफल छन भन्ने सकारात्मक सन्देश दिएको छ ।
अपांगता भएका शिक्षकको प्रयासले गाउँका धेरै बालबालिकाले पढन पाएको कुरालाई वृत्तचित्रमा हेर्न सकिन्छ । त्यस्तै, मेलाले बारा जिल्लामा लाग्ने चर्चित गढीमाइ मेलाको बारेमा देखाइएको छ । हिमाल एशोशिएन नेपाल र न्यूयोर्कबाट प्रकाशित एभरेष्ट टाइम्सले घुम्ती किम्फको तेश्रो संस्करण आयोजना गरेको हो । किम्फ मार्फत नेपाली मौलिक कला संस्कृतिमा आधारित रहेर बनाएका वृत्तचित्रले नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुग्ने स्थानिय आयोजक एवं एभरेष्ट टाइम्स दैनिकका प्रधान सम्पादक आङछिरिङ शेर्पाले बताउनुभयो ।
किम्फबाट संकलित रकम सिन्धुपाल्चोकको हेलम्बविद्यालयलाई सहयोग गर्ने जनाएको छ । यसअघि आयोजना गरिएका घुम्ती किम्फबाट संकलित रकम सोलुखुम्बुको चागेस्थान माध्यमिक विद्यालय केरुङ र गार्माको सेर्गा वागाम प्राथमिक विद्यालयलाई प्रदान गरिएको आयोजक शेर्पाले जानकारी दिनुभयो । घुम्ती किम्फ २०१५ मा हङकङबाट शुरु भएको हो ।
Comment Here!