‘ठूलो विश्वासले जिताउनुभएको छ, यसलाई अवश्य टिकाउने छु’


प्रकाशित मिति :2017-05-30 12:30:53

-महिला खबर संवाद-

सबैभन्दा धेरै मतान्तरले काठमाडौं महानगरपालिकाको उपमेयरमा विजयी कांग्रेस नेतृ हरिप्रभा खड्की, तीन दशकदेखि राजनीतिमा क्रियाशिल हुनुहुन्छ ।  पुरुष प्रतिदवन्दवी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठलाई २४ हजार ९८ मतले पछि पार्दै खड्की विजयी हुनुभएको हो । खड्गीले ५८ हजार ९५२ मत ल्याउनुभएको थियो भने श्रेष्ठले ३४ हजार ८५४ मत ल्याउनुभएको थियो ।

२०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा समेत काठमाडौं महानगरपालिका ३१ बाट अत्याधिक मतले वडा अध्यक्षमा विजयी हुनुभएकी खड्की कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको दुई कार्यकाल केन्द्रिय सदस्य हुनुभयो । कांग्रेसको अग्रमोर्चामा सहभागि हुँदै आउनुभएकी खड्की दुवै संविधानसभामा समानुपातिबाट संविधानसभा सदस्यको मनोनयनमा पर्नुभएको थियो । त्यसपछि कांग्रेसको ११ औं महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधिका रुपमा रहनुभयो । पहिलो चरणको स्थानीय तहको ठूलो मतान्तरले विजयी हुनुभएकी खड्कीसँग सन्दिप विकले गर्नुभएको कुराकानी ।

काठमाडौं महानगरपालिकाको उपमेयरमा भारी मतान्तरले विजयी हुनुभएको छ, जित्नुको आधार के थियो ?

मैले जित्नुको थुप्रै आधार थिए । उम्मेदवारी दिने वित्तिकै जित्छु भन्ने विश्वास थियो । किनकी मैले पार्टीमा धेरै योगदान गरेको छु । वि.स २०४२ सालदेखि अहिलेसम्म पार्टीमा निरन्तर रुपमा लागि रहेको छु ।

अर्को सबैसँग म मिलनसार छु । अरुलाई केही समस्या परेको समय तुरुन्त सहयोग गरिहाल्ने मेरो बानी छ । प्रायः महानगरपालिका भित्रका सबै मतादाताहरुले चिन्नुहुन्छ भन्ने मलाई अहिले अनुभव भएको छ ।

तपाईप्रति जनताले धेरै विश्वास गरेर मतदान गरेका छन्, यो विश्वासलाई कसरी टिकाउनु हुन्छ ?

ठूलो विश्वास गरेर मलाई मतदाताले जिताउनुभएको छ । यो विश्वासलाई अवश्य टिकाइ राख्नेछु । यहाँका मतदातासँग म हरेक समय सम्पर्कमा रहनेछु । जतिपनि वडामा जितेर जानुभएको छ उहाँहरुसँग समन्वय गरेर वडाका समस्या समाधान गर्नेछु । महानगरपालिका भित्रका मतदाताहरुको त्यति ठूलो योजना छैन । यहाँका जनताले के चाहेका छन् भने स्वच्छ रुपमा बाँच्ने अधिकार हुनुपर्यो । धुलो धुँवा रहित काठमाडौं हुनुपर्यो । महानगरपालिका भित्रका जनताले खोज्ने भनेको पानी, विधुत, ढल व्यवस्थापन यहि नै हो । यसको लागि हामी निरन्तरता दिनेछौँ ।

तपाईको पाँच वर्ष सम्मका योजना कस्तो छ ?

खासै योजना बनाएको छैन । काम गर्दै जाऊ, योजनहरु बन्दै जान्छ । टोलवासी, मतदाताहरुबाट योजना पनि आउँछ । हामीले विकास गर्ने काममा रोक्ने छैनौ । काठमाडौंमा धुँवा धुलो रहित बाँच्न पाउनुपर्यो । मेरो दिमाखमा अहिले सेट भएको योजना यहि हो । हराबरा काठमाडौं, धुँवा धुलो रहित काठमाडौं बनाउने लक्ष्य छ ।

यस्तै सडक विभागसँग समन्वय गरेर अहिले जुन खाल्डखुल्डी छन् त्यसलाई कालोपत्रे गर्नेछौ । अहिले पार्किङमा देखिएको समस्या समाधान गर्न पार्किङ व्यवस्थापन गर्नेछौ । काठमाडौं भित्र रहेका सरकारी जग्गाहरुको खोजी गरेर पार्क बनाउने लगायतका योजना छ । अर्को पार्टीले निर्वाचनका क्रममा अगाडि सारेका घोषणापत्रलाई प्रमुखसँग सहकार्य गरेर अगाडि बढ्नेछु ।

महिलाका क्षेत्रमा कस्ता कामहरु गर्नुहुन्छ ?

म आफै महिलाबादी हुँ । मैले वि.स २०४२ सालमा नेवि संघमा काम गरे । २०४७ सालमा नेपाली कांग्रेसको भगीनी संस्था महिला संघको केन्द्रिय सदस्य भएर काम गरे । महिलाको क्षेत्रमा मैले विशेष ध्यान दिनुपर्ने समय आएको छ ।

२० वर्षपछि भएको स्थानीय चुनावमा महिला र दलित महिला भनेर कोटा नै छुट्याएको अवस्था छ । हरेक वडा-वडामा आएका महिलाहरुसँग समन्वय गरेर काम गर्नेछु । महिलालाई शिक्षामा अग्रसर गर्ने, कसरी रोजगार मूलक कार्यक्रम ल्याउने छु ।

अर्को अझैपनि महिलाहरु बाहिर निस्किनुपर्यो भने श्रीमानसँग पैसा मागेर हिँड्नुपर्ने अवस्था छ । त्यस्ता महिलाहरुलाई प्रशिक्षण दिएर उद्यमी बनाउने मेरो सपना छ । उद्यमी बन्न चाहने महिलालाई सहुलियत रुपमा ऋणको व्यवस्था, प्रशिक्षणको व्यवस्था गर्नेछु । विभिन्न रोजगारमूलक काममा महिलालाई अग्रसर गदै अगाडि बढाउने मेरो लक्ष्य छ । महानगरका महिलालाई उद्यमी बनाउन मेरो पहल रहनेछ ।

अर्को महिलाहरुको सशक्तिकरणको लागि पहिलो खुट्कीलो भनेको राजनीति नै हो । राजनीतिबाट नै हाम्रा आवाज अगाडि बढ्ने हो । त्यसैले हामीले अब राजनीति गर्नैपर्छ । त्यसबाट नै महिलाहरु अगाढि बढ्न सकिन्छ । राजनीतिक रुपमा अगाडि नबढेसम्म महिलाको विकास हुँदैन भन्ने मेरा मान्यता छ ।

अहिले धेरै महिला स्थानीय सरकारमा पुगेका छन्, त्यसमध्ये थोरै संख्यामा भएपनि नीति-निर्माण तहमा आएका छन्, कस्तो परिवर्तनको आशा गर्न सकिएला ?

२० वर्षपछि भएको स्थानीय तहको चुनावमा ४० प्रतिशत महिलाको सिट सुरक्षित गरेको अवस्थामा छ । त्यसमा पनि मेयर वा उपमेयर महिला आएका छन् । अब हाम्रो लडाई ५० प्रतिशतका लागि हुनेछ । किनकी हामी पनि यो देशका नागरिक हौँ । आधा धर्ती ओगटेका नागरिक हौँ । अब मतदातको संख्यामा हेर्दा पुरुष भन्दा महिलाको बढि छ । अब निर्णायक तहसम्म महिला पुग्नुपर्छ । अहिले आएका २ जना महिला जुन हुनुहुन्छ, पाँच वर्षभित्रमा यति सक्षम बनाउनुपर्यो की उनीहरु सदस्यबाट अध्यक्ष बन्न सकुँन् । उमेयर महिला मेयरसम्म पुग्न सक्ने गरी हामी तयार हुनुपर्छ ।

वडामा निर्वाचित महिलाको क्षमता विकासका के योजना छ ?

महिलाहरु नेतृत्व तहमा आएका छन् । पार्टीमा आवद्ध नभई उहाँहरु जितेर आएको अवश्य होइन् । अब उहाँहरुलाई सशक्त रुपमा अगाडि बढाउन  प्रशिक्षण दिन बाँकी छ । आफ्नो काम, कतव्र्य र अधिकार के हो बुझ्न बाँकी छ । काम गर्दै जाँदा उहाँहरु आफै पोख्त हुनुहुन्छ ।

यहाँसम्म आइपुग्दा कस्तो सर्घष गर्नुभयो ?

मैले धेरै सघर्ष गरे । २०४२ सालबाट मैले राजनीति यात्रा सुरु गरे । सर्वमान्य नेता गणेशमान सिंहले आह्वान गर्नुभएको ४५-४६ सालको आन्दोलनमा मेरो सक्रिय सहभागिता रह्यो । २०४६ सालमा नेपाली कांग्रेसको इकाईदेखि भगिनी संस्था नेपाल महिला संघमा आबद्ध भए । २०४७ मा इकाई सचिव भए । २ वर्षपछि क्षेत्रीय सदस्य भए । २०५४ सालमा महिलाई स्थानीय तहको चुनामा उठाइयो, यहि वडाबाट । मैले जिते । त्यहाँबाट २०५७ सालमा महिला संघकै जिल्ला सदस्य बने । काम गर्दै संघगठनमा लाग्दै थिए ।

२०६२-६३ सालको आन्दोलन भयो । जेलपनि गए । पिटाईपनि खाए । २०६३ मा नेपाल महिला संघकै केन्द्रिय सदस्य पनि भए । पुनः २०६९ सालमा पनि महिला संघकै केन्द्रिय सदस्य भए । चार बर्ष महिलालाई कसरी सशक्तिकरण गर्ने भनेर लागे । तल्लो जगबाट नै महिलालाई सशक्तिकरण गर्न सकिन्छ भनेर म लागे ।

संविधान सभाको पहिलो चुनाव भयो २०६४ मा त्यसमा मलाई समानुपातिकमा राखियो मलाई । सभाषद बनाउन सक्नुभएन । २०७० सालमा पनि मलाई समानुपातिकमै राखियो । सभाषद बनिएन् । अलिकति चित्त दुखाइ त भई हाल्छ । म मा के कमि छ भनेर खोतल्न थाले । संघठनमा सक्रिय भएर लागे । अहिले सफलता हात पारे, खुसी छु । मतदाताले मलाई इज्जतदारसँग मत दिनुभएको छ ।

पारिवारीक सहयोग ?

म राजनीतिक सँगसगै गृहिणी पनि हो । हामीले घर व्यवस्थित भयो भने मात्रै बाहिर व्यवस्थित गर्न सकिन्छ । घरलाई लथालिङ बनाएर कुनैपनि महिला दिदिबहिनीलाई राजनीति गर भनेर म भन्दिन् । सर्वप्रथम हामी महिला भएका कारण हाम्रो ठूलो दायित्व घर हो । घरका बालबच्चा सबैलाई समेटे जस्तै हामीले महानगरपालिकालाई पनि बनाउने हो । यहाँसम्म आउँदा घरपरिवारको पूर्ण सहयोग छ ।

राजनीतिमा लाग्ने प्रेरणा कहाँबाट मिल्यो ?

भक्तपुरमा मेरो हजुरबुबा उल्लास श्रेष्ठ जहिलेपनि गणेशमान सिं को कुरा गर्नुहुन्थ्यो । गणेशमा सिं भन्ने मेरो दिमाखमा बसिसकेको थियो । जब म ल क्याम्पस पढ्न कलेज आए । म नेवि संघमा आवद्ध भए । हाम्रा विद्यार्थी नेताहरुले आज गणेशमान सिं कहाँ जानुपर्छ भन्नुभयो । त्यतिबेला मेरो दिमाखमा बसिहाल्यो । म पनि जान आतुर भए । जुन अहिले ठमेल भनिन्छ, त्यो बेला चाक्सिबारी भनिन्थ्यो । त्यहाँ गइसकेपछि उहाँलाई देखे । उहाँले सबैलाई यस्तो गर्नुपर्छ भनेर सिकाउनुहुन्थ्यो । उहाँलाई देखिसकेपछि उहाँले त केहि देखेर लाग्नुभएको छ, भने हामी किन नलाग्ने भनेर त्यहीबाट केही गरौँ भन्ने सोच आयो । राजनीतिमा सक्रिय भएर लागे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

गर्भमा छोरी भएको थाहा पाएपछि श्रीमतीको हत्या

–महिला खबर– पाँच महिनाको गर्भ परीक्षण गर्दा अञ्जलीको गर्भमा छोरी भएको थाहा भएको थियो । छोरी

उजुरी लेख्न २ सय नहुँदा प्रहरीकै अगाडि रुवाबासी

–महिला खबर– ललितपुर । प्रहरी कहाँ श्रीमान पक्राउ गरी पाउँ भन्ने उजुरी दिन आउँदा पनि निबेदन

एसिड छ्याप्ने प्रहरीलाई मुद्दा दर्ता

–महिला खबर– ललितपुर । चितवनको भरतपुरमा महिलामाथि एसिड छ्याप्ने ट्राफिक प्रहरीलाई सोमबार ज्यान मार्ने उद्योगमा

दाईजो माग्दा ७ वर्ष जेल

२२ वर्षकी भारतीले दाईजो कम ल्याएको भन्दै श्रीमान् लगायत परिवारका सदस्यहरुले पीडा दिएका कारण सहन

‘करोड भन्दा बढी दाइजो फिर्ता’

–महिला खबर– ललितपुर । धर्ममा दाईजोको विषयमा केही उल्लेख नभए पनि व्यवहारमा भने दाईजो व्याप्त रहेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: